काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कुनै पनि बहानामा पूर्वाधार विकासमा अवरोध नर्गन आग्रह गरेका छन्। उनले विकासलाई राजनीति र धर्मभन्दा माथि राखेर हेर्न राजनीतिक दल तथा आम नागरिकलाई आग्रह गरे।
सरकारले आर्थिक विकासको लागि आन्तरिक तथा बाह्य लगानी भित्र्याउने र लगानीमैत्री वातावरण बनाउने भनिरहेको सर्न्दभमा पछिल्लो समय पूर्वाधारको विकास रोक्न विभिन्न तहबाट भइरहेका गतिविधि खेदजनक रहेको अध्यक्ष ढकालको भनाइ थियो।
काठमाडौंको भृकुटीमण्डपमा बिहीबारदेखि शुरु भएको ‘क्यान इन्फोटेकको ३० औं संस्करणको उद्घाटनको अवसरमा बोल्दै अध्यक्ष ढकालले विकास विरोधी गतिविधिले नेपालमा लगानी निरुत्साहित हुने धारणा राखे।
पाथीभरा केवलकार परियोजनाबारे पछिल्ला समय भइरहेका विरोध तथा टिप्पणीप्रति लक्षित गर्दै उनले भने,'एकातिर हामीले विकासका लागि स्वदेशी तथा विदेशी लगानी भित्र्याउने कुरा गरिरहेका छौँ, अर्कोतर्फ पूर्वाधार विकासमा भइरहेका लगानीलाई विभिन्न बहानामा रोक्ने र नकारात्मक टिप्पणी गर्ने गरेका छौँ। यसबाट लगानीको वातावारण मात्रै बिग्रिने होइन। स्वदेशमै रोजगारी सिर्जना गर्ने र रोजगारकिा लागि विदेशिएका युवालाई नेपालमै रोक्ने अभियानलाई समेत अवरोध गरेका छौँ।'
आफूले नेपालमा रोजगारी सिर्जना होस् भनेर काम गरिरहेको अवस्थामा विभिन्न नाममा विरोध हुनु दु:खद भएको बताउँदै उनले पाथीभरा केवलकार परियोजनाले कुनै धर्म संस्कृतिलाई असर गर्नेभन्दा त्यसको प्रवर्द्धनमा सघाउ पुर्याउने, रोजगारी सिर्जना गर्ने तथा स्थानीय कला संस्कृतिको संरक्षणमा सघाउ पुर्याउने दाबी गरे।
उनले सोही केवलकारको विषयलाई लिएर नेपालको बैंक तथा वित्तीय संस्थालाई समेत अनावश्यक विवादमा तान्ने प्रयास भइरहेको बताउँदै यस्ता गतिविधिले आन्तरिक तथा बाह्य लगानीलाई निरुत्साहित गर्ने बताए।