काठमाडौं। लमजुङको बेँसीसहर नगरपालिका ८ फूलबारी चोकस्थित जिल्ला मालपोत कार्यालयमा कार्यालय प्रमुख नहुँदा कर्मचारीले दुई महिनादेखि तलबबिहीन बनेका छन्।
कार्यालय प्रमुख नहुँदा कार्यालयका कर्मचारीले पुस र माघ महिनाको तलब पाउन सेकेका छैनन्। गत मंसिरमा भीष्मकुमार मल्ल कार्यालय प्रमुख भएर आएका थिए।
उनी गत पुस १४ गते सरूवा भएर गएपछि करिब एक महिनाअघि पोखराबाट रामचन्द्र अधिकारीलाई यस मालपोतमा प्रमुखका रूपमा तोकिए पनि उनी हालसम्म हाजिरी हुन पुगेका छैनन्।
निमित्त कार्यालय प्रमुख पूर्णबहादुर गुरूङले भने, “यतिका समय हुँदा पनि प्रमुख आउनु भएन, सम्र्पकबिहीन जस्तै हुनुभएको छ, यहाँ नआउने भए सरूवा फिर्ता लिए हुन्थ्यो, कि आउने भए बेलैमा आए कर्मचारीले तलब पाउने थिए, सेवाग्राहीले सेवाहरू प्राप्त गर्ने थिए ।”
गुरूङलाई निमित्त कार्यालय प्रमुख तोकिए पनि उनलाई आर्थिक एवं महत्त्वपूर्ण कार्य गर्ने अधिकार दिएको छैन। सेवाग्राहीका महत्त्वपूर्ण काम गर्न आफूलाई अधिकार नभएकाले समस्या भइरहेको उनको भनाइ थियो।
उनका अनुसार २६ जना दरबन्दी रहेको यस कार्यालयमा जम्मा ८ जना मात्रै दरबन्दीका कर्मचारी रहेका छन्।
कार्यालयमा प्रमुखसँगै खरिदार ५ जना, कम्युटर अपरेक्टर एक जना, लेखापाल एक जना, तानासु (टाइसिन) एक जना, कार्यालय सहयोगी एक जना खाली रहँदै आएको निमित्त कार्यालय प्रमुख गुरूङको भनाइ छ।