काठमाडौं। चौधरी ग्रुपअन्तर्गतको सिजी होल्डिङ्सले नगरकोटमा तयार पारिरहेको लक्जरी रिसोर्ट भंगेरी दरबार २०८२ जेठभित्रै सञ्चालनमा आउने भएको छ। लामो समयदेखि निर्माण भइरहेको रिसोर्ट कोभिड-१९ र त्यसपछि जारी आर्थिक मन्दीका कारण सञ्चालनमा ढिलाइ भइरहेको थियो।
१ अर्ब लगानीमा निर्माण भएको रिसोर्ट साढे २६ रोपनी क्षेत्रफलमा फैलिएको छ। नगरकोट क्षेत्रमा रहेका होटल तथा रिसोर्टमध्ये सबैभन्दा लक्जरी बनाउने उद्देश्यका साथ सिजी होल्डिङ्सले निर्माण गरिरहेको सो रिसोर्टमा ५१ वटा कोठा तयार भएको छ।
सूर्यदय र सूर्यास्तलाई नजिकबाट नियाल्दै प्रकृतिसँग रमाउनेलाई आकर्षण केन्द्रको रुपमा रिसोर्टलाई राखिएको जनाएको छ। रिसोर्टका हरेक कोठाबाट हेर्न मिल्ने गरी निर्माण गरिएको सिजी होल्डिङसको तर्फबाट निर्माणमा सहभागी रहेका एक उच्च अधिकारीले जानकारी दिए।
काभ्रेको मन्डनपुर नगरपालिका २ नगरकोट हाइटमा निर्माण भइरहेको रिसोर्टमा ५ वटा भवन छ। तीमध्ये १ वटा भवनमा लबी, रिसेप्सन, बैंक्विट हल र रेष्टुरेन्ट निर्माण गरिएको छ।
![476496390_596901056594393_5729413851309646043_n-1738842576.jpg](https://www.capitalnepal.com/uploads/posts/476496390_596901056594393_5729413851309646043_n-1738842576.jpg)
‘काठमाडौं उपत्यकाबाट नजिकको गन्तव्यको रुपमा रहेको नगरकोटमा लक्जरी प्रोपर्टी खोजीमा रहनेका लागि भंगेरी दरबार उपयुक्त हुने छ,’ ती अधिकारीले भने, ‘आँखैअगाडि हिमाली दृष्यहरु रिसोर्टबाट देखिन्छ।’ पाँचतारे स्तरको लक्जरी रिसोर्टमा मल्टी कुजिन रेष्टुरेन्ट एण्ड बार, बैंक्विट हल, हिटेड स्विमिङ पुल र हेल्थ क्लबको सुविधा रहेको छ।
२०७४ सालमा भंगेरी दरबार व्यवसायी किशोरराज पाण्डेसँग चौधरी ग्रुपले खरिद गरेको थियो। रिसोर्टको पुन:निर्माण गरेर लक्जरी रिसोर्ट बनाउन चौधरी ग्रुपले २०७६ बाटै सुरु गरेको थियो। तर, कोभिड-१९ र आर्थिक संकटको कारण लम्बिँदै गएको चौधरी ग्रुपले जनाएको छ।
![475041601_406046669238851_891192568853434795_n-1738842577.jpg](https://www.capitalnepal.com/uploads/posts/475041601_406046669238851_891192568853434795_n-1738842577.jpg)
अरुण चौधरी अध्यक्ष रहेको सिजी होल्डिङ्सले नगरकोटसहित विभिन्न ठाउँमा होटल तथा रिसोर्ट निर्माण गरिरहेको छ। हाल सिजी होल्डिङ्समार्फत बूढानीलकण्ठमा मिराकी, चितवनमा टाइगरल्याण्ड सफारी रिसोर्ट सञ्चालन गरिरहेको छ। यस्तै कुपन्डोलमा पाँचतारे होटल लेमन ट्री सञ्चालनको तयारीमा रहेको छ।