गत आर्थिक वर्ष नेपालको डेढ खर्ब बराबरको वस्तु तथा सेवा निकासीमध्ये ४ प्रतिशत बढी पस्मिनाकै हिस्सा छ। भन्सार विभागको तथ्यांकअनुसार गत वर्ष नेपालबाट ६ अर्ब २१ करोड ४६ लाख रुपैयाँ बराबरको पस्मिनाका तयारी पोसाक छिमेकी मुलुक भारत, चीनसहित तेस्रो मुलुक निर्यात भएको छ।
विगत ५ वर्षयता नेपालबाट निर्यात हुने मुख्य वस्तुहरुमा पस्मिना पनि पर्न थालेको छ, भने कुल निर्यातमा पस्मिनाको हिस्सा बढ्दो छ। आर्थिक वर्ष २०७६/७७ मा कुल निर्यातमा पस्मिनाको हिस्सा १.८७ प्रतिशत रहेकोमा अघिल्लो वर्ष ३.८८ प्रतिशत हुँदै गत आवमा ४.०८ प्रतिशत पुगेको छ। मुस्किलले खर्बको हाराहारीमा हुने मुलुकको कुल निर्यातमा पस्मिनाले अर्बौंको योगदान गर्नु भनेको भविष्यमा मुलुकले विदेशी मुद्रा आर्जनमा यस उद्योग प्रमुख बन्ने संकेत हो।
आर्थिक वर्ष २०७६/७७ सालमा नेपालबाट १ अर्ब ८२ करोड, आव ०७७/७८ मा ४ अर्ब ४२ करोड, आव ०७८/७९ मा ५ अर्ब ४० करोड, आव ०७९/८० मा ६ अर्ब ९ करोड र आव ०८०/८१ मा ६ अर्ब २१ करोड रुपैयाँ बढीको पस्मिना निर्यात भएको हो। तर, मुलुकको निर्यातमा मुख्य भूमिका खेलेको पस्मिना उद्योगलाई आवश्यक कच्चा पदार्थ देशभित्रै उत्पादन नहुँदा यो व्यवसाय कमजोर हुने अवस्थामा पुगेको छ।
अर्बाैं मूल्यमा निर्यात हुने पस्मिनामा करिब आधा हिस्सा आयातीत कच्चा पदार्थले धानेको छ। गत वर्ष मुलुकबाट निर्यात भएको कुल पस्मिनाको ४३.४० प्रतिशत अर्थात २ अर्ब ६९ करोड रुपैयाँ बढीको कच्चा पदार्थ चीनबाट आयात भएको थियो।
सरकारले विदेशी मुद्रा आर्जनको मुख्य स्रोत निर्यातलाई बनाउँदै विप्रेषणमा परनिर्भर घटाउने योजना बनाइरहँदा ‘प्रचुर’ सम्भावना बोकेको पस्मिना उद्योग आयातित कच्चा पदार्थको भारले थिचिएको छ।
पस्मिनाको कच्चा पदार्थमा नेपाल चीनमाथि निर्भर छ। यस्तो परनिर्भता वर्षेनी बढ्दो छ। विगत ५ वर्षमा पस्मिनाको कच्चा पदार्थ आयात ७६.४० प्रतिशतले बढेको छ भने, १० वर्षको आँकडा हेर्ने हो भने यस्तो आयात ४ गुणा बढी छ। १० वर्षको अवधिमा मुलुकभित्र १७ अर्ब २७ करोड २३ लाख रुपैयाँ बराबरको पस्मिनाका कच्चा पदार्थ आयात भएको छ।
आर्थिक वर्ष २०७१/७२ मा नेपालभित्र चीनबाट कुल ५१ करोड ७६ लाख रुपैयाँ बराबरको पस्मिनाको कच्चा पदार्थ आयात भएको थियो। गत वर्षको असार मसान्तसम्म यस्तो आयात ४ सय २१.०३ प्रतिशतले वृद्धि भएर २ अर्ब ६९ करोड ६९ लाख रुपैयाँ पुगेको हो।
सरकारले विदेशी मुद्रा आर्जनको मुख्य स्रोत निर्यातलाई बनाउँदै विप्रेषणमा परनिर्भर घटाउने योजना बनाइरहँदा ‘प्रचुर’ सम्भावना बोकेको पस्मिना उद्योग आयातित कच्चा पदार्थको भारले थिचिएको छ।
उच्च हिमाली भेगमा पालिने च्याङ्ग्राको रौंबाट बन्ने पस्मिनाको कच्चा पदार्थ नेपालमा पनि उत्पादन हुन्छ। यो क्षेत्रलाई आवश्यक कच्चा पदार्थ मुलुकभित्रै उत्पादन गरी परनिर्भता कम गर्न सके निर्यातको राम्रो सम्भावना छ। तर, भौगोलिक जटिलताले उद्योगलाई चाहिने कच्चा पदार्थ स्वदेशमा उत्पादन हुन सकेको छैन।
पस्मिना उद्योगलाई विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत बनाउन सरकार र सम्बन्धित नियकायले दीर्घकालीन योजना बनाएर कार्यान्यवन गर्नुपर्ने देखिन्छ। अन्यथा, सम्भावना बोकेको पस्मिना उद्योग भविष्यमा कच्चा पदार्थको अभावले धरासायी हुने प्रष्ट देखिन्छ।
आयातीत कच्चा पदार्थमा निर्भर पस्मिना उद्योग
नेपालमा पस्मिना उद्योगको सुरुआत मुख्यतया काठमाडौं उपत्यकाबाट भएको हो। काठमाडौं उपत्यकाको ललितपुर र भक्तपुरमा १९औँ शताब्दीमै पस्मिना बनाउने परम्परागत कारखाना र उद्योगको सुुरुवात भएको थियो। यद्यपि, पस्मिना उद्योग व्यावसायिक रूपमा १९५० को दशकदेखि भएको पाइन्छ। उक्त समय उत्पादित पस्मिना आन्तरिक बजारमै खपत हुन्थ्यो भने, विदेशी पाहुनालाई उपहार दिन प्रयोग गरिन्थ्यो।
सुरुवाती दिनमा अन्य देशबाट कच्चा पदार्थ आयात हुँदैन थियो। पस्मिनाको कच्चा पदार्थ हुम्ला, जुम्ला, मुगु, मनाङ, मुस्ताङ र डोल्पालगायत उच्च हिमाली जिल्लामा पालिएका च्याङ्ग्राबाट उत्पादन गरिन्थ्यो।
मासु र दूध जन्य पदार्थ उत्पादन गर्न हिमाली भेगका किसानहरुले पालेका च्याङ्ग्राका रौंबाट नेपालको पस्मिना उद्योगको कच्चा पदार्थ परिपूर्ति भइरहेको थियो। अन्तर्राष्ट्रिय बजारमा नेपालको पस्मिनाले सन् १९९० को दशकदेखि आधिकारिक रुपमा प्रवेश पाएको थियो। योसँगै चीनबाट कच्चा पदार्थ आयात हुन थालेको नेपाल पस्मिना उद्योग संघका निवर्तमान अध्यक्ष विजयकुमार दुगड बताउँछन्।
बेलायतकी राजकुमारीले लगाएको पस्मिना विश्वप्रसिद्ध फेसन पत्रिका ‘भोग म्यागेजिन’मा छापिएपछि नेपालमा थामिनसक्ने माग बढेको हो। त्यही समयदेखि पस्मिनाको माग अत्यधिक भएपछि चीनबाट कच्चा पदार्थ आयात हुन थालेको हो।
‘आन्तरिकदेखि अन्तर्राष्ट्रिय बजारमा नेपाली पस्मिना व्यापारीले पुर्याएपछि माग बढेसँगै उत्पादन बढाउन कच्चा पदार्थ अभाव हुन थालेको हो। उद्योगीले चीनबाट कच्चा पदार्थ आयात गर्न थाले,’ दुगड भन्छन्, ‘कच्चा पदार्थ आयात हुन थालेपछि नै नेपालमा उत्पादित पस्मिनाको गुणस्तर खस्किन पुग्यो, नक्कली पस्मिनाको बिगबिगी बढ्यो।’
बेलायतकी राजकुमारीले लगाएको पस्मिना विश्वप्रसिद्ध फेसन पत्रिका ‘भोग म्यागेजिन’मा छापिएपछि नेपालमा थामिनसक्ने माग बढेको हो। त्यही समयदेखि पस्मिनाको माग अत्यधिक भएपछि चीनबाट कच्चा पदार्थ आयात हुन थालेको हो। आयातीत कच्चा पदार्थको पोसाक तयार गरी उद्योगीले केही प्रतिशत ‘मार्जिन’ राखेर विभिन्न मुलुक निर्यात गर्न सुरु गरेका थिए।
आयातीत कच्चा पर्दाथबाट उत्पादित पस्मिनाको निर्यात सुरुवाती वर्ष चरम उचाईमा पुग्यो। तर, आयातीत कच्चा पदार्थमा परनिर्भरता, नक्कली उत्पादनको बिगबिगी र अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका कारण यो उद्योग संकट पर्दै गएको हो।
नेपालबाट वार्षिक करिब ६ अर्ब रुपैयाँ बराबरको पस्मिना निर्यात हुने गरेको छ। तर, यो आँकडा १९९० को दशकको तुलनामा घट्दै गएको संघका अध्यक्ष धनप्रसाद लामिछाने बताउँछन्।
‘अहिले पनि ८० प्रतिशत कच्चा पदार्थ चीनबाटै आयात हुन्छ। चीनले व्यावसायिक च्याङ्ग्रा पालन गरेको छन्,’ उनी भन्छन्, ‘चीनबाट कच्चा पदार्थ नआए नेपालको पश्चिममा उद्योग बन्द हुने अवस्था छ। त्यसैले नेपालमा च्याङ्ग्रा पालन व्यावसायिक रुपले बढाएर पस्मिनाको कच्चा पदार्थमा आत्मनिर्भर हुने गरी काम गर्न आवश्यक छ।’
पस्मिनाको कच्चा पदार्थ उत्पादनलाई बढाएर आत्मनिर्भर हुन सके उद्योगीले विदेशबाट ल्याउनु पर्ने बाध्यता हट्छ। साथै, गुणस्तरयुक्त नेपाली पस्मिना निर्यात गर्न सक्षम हुन्छ। चीनले कच्चा पर्दाथ निर्यात रोकेको अवस्थामा नेपालको पस्मिना उद्योग ठप्प हुने लामिछाने बताउँछन्।
‘पस्मिनामाको कच्चा पदार्थ सतप्रतिशत परनिर्भर छ। चीनबाट ल्याउन नसके नेपाली पस्मिना उद्योग धरासायी हुन्छन्। लगानी डुब्छ,’ उनले भने, ‘त्यसमाथि अहिले पाइरहेको भन्सार छुट हामीले पाउँदैनौँ।’
अहिले भारत, चीनलगायत अन्य विकाशित देशलाई ३० प्रतिशतसम्म वस्तु तथा उपभोग कर (जिएसटी) अर्थात अप्रत्यक्ष कर लाग्छ। नेपाल अतिकम विकशित राष्ट्र भएकाले यस्तो कर शून्य छ। तर, विकासशील राष्ट्र भएपछि निर्यातकर्ताले यस्तो कर तिर्नुपर्छ।
![475859513_1154523339354626_5364593084113368006_n-1738859437.jpg](https://www.capitalnepal.com/uploads/posts/475859513_1154523339354626_5364593084113368006_n-1738859437.jpg)
यसले नेपालको पस्मिना निर्यात महंगो हुन्छ भने अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न चुनौती थपिन्छ। त्यसैले अहिलेदेखि नेपालले निर्यातमा भन्सार छुट नपाएर बढी मूल्य तोक्नु पर्दा त्यसमा फरक नपर्ने गरी तयारी गर्नुपर्ने उनको भनाइ छ। त्यसैले पस्मिनाको कच्चा पदार्थ स्वदेशमा उत्पादन गरी आयातलाई प्रतिस्थापन गर्नु आवश्यक देखिन्छ। नेपालमै कच्चा पदार्थ उत्पादन हुँदा लागत कम पर्न गई मूल्य यथावस्थामा राख्न सकिन्छ।
भन्सार सहुलियत पाएकाले अन्य देशको उत्पादनभन्दा नेपाली पस्मिना सस्तो हुँदा अन्तर्राष्ट्रिय बजारमा माग बढेको छ। तर, भन्सार शुल्क तिर्नुपर्दा सामानको मूल्य बढी पर्न जान्छ। कोरोना भाइरस (कोभिड-१९) महामारीपछि कच्चा पदार्थमा आत्मनिर्भर बन्ने प्रयास भएको पाइन्छ। नेपालको आर्थिक विकास र राष्ट्रिय पहिचानका लागि पस्मिना उद्योगलाई आत्मनिर्भर बनाउनुपर्ने आवश्यकता छ।
नेपाल पस्मिना उद्योग संघका अनुसार हाल नेपालले कच्चा पदार्थमा ८० प्रतिशतभन्दा बढी चीनमाथि निर्भर रहनुपर्छ। यो परनिर्भरता हटाउन देशभित्रै उत्पादनलाई प्रवद्र्धन गर्नुपर्ने आवश्यक छ। उद्योगलाई थप बलियो र प्रतिस्पर्धात्मक बनाउन सम्बन्धित पक्षले पस्मिना उद्योगको विकास र प्रवद्र्धनमा ध्यान दिन आवश्यक छ। यसलाई पुनःस्थापित गर्न कच्चा पदार्थमा आत्मनिर्भर बन्ने योजना, गुणस्तरीय उत्पादन प्रवर्द्धन र अन्तर्राष्ट्रिय बजारमा नेपालको पहिचान बलियो बनाउन रणनीति आवश्यक छ।
पस्मिना उत्पादनमा संघको प्रयास
पस्मिना उद्योगको दिगो विकास गर्न विं.सं. २०५६ सालमा नेपाल पस्मिना उद्योग संघको स्थापना भएको थियो। संघले नेपाली पस्मिनालाई आवश्यक कच्चा पदार्थ स्वदेशमा उत्पादन गरेर गुणस्तरीय उत्पादन गरी र अन्तर्राष्ट्रिय बजारमा हिस्सा बढाउने काम भइरहेको छ। गुणस्तरीय पस्मिना उत्पादन गरी अन्तर्राष्ट्रिय स्तरमा नेपाली ब्राण्ड स्थापित गर्न योजना बनिरहेका छन्।
![476389630_9049253241829590_7953454920289608624_n-1738859673.jpg](https://www.capitalnepal.com/uploads/posts/476389630_9049253241829590_7953454920289608624_n-1738859673.jpg)
संघले विगत २ दशकयता भुवा (च्याङ्ग्राको रौँ)देखि पहिरनसम्म ‘फार्म टु फाइबर, फाइबर टु फेसन’को अवधारणाअन्तर्गत काम अघि बढाइरहेको हो। साथै, संघको प्रयासमा नेपाली पस्मिनाको करिब ४७ देशमा ‘ट्रेडमार्क’ दर्ता गरिएको छ।
संघले नेपाली पस्मिनालाई विश्वबजारमा चिनाउन अन्तर्राष्ट्रिय व्यापार केन्द्रको अगुवाइमा ‘पस्मिना इन हास्मेण्ट एण्ड ट्रेड सपोर्ट’ (पिइटिसी) कार्यक्रममार्फत पस्मिना प्रवद्र्धनको काम गरिरहेको छ। संघले मुस्ताङमा भुवा संकलन केन्द्र स्थापना गरेको छ। साथै, हरेक वर्ष कृषकलाई अभिमुकीकरण कार्यक्रम गर्दै आएको छ।
३ हजार मिटरको हिमाली भेगमा पालिने च्याङ्ग्राको भुवासँगै सुरु हुन्छ। पस्मिना उत्पादन प्रक्रिया अत्यन्तै जटिल र लामो तयारीबाट हुन्छ।
यस्तै, विश्व बैंकको सहयोगमा नेपाल लाइभ स्टकसेक्टर इनोभेसन परियोजना (एनएलसिआइपी)को सहयोगबाट संघको समन्वयमा नेपाल फाइबर प्रोसेसिङ प्रा.लि. स्थापना भएको हो। यसबाहेक संघले डि-हेरिङ प्लान्ट, साझा सुविधा केन्द्र स्थापना गरी पस्मिना क्षेत्रमा नभई नहुने सबै किसिमका उपकरण तथा औजारबाट एकै स्थानबाट उपलब्ध गराइरहेको छ।
पस्मिना उत्पादन चक्र
नेपाली पस्मिनाको सुरुवात करिब ३ हजार मिटरको उचाईदेखि सुरु हुन्छ। ३ हजार मिटरको हिमाली भेगमा पालिने च्याङ्ग्राको भुवासँगै सुरु हुन्छ। पस्मिना उत्पादन प्रक्रिया अत्यन्तै जटिल र लामो तयारीबाट हुन्छ। यसका लागि पहिला च्याङ्ग्राको रौँ संकलन गर्नु हो।
च्याङ्ग्राको रौँ समय/समयमा काट्नुपर्छ। जसले गर्दा च्याङग्राले पुनः नयाँ रौँ उमार्छन्। त्यही रौँ किसानले काटेर संकलन गर्छन्। संकलित रौँलाई मेशिनद्वारा सफा र प्रशोधित गरिन्छ। उक्त रौँ कात्न र बुन्न अधिकांश उद्योगले परम्परागत प्रविधि तथा तानको प्रयोग गर्छन्। केही उद्योगले आधुनिक मेसिनरीको प्रयोग गर्न थालेका छन्।
नेपालमा पस्मिना प्रायः सल, स्कार्फ, स्वेटर, ह्याण्डवर्म, मफलरलगायतका वस्त्र उत्पादनमा प्रयोग हुन्छ। तर, किसानले परम्परागत तबरले प्रशोधन गरेर बनाएका राम्रो रौँको धागोको पस्मिनालाई सबैभन्दा बढी गुणस्तरको मानिन्छ।
उक्त धागोबाट तान (ह्याण्डलुम)मा अडरअनुसारको विभिन्न बुट्टा भरेर पस्मिनको कपडा बुनिन्छ। नेपालमै उत्पादित पस्मिनाको कच्चा पदार्थबाट बनाइएको धागोलाई तानमा बुनेको पस्मिना अन्तर्राष्ट्रिय बजारमा अत्याधिक माग छ।
नेपालका उच्च हिमाली क्षेत्रमा पस्मिना उत्पादन गर्न च्याङ्ग्रा पालिन्छ। पस्मिना उत्पादनको मुख्य स्रोत भनेको तिब्बती उन्नत जातको च्याङ्ग्रा हो। यी च्याङ्ग्राको रौँ प्रयोग गरी मुलायम, हल्का र न्यानो कपडा बनाइन्छ।
तर, पछिल्ला केही वर्षयता ठूला पस्मिना उद्योगले मेसिनमा लुम बनाएर पस्मिनाको कपडा बुन्ने गर्छन्। यसमा ह्याण्डुलमको तुलनामा ५ गुणा छिटो काम गर्न सकिन्छ। ठूला उद्योगले धेरै अडर परिपूर्ति गर्न मेसिनको प्रयोग बढाएको हो।
बुनिएको पस्मिनालाई अडरअनुसार रङ लगाउने गरिन्छ। अहिले ठूला उद्योगले ‘टाइ-ड्राई’ गर्ने, ‘स्टिच-ड्राई’, ‘क्ल्याम्प-डाइरङ’ र ‘इकट्स’ गर्छन्। यस्तो कपडाको अडरअनुसार विभिन्न प्रकारका पोसाक बनाई भारत, चीनलगायत विभिन्न देशमा निर्यात गरिन्छ।
कच्चा पदार्थ उत्पादन सम्भावना
नेपालका उच्च हिमाली क्षेत्रमा पस्मिना उत्पादन गर्न च्याङ्ग्रा पालिन्छ। पस्मिना उत्पादनको मुख्य स्रोत भनेको तिब्बती उन्नत जातको च्याङ्ग्रा हो। यी च्याङ्ग्राको रौँ प्रयोग गरी मुलायम, हल्का र न्यानो कपडा बनाइन्छ।
उच्च हिमाली क्षेत्रमा पाइने च्याङ्ग्राको शरीरमा जाडो मौसममा पलाउने र गर्मीमा झर्ने मसिनो (१२-१६ माइक्रोन व्यास भएको)रौँबाट उत्पादन हुने मसिनो ऊन (पस्मिना) हिमाली क्षेत्रको विशेषता हो। तर, हाल च्याङ्ग्रा कमी हुँदा कच्चा पदार्थ आयातमा निर्भर हुनुपरेको छ। यस्तो परनिर्भता घटाउन कच्चा पदार्थ आन्तरिक रुपमा उत्पादन तथा प्रशोधन गर्न नेपालमा पहिलो पटक ‘बिहरिङ प्लाण्ड र ह्याण्ड स्पिनिङ र्यान प्रोडक्ट प्लान्ट’ स्थापना गरेका छन्।
![475740126_1127492445776288_8352399331605550556_n-1738859797.jpg](https://www.capitalnepal.com/uploads/posts/475740126_1127492445776288_8352399331605550556_n-1738859797.jpg)
पस्मिना उद्योगलाई आवश्यक आधारभूत संरचना उपलब्ध गराउने अपेक्षासहित २०७७ फागुनमा ललितपुरको हरिसिद्धिमा नेपाल फाइवर प्रोसेसिङ उद्योग स्थापना भएको थियो।
कम्पनीले गत वर्षदेखि प्रशोधन सुरु गरिसकेको छ। नेपाली पस्मिनालाई नयाँ परिचय दिँदै गुणस्तरीयसहित विश्व बजारमा पुनःस्थापित गर्ने गरी काम गरिरहेकोे नेपाल फाइबर प्रोसेसिङ प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुमन भण्डारी बताउँछन।
‘देशमा आफ्नै कच्चा पदार्थ उत्पादन गर्न सक्ने प्रचुर सम्भावना हुँदाहुँदै प्रोसेसिङ प्लान्ट थिएन। पस्मिनाको कच्चा पदार्थमा आत्मनिर्भर बनाउन नेपाल फाइबर प्रोसेसिङ जस्ता अझै धेरै कम्पनी आवश्यक छ,’ भण्डारी भन्छन्, ‘कच्चा पदार्थमा नेपाल आत्मनिर्भर हुन किसानसँगै च्याङ्ग्राको संख्या बढाउनुपर्छ।’
नेपाली पस्मिना एक समय विश्वभर आफ्नो उच्च गुणस्तर र परम्परागत पहिचानका लागि प्रख्यात थियो। नेपालमा उत्पादित पस्मिनाको सौन्दर्य र गुणस्तरले अन्तर्राष्ट्रिय बजारमा ठूलो माग थियो।
सरकारले व्यावसायिक च्याङ्ग्रा पालन क्षेत्रमा नीतिगत सहजीकरण गर्दै आवश्यक पूर्वाधार निर्माण गरी कच्चा पदार्थ उत्पादन बढाए आगामी ५ वर्षसम्म करिब २० प्रतिशत माग आन्तरिक रुपमा पूर्ति हुनसक्ने उनको भनाइ छ। गत वर्षसम्म नेपालका पस्मिना उद्योगले चीनमा प्रशोधित कच्चा पदार्थमात्रै प्रयोग गर्नुपर्ने बाध्यता थियो। जसलाई नेपाल फाइबर प्रोसेसिङ कम्पनीले केही हदसम्म कम गरेको छ।
उद्योगका आगामी चुनौती
नेपाली पस्मिना एक समय विश्वभर आफ्नो उच्च गुणस्तर र परम्परागत पहिचानका लागि प्रख्यात थियो। नेपालमा उत्पादित पस्मिनाको सौन्दर्य र गुणस्तरले अन्तर्राष्ट्रिय बजारमा ठूलो माग थियो। तर, पछिल्ला केही वर्षयता यो उद्योगले कच्चा पदार्थ अभावको चुनौतीहरूको सामना गरिरहेको छ। पस्मिना उत्पादन गर्न कच्चा पदार्थको आपूर्ति पर्याप्त र स्थिर नहुँदा परनिर्भ हुनुपर्ने अवस्था छ। ![475737389_3925644904373894_6187661401600457588_n-1738859606.jpg](https://www.capitalnepal.com/uploads/posts/475737389_3925644904373894_6187661401600457588_n-1738859606.jpg)
अर्को चुनौती भनेको अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादन प्रतिस्पर्धी हुन नसक्नु हो। चीन र भारतजस्ता देशसँग नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न कठिन भइरहेको छ। नेपाली उत्पादनमा लागत बढी हुँदा समस्या भइरहेको छ।
यस्तै, गुणस्तर गिरावट हुनु अर्को चुनौती हो। अधिकांश व्यवसायीले सस्तो पस्मिना उत्पादन गरी बेच्ने गर्छन्। जसले गुणस्तरीय पस्मिना उद्योगको छवि कमजोर बनाउँदै आएको छ। आधुनिक प्रविधि नहुँदा थप चुनौती भोग्नु परको छ। यद्यपि, केही उद्योगहरूले प्रविधिको प्रयोग गरी उत्पादन गर्न थालेको छ।
सरकारी नीति अभाव
पस्मिना उद्योगको प्रवर्द्धन गर्न सरकारबाट ठोस नीतिगत काम हुन सकेको छैन। कर प्रणाली, निर्यात प्रोत्साहन र बजार विस्तारका लागि आवश्यक बजेट तथा स्रोत व्यवस्थापन कमजोर बनेको छ। च्याङ्ग्रा पालक किसानका लागि कुनै प्रकारको काम हुन सकेको देखिदैन। किसानलाई सहुलियत दिएर पशु चिकित्सक सुविधा उपलब्ध गराउनेदेखि बीमाको सहज पहुँच विस्तार गराएर च्याङ्ग्रा पालनलाई प्रोत्साहन गर्नुपर्ने आवश्यक छ।
अहिले किसानले पालेका चाङ्ग्रा स्थानीय जातिका हुन्। स्थानीय जातको च्याङ्ग्राबाट उत्पादन कम हुन थालेसँगै उन्नत प्रकारको च्याङ्ग्रा ल्याउन आवश्यक देखिन्छ। त्यसका लागि नेपाल कृषि अनुसन्धान केन्द्र (नार्क)को सहकार्यमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आवश्यक भूमिका खेल्नु जरुरी देखिन्छ।
सम्भावना र सुधारका क्षेत्र
कच्चा पदार्थमा आत्मनिर्भरता: नेपालमा हिमाली क्षेत्रमा च्याङग्रा पालनको सम्भावना छ। नेपाल पस्मिना उद्योग संघले देशमै कच्चा पदार्थ उत्पादनसँगै प्रवद्र्धन गर्न नेपाल फाइबर प्रोसेसिङ कम्पनी स्थापना गरिसकेको छ। जसले आफूलाई आवश्यक पर्ने कच्चा पदार्थको उत्पादन गर्ने तयारी गरेको छ।
नक्कली उत्पादन नियन्त्रणः उद्योगी तथा व्यापारीले आफ्नो उत्पादनसँगै सामानको पहिचानलाई कायम राख्न विषेश चिन्ह, व्यापार चिन्ह वा व्यापार चिनोको रुपमा ‘ट्रेडमार्क’ निर्माण गर्ने गरेका छन्। सरकारले नक्कली उत्पादनलाई नियन्त्रण गर्न अन्तर्राष्ट्रिय स्तरमा व्यापारीले निर्माण गरेको टेड्रमार्क जस्ता प्रमाणित लोगो प्रयोगलाई अनिवार्य बनाउन सक्छ। यसले उपभोक्तालाई वास्तविक नेपाली पस्मिना चिन्न सजिलो बनाउँछ।
अनुसन्धान र उत्पादनमा लगानीः नेपाली पस्मिनाको गुणस्तर सुधार्न अनुसन्धान र विकासमा लगानी बढाउनुपर्छ। पस्मिनाको मूल स्रोत च्याङ्ग्राको जीवनशैली सुधार्न, तिनको आहारासँगै व्यवस्थापन गर्न उनीहरूको प्रजननमा सुधार ल्याउन ध्यान दिनुपर्छ।
सरकारको कठिनाई नीतिका कारण किसानले आवश्यक च्याङ्ग्रा पालन गर्न सकेका छैनन्। उद्योगीले आवश्यक कच्चा पदार्थ आयात गरी सामान उत्पादन गर्नु परेको छ। सरकारको झन्झटिलो नीतिले हिमाली क्षेत्रका च्याङ्ग्रा पालक किसानलाई समस्या किसान पलायन भइरहेका छन्।
‘हिमाली क्षेत्रको एउटा च्याङ्ग्राको मृत्यु भए बिमा दाबी गर्न १७ किसिमको कागज बुझाउनुपर्छ। त्यसका लागि ४/५ दिनको बाटो हिँडेर सदरमुकाम आउनुपर्छ,’ संघ अध्यक्ष लामिछाने भन्छन्, ‘ती किसानलाई राम्रोसँग नेपाली बोल्न आउँदैन। सरकारले दिने १०/२० हजार रुपैयाँको अनुदान क्षतिपूर्ति लिन किसानले ५० हजारदेखि १ लाख रुपैयाँसम्म खर्च गर्नुपर्ने हुन्छ। यस्तो अवस्थामा सरकारको नीतिले प्रोत्साहन गर्ने कुरै आउँदैन।’
राज्यको नीति कार्यान्वयन विधिमा समस्या हुँदा यसको समाधान प्रधानमन्त्री कार्यालयले नै गर्नुपर्ने देखिन्छ। प्रधानमन्त्री कार्यालयले सबै विषय एकद्वार नीति गरेर बिमा, चरनभूमि, च्याङ्ग्राको दाना र आवश्यक भेटनरी सुविधा सहज उपलब्ध गराए हिमाली भेगका सबै किसानले च्याङ्ग्रा पाल्छन्।![473697691_611598098392715_5892446989591826346_n-(1)-1738859864.jpg](https://www.capitalnepal.com/uploads/posts/473697691_611598098392715_5892446989591826346_n-(1)-1738859864.jpg)
अन्तर्राष्ट्रिय ब्राण्डिङ
नेपालले आफ्नो पस्मिनालाई अन्र्राष्ट्रिय स्तरमा विशिष्ट ब्राण्डका रूपमा प्रस्तुत गर्नुपर्ने आवश्यकता छ। यसका लागि अन्तर्राष्ट्रिय मेलामा सहभागिता, अनलाइन बजारको विकास र सामाजिक सञ्जालमा प्रचारप्रसार गर्न सकिन्छ। पस्मिना उद्योगलाई पुनःस्थापित गर्न नेपाली उत्पादनको अन्तर्राष्ट्रिय ब्रान्डिङमा जोड दिनुपर्ने छ। अनलाइन प्लेटफर्म जस्तैः एमजोन, इवे र अन्य ई-कमर्स साइटमा नेपाली उत्पादनलाई विशेष स्थान दिन सकिन्छ।
सरकारी सहकार्य
सरकारले पस्मिना उद्योगलाई कर छुट, अनुदान र बजार विस्तारका लागि प्रोत्साहन दिने नीति ल्याउनु पर्छ। पस्मिना उद्योगलाई राष्ट्रिय सम्पदाको रूपमा संरक्षण गर्न सरकारले विशेष योजना बनाउनु पर्छ। नेपालको पस्मिना उद्योगलाई चाहिने कच्चा पदार्थ आयातलाई रोक्न संघले सरकारसँग नीति नियमनको प्रभावकारी रुपमा भूमिका खेल्नु पर्दछ।
स्थानीय उत्पादन प्रवर्द्धन
स्थानीय स्तरमा पस्मिना उत्पादनलाई प्रोत्साहित गर्न सहकारी मोडल लागू गर्न सकिन्छ। हिमाली क्षेत्रका किसानलाई च्याङ्ग्राको पालन पोषणका लागि सहुलियत कर्जा दिन सकिन्छ।
मौलिकतालाई प्राथमिकता
सरकार, निजी क्षेत्र र स्थानीय किसानको सहकार्यमा पस्मिना उद्योगलाई पुनः उचाईमा पुर्याउन सकिन्छ। पस्मिना न केवल आर्थिक लाभको स्रोत हो, यसले नेपालको सांस्कृतिक र ऐतिहासिक सम्पदाको पहिचानलाई पनि समेटेको हुन्छ। नेपालमा आउने पर्यटकले खरिद गर्ने वा विदेश निर्यात हुने पस्मिनामा नेपालका विविध सम्पदा, रितिरिवाज, कला संस्कृति झल्किने बुट्टा राखिएको हुन्छ।
जसले नेपालको सम्पदा कला संस्कृति अन्तर्राष्ट्रिय जगतमा पस्मिनाको पोसाक निार्यातमार्फत् पहिचानमा मद्दत भइरहेको छ। यसलाई जोगाउन र भविष्यका पुस्तालाई हस्तान्तरण गर्न सम्बन्धित सबैले प्रयास गर्नुपर्ने हुन्छ।
पस्मिना उद्योगले रोजगारी सिर्जना
पस्मिना उद्योग नेपाली समाजमा ठूलो प्रभाव पारिरहेको छ। विशेषगरी हिमाली क्षेत्रका जनतालाई रोजगारीको अवसर सिर्जना गरेको छ। ग्रामीण महिलालाई पस्मिना उद्योगमा काम गर्ने अवसर प्राप्त भएको छ। जसले उनीहरूको जीवनस्तर सुधार्न महत्वपूर्ण भूमिका खेल्छ।
हालसम्म नेपालमा साना ठूला गरी ५ सयभन्दा बढी उद्योग छन्। काठमाडौं, भक्तपुर, ललितपुर, पोखरालगायत पर्यटकीय क्षेत्रमा करिब १५ सय पस्मिनाका पसल छन्। साथै, विभिन्न तारे होटलहरुमा पनि पस्मिना पसल राखिएका छन्।
पस्मिना उत्पादन गर्न व्यवसायिक च्याङ्ग्रा पालन मुस्ताङ र डोल्पामा मात्रै छ। संघको समन्वयमा सञ्चालित मुस्ताङ र डोल्पाको च्याङ्ग्रा फार्ममा करिब ५०० किसान आवद्ध छन्। मुस्ताङमा करिब ६८ हजार र डोल्पामा ४२ हजार वटा खोप लगाएका च्याङ्ग्रा छन्। मुगु, हुम्ला, जुम्लालगायत जिल्लामा करिब १५ सय किसान जिविकोपार्जनको तबरले च्याङ्ग्रा पालनमा लागेका छन्।
यी सबै गरी नेपालमा रौँ काट्न योग्य करिब ३ लाखभन्दा बढी च्याङ्ग्रा रहेको संघका अध्यक्ष बताउँछन्। ‘च्याङ्ग्राको संख्यालाई ५ सय गुणाले बढाउन सकिए नेपालको पस्मिना उद्योगलाई आवश्यक कच्चा पदार्थको मागलाई पूरा गर्न सकिन्छ,’ संघका अध्यक्ष लामिछाने बताउँछन्।
किसानमैत्री नीति आवश्यक
सरकारले च्याङ्ग्रापालक किसानलाई सहुलियत कर्जा र बिमाको सुविधा दिएर सुरक्षित महसुस गराउन सकिन्छ। साथै, व्यवसायिक फार्म विस्तार गर्न सके नेपाल पस्मिनाको कच्चा पदार्थमा आत्मनिर्भर हुने उनको भनाइ छ।
राज्यले किसानलाई चरनभूमिको उपयोग गर्ने नीति ल्याइदिन सके ठूलो उपलब्धी हुनेछ। पस्मिना उद्योगका लागि आवश्यक कच्चा पदार्थ उत्पादनको चक्र देशभित्रै निमार्ण गर्न कृषि तथा पशुपन्छी, उद्योग तथा वाणिज्य, पर्यटन, अर्थ मन्त्रालयलगायत सम्बन्धित मन्त्रालयले नीति बनाएर सहयोग गर्नुपर्ने देखिन्छ।
मन्त्रालयहरुसँगै यससँग सम्बन्धित विभिन्न विभागहरुको आपसी समन्वय नहुँदा पस्मिना उद्योगको विकासपछि सरेको संघका अध्यक्ष लामिछाने बताउँछन्। ‘स्थानीय, प्रदेश र संघीय सरकार आ-आफ्नै तरिकाले बजेट छुट्याउँछन्। र, चल्छन्। तीन तहका सरकारबीच तालमेल हुँदैन। एउटाले गरेको काम अर्कोले गर्दैन। सरकारी सुविधा दायरामा पर्न कम्पनी दर्ता, स्थायी लेखा नम्बरलगायतका कागजपत्र उपलब्ध नभएकाले किसान राज्यको सुविधाबाट बञ्चित हुनु परेको छ।’ उनले भने।
आर्थिक लाभ
च्याङ्ग्रा प्रायःजसो किसानले मासुको लागि मात्रै पाल्ने र त्यसैको लागि केन्द्रीय हुने गरेको छ। तर, च्याङ्ग्रालाई पस्मिना उत्पादनको लागि विशेष तवरले पालन गर्नुपर्छ। यसबाहेक च्याङ्ग्राले एग्रो कृषि पर्यटनलाई बढाउन सक्छ। कृषि उत्पादनका लागि मल प्रयोग गर्न सकिन्छ।
च्याङ्ग्राको विभिन्न कच्चा उत्पादनबाट डोरी, राडी, टाँक, हतियारको बिड बनाउने र हस्तकलाका सामान बनाउन सकिन्छ। च्याङ्ग्राको छालाबाट झोला, गुणस्तरीय जुत्ता र विभिन्न प्रकारका सामान बनाउन सकिन्छ। च्याङ्ग्राको दूधबाट छुर्पी, घिउलगायतका उत्पादन बनाउन सकिन्छ। जुन बजारमा उच्च माग हुँदै आएको छ। च्याङ्ग्रा पालनले कृषि पर्यटनलाई पनि विकास गराउँछ।
पुनर्जाग्रित पस्मिना उद्योग
सन् १९९८ देखि २००१ सम्म नेपालको पस्मिना निर्यात क्षेत्रलाई सुनौलो समय मानिन्छ। यो समय नेपालको पस्मिना उत्पादनको निर्यात ५ अर्ब रुपैयाँभन्दा बढीको पुगेको थियो। यस अवधिमा उत्पादन क्षमता अत्यन्तै उच्च विन्दुमा थियो। नयाँ रोजगारी सिर्जना भएको थियो। तर, त्यसको केही वर्षपछि लगभग ६५ प्रतिशत निर्यात कम भएको थियो। यसको कारोबार १ अर्ब रुपैयाँमा सीमित भयो। संघको स्थापनापछि नेपाली पस्मिना बजारको छवि पुनः स्थापित गर्न ‘च्याङग्रा पस्मिना’ लोगो अर्थात् ‘ट्रेडमार्क’ सिर्जना गरेर दर्ता भएको छ।
ट्रेडमार्क भनेको कुनै पनि व्यवसाय, उत्पादन वा सेवाको विशेष पहिचानको प्रतीक हो। यो नाम, लोगो, चिन्ह, डिजाइन, अक्षर, शब्द वा यी सबैको संयोजन हुन सक्छ। जुन कुनै उत्पादन वा सेवालाई प्रतिस्पर्धीसँग फरक पार्न प्रयोग गरिन्छ।
पस्मिनालाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान गरिने र सबैभन्दा लोकप्रिय ब्राण्ड बनाउने उद्देश्यले ‘टेडमार्क’ डिजाइन गरिएको संघका निवर्तमान अध्यक्ष दुगड बताउँछन्।