काठमाडौं। प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा ऋणको भार बढ्नुको मुख्य कारण सरकारको गलत नीति भएको दाबी गरेका छन्।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रचण्डले सरकारको गलत नीतिका कारण आन्तरिक तथा बाह्य ऋणको भार बढ्दै गएको बताएका हुन्। उनले भने, ‘सरकारको गलत नीतिका कारण भावी पुस्तालाई दीर्घकालीन ऋण र करको बोझ थपिएको छ।’
यस्तै, उनले भौतिक, शहरी, खानेपानी जस्ता पूर्वाधार निर्माणका मन्त्रालयको प्रगति न्यून भएको बताएका थिए। उनले सरकारले २० प्रतिशतभन्दा कम मात्रामा काम गर्न सकेको बताएका हुन्।
यस्तै, प्रचण्डले सिद्धबाबा सुरुङबारे प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको दाबीको खण्डन गर्न भ्याए। ‘अस्ति हामीले यो संसदमा सुन्यौँ, पछिल्ला नौ वर्षमा बुटवल-पाल्पा सडक खण्डमा ४२ पटक सवारी दुर्घटना भएर धेरैको ज्यान गएको समाचार पढेर प्रधानमन्त्री जीको आङ सिरिङ भयो। उहाँ भावुक हुनुभयो। अनि उहाँले स्वस्थानीकै शैलीमा सिद्धबाबा सुरुङमार्ग बनाउनुभयो,’ उनले भने।
सम्बोधनका क्रममा प्रचण्डले सरकार पुँजीगत खर्च गर्न पछि परेको बताए। उनले पुँजीगत खर्च जम्मा १६ प्रतिशत मात्रै रहेको उल्लेख गर्दै मन्त्रालयहरूले पुरानो ठेक्काको भुक्तानी र नयाँ आयोजनाको ठेक्का लगाउन नसकेको दाबी गरे।
यस्तै, उनले सरकार सामाजिक सञ्जालसँग डराएर भागेको बताए। ‘ऊ आफ्ना शृङ्खलाबद्ध अपराधसँग डराएको भए आज यो अवस्था आउने थिएन। पछिल्ला सात महिनामा सरकारले जनताको केही सुनेन। त्यसैले आज जनता सरकारलाई नसुन्ने ठाउँमा पुग्यो,’ उनले भने ।
सरकारले पछिल्ला ६ महिनामा जनताको मनमा बस्ने काम नगरेको बताउँदै उनले जनतामा भरोसा जगाउने काम गर्दा कांग्रेस-एमालेका लागि ठूलो आतंक भएको बताए।