काठमाडौं। सरकारले गत माघ १८ गतेदेखि सुरु भएको हिउँदे अधिवेशनमा प्रतिनिधिसभा र राष्ट्रिय सभामा पेस गरेका ६ वटा अध्यादेश आजको बैठकमा निर्णयार्थ पेस नहुने भएको छ।
संसद् सचिवालयले प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेलले आजको प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठकमा ती अध्यादेश निर्णयार्थ पेस गर्ने कार्यसूची आजका लागि तय गरेको थियो।
सरकारसँग प्रतिनिधिसभामा बहुमतको आँकडा भए पनि राष्ट्रिय सभामा बहुमत नपुग्ने स्थिति छ। सोही कारण प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले अध्यादेश पारितका लागि सहयोग गर्न जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसँग केही समयअघि भेटसमेत गरेका थिए।
तर, अध्यादेश पारित गर्न जसपा नेपालले समय मागेपछि अहिले राष्ट्रिय सभा बैठक बसे पनि प्रतिनिधिसभा बैठकको टुंगो लागेको छैन।
अध्यादेश अस्वीकृत गर्न प्रतिनिधि सभामा प्रतिपक्षी दलका सांसदहरूले ५० र राष्ट्रिय सभामा १६ वटा अस्वीकृत प्रस्ताव दर्ता गरेका थिए।
आज संसद् बैठक दिउँसो १ बजेका लागि बोलाइएमा अहिलेसम्म सुरु भएको छैन।
कानुनमन्त्री अजय चौरसियाले सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाललाई भेटेर अध्यादेश निर्णयार्थ पेस गर्ने कार्यसूची आज नराख्न आग्रह गरेका छन्।
राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिमा पनि कानुन मन्त्रीले अध्यादेश आज निर्णयार्थ पेस गर्ने कार्यसूची नराख्न आग्रह गरेका थिए।
अध्यादेशका स्वीकार्न प्रतिनिधिसभामा कांग्रेस र एमालेको मात्रै पनि बहुमत पुग्छ। तर राष्ट्रिय सभामा सत्ता पक्षलाई उपेन्द्र नेतृत्वको जसपा नेपालका ३ सांसदको साथ चाहिन्छ।
जसपा नेपालले अध्यादेशबारे निर्णय गर्न ढिलाइ गर्दा सरकारले अध्यादेश निर्णयार्थ पेस गर्ने समय सार्न दुवै सदनलाई आग्रह गरेको छ।
राष्ट्रिय सभामा देखिएको अंकगणित र जसपा नेपालसँगको छलफल बाँकी रहेकाले सरकारले आज अध्यादेश निर्णयार्थ पेस नगर्ने भएको हो।