काठमाडौं। म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका १ बाँसखर्कको बजारमारेका जगतबहादुर खत्रीलाई चार दशकअघि सुन्तला खेती सुरू गर्दा परिवारका सदस्य र छिमेकीले भोकै बस्नुपर्ला भनेर डर देखाएका थिए।
“सुन्तला मात्रै लगाएपछि अन्न खान पाइँदैन भनेर गाली पनि खाएँ, डर लाग्यो,” खत्री भन्छन्, “यो वर्ष मात्रै ४० लाखको सुन्तला बेचिसके। सबै बगैँचाको बिक्री गर्दा ४५ लाख पुग्ने अनुमान छ।”
खत्रीको ३६ रोपनी क्षेत्रफलमा फैलिएको जग्गामा १ हजार ५९३ बोट सुन्तलाका बिरूवा छन्। यस वर्ष ४८० बिरूवाले ३४ हजार किलोग्राम सुन्तला उत्पादन दिएका छन्।
सबै बोटमा फल लाग्दा वार्षिक एक करोड बढीको सुन्तला बिक्री हुने उनी बताउँछन्। प्रतिकिलो १२० का दरले बगैँचाबाटै काठमाडौंका व्यापारीले सुन्तला किनेर लगेका छन्। यतिबेला खत्रीलाई सुन्तला टिपेर बजार पठाउने चटारो छ।
बाबुबाजेले देखाएको बाटोले सेवानिवृत्त शिक्षक खत्रीको परिवारमा परिवर्तन ल्याएको हो। विसं १९९७ सालमा खत्रीका हजुरबाले बाँसखर्कमा पाँच वटा सुन्तलाका बिरूवा रोप्नुभएको थियो। त्यतिबेला निकै मिठो भएकाले धेरैले मागेर खान्थे।
बाबु मीनबहादुर खत्रीले विसं २०३३ मा बारीमा २५ वटा बिरूवा थपे। त्यसले पाँच वर्षमै राम्रो उत्पादन दियो। सुन्तलाले गाउँघरमै बजार पायो। सजिलै बिक्री भएपछि नगद हात पारेर घरव्यवहार चलाउन सजिलो भयो।
पैतीस वर्ष शिक्षक रहँदा खत्रीले गाउँमै बसेर सुन्तलामा लगानी गरेका थिए। निवृत्त जीवन पनि उहाँले सुन्तला खेतीमै लगाएका छन्। चार छोरी विवाह गरेर घर गए। स्नातक पढेका छोरा राजन, बुहारी सहित खत्रीका सबै परिवार सुन्तला खेतीमा तल्लीन छन्।
देशका अन्य ठाउँको बगैँचा रित्तिएपछि व्यापारीले बाँसखर्कको सुन्तला किनेर लैजान्छन्। पोखरा, काठमाडौं र चितवनका ठूला व्यापारी बाँसखर्कमा सुन्तला किन्न आउँछन्।