काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति एवं प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्लेले नेपालमै भष्य खोज्न बाहिरबाट फर्किने जमात ठूलै रहेको बताएका छन्। शुक्रबार ह्ववाइट हाउस लिटरेचर फेस्टिभलमा वाग्लेले यस्तो बताएका हुन्।
‘बाहिर गएर भविश्य खोज्ने जमात ठूलै छ। नेपाल फर्किनुपर्ने र फर्किनेहरू पनि थुप्रै छन्। यसलाई सकारात्मक रुपमा लिनुपर्छ’, उनले भने।
जनतामा विकासको ठूलो अभिष्ट रहेकाले विकासलाई रफ्तारमा अगाडि बढाउनुपर्ने बताए।
विश्वव्यापी परिवर्तनलाई नेपालले पनि आत्मसात् गर्नुपर्ने उनको धारणा छ। त्यस्तो हुन नसक्दा नेपालबाट ठूलो संख्यामा युवा जनशक्ति पलायन भइरहेकोमा वाग्लेले चिन्ता व्यक्त गरे।
नेपालमा कर तिर्ने युवा बिदेसिने क्रम नरोकिनु सोचनीय विषय भएको उनको भनाइ छ। ‘नेपालमा जनसंख्या घट्यो भन्ने चिन्ता होइन, कर तिर्ने युवा बिदेसिएको चिन्ता हो। पाँच–दस वर्षमा यो अवस्था कस्तो होला? सोचनीय छ’, उनले भने।
नेपालमा उद्योग बढ्न र खुल्न नसक्दा रोजगारका लागि जनशक्ति बाहिर पलायन हुने क्रम बढेको वाग्लेले बताए।
युवाहरूलाई नेपालमा केमा लगानी गर्दा सफलता हासिल गर्न सकिन्छ भन्नेमा चिन्तनशील हुन उनले आग्रह गरे। पानीजहाज, कृषि, पर्यटन, विद्युत्लगायत क्षेत्र लगानीका लागि उपयुक्त हुन सक्ने वाग्लेले सुझाए। डिजिलाइजेसनमा पनि नेपालले ध्यान दिनुपर्ने उनको भनाइ छ।