काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले हाल सरदर दैनिक १.१२ किलोमिटर सडक कालोपत्रे हुँदै आएको विवरण सार्वजनिक गरेको छ। सडक विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो ६ महिनामा करिब २०० किलोमिटर सडक कालोपत्रे भएको हाे।
सरकारले बिहीबार सार्वजनिक गरेकाे अर्धवार्षिक समीक्षाअनुसार यस अवधिभित्र दुई लेन सडक १८१.४२ किलोमिटर र चार लेन सडक २०.५८ किलोमिटर कालोपत्रे गरिएको हो।
सरकारले चालू आर्थिक वर्षमा ९२० किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखेको छ। यसमध्ये ८०० किलोमिटर दुई लेन सडक र १२० किलोमिटर चार लेन सडक छन्। लक्ष्यको तुलनामा ६ महिनामा क्रमशः १९.७२ प्रतिशत र १७.१५ प्रतिशत प्रगति भएको छ। जबकि चालू वर्ष सकिन अब ५ महिना मात्रै बाँकी छ।
मन्त्रालयका अनुसार यस वर्षको लक्ष्य १५० वटा पुल निर्माण भए पनि ६ महिने अवधिमा २१ वटा निर्माण गरिएका छन्। प्रतिशतका आधारमा पुल निर्माणको प्रगति १४ प्रतिशत देखिएको छ।
चालू वर्षमा ५ किलोमिटर रेलवे ट्रयाकबेड निर्माण लक्ष्य राखिएकामा जसमा २ किलोमिटर सम्पन्न भएको छ।
सरकारी विवरणपअनुसार यो अवधिमा हुलाकी राजमार्ग ४२.५ किमि, मध्यपहाडी पुष्पलाल लोकमार्गमा ११ किलोमिटर, कालीगण्डकी करिडोर (गैंडाकोट–राम्दी–मालढुंगाा) मा ५ किलोमिटर, मालढुंगा-बेनी–जोमसोम कोरोला सडकमा १५.५ किलोमिटरमा कालोपत्रे गरिएको छ।
यस्तै, कोसी करिडोरमा १.५ किलोमिटर, कर्णाली करिडोरमा १९.२ किलोमिटर सडक ग्राभेल गरिएको मन्त्रालयले जनाएको छ।
राष्ट्रिय राजमार्ग, रणनीतिक सडक तथा स्थानीय सडकअन्तर्गत २० वटा पुल निर्माण गरिएको छ। ३५ किलोमिटर राष्ट्रिय राजमार्गको आवधिक मर्मत सम्पन्न भएको छ।
चालू आवका लागि भौतिकले १ खर्ब ५० अर्ब ४२ करोड रुपैयाँ बजेट पाएको थियो। दोस्रो त्रैमाससम्म प्राप्त बजेटध्ये ३५ अर्ब ४८ करोड १८ लाख रुपैयाँ खर्च भएको छ, जुन २३.५९ प्रतिशत बराबर हो।