काठमाडौं। प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिले नेपालगञ्जदेखि वीरगञ्जसम्मका विभिन्न भन्सार कार्यालय तथा छोटी भन्सार कार्यालयको अस्तव्यस्तता, खुला सिमाना, अन्तरनिकाय समन्वय अभावलगायतले चोरी पैठारी वृद्धि भएको निष्कर्ष निकालेको छ।
समितिका सभापति सन्तोष चालिसेको संयोजकत्वमा माघ ११ देखि १६ गतेसम्म विभिन्न भन्सार कार्यालयको अनुगमन गरिएको थियो। उक्त अनुगमनका क्रममा फेला परेका समस्याबारे समितिमा आज छलफल भएको छ।
छलफलका क्रममा सांसद पदम गिरीले भन्सार नाकाहरु अस्तव्यस्त हुँदा मुलुकले ठूलो राजस्व गुमाएको बताए। 'धेरैजसो भन्सारमा आवश्यक पूर्वाधार छैन। जाँचपास मेसिन नियोजित ढङ्गले बिगारिएका छन्। कर्मचारी, सुरक्षाकर्मी, भन्सार एजेन्ट, व्यापारीको मिलेमतो छ,' उनले भने।
सांसद गङ्गा कार्कीले भन्सार जाँचपास प्रक्रियामा प्रविधिको प्रयोग कमजोर रहेको बताइन्। 'भन्सारमा भएका प्रविधि प्रयोग गरिएको छैन । भन्सारलाई प्रविधिमैत्री बनाउन जरुरी छ,' उनले भनिन्।
सांसद रणकुमारी बलम्पाकी मगरले भन्सार ‘यार्ड’हरुमा हजारौँको सङ्ख्यामा गाडी र मोटरसाइकल थन्किएर बसेको बताइन्। सांसद जुलीकुमारी महतोले भन्सार कार्यालय प्रविधिको प्रयोगबिनै तजबिजीमा चल्ने गरेको बताएकी थिइन्।
सांसद अञ्जली श्रेष्ठले भन्सार कार्यालयका कर्मचारीले जानाजान मेसिन बिगार्ने गरेको अनुगमनका क्रममा भेटिएको बताएकी थिइन्। अर्का सांसद सूर्यबहादुर थापा क्षेत्रीले भन्सार प्रशासनमा पहिलेको तुलनामा केही सुधार देखिए पनि अझै समस्या रहेको बताए।
सांसद अम्मरबहादुर रायमाझीले सीमानाकामा खटिने सुरक्षाकर्मीको सङ्ख्या कम रहेको बताउँदा अर्का सांसद छिरिङ डम्डुल लामा भोटेले भन्सार प्रणालीभन्दा बाहिरबाट बढी सामान नेपाल भित्रिरहेको बताएका थिए।
सांसद ज्ञानेन्द्रबहादुर कार्कीले भन्सारका कर्मचारीले असल नियतले काम गर्दैनन् भन्ने भाष्य बनाइनु गलत रहेको बताउँदै यसलाई थप सुधार गर्नुपर्नेतर्फ ध्यान जान आवश्यक रहेको बताए।
प्रहरी महानिरीक्षक वसन्त कुँवरले मिलेमतोमा तस्करी नरहेको जिकिर गरे। चालु आर्थिक वर्षमा प्रहरीले करिब तीन अर्ब बराबरको सामान नियन्त्रणमा लिएको उनको भनाइ छ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले भारतीय सीमानासँग जोडिएका क्षेत्रमा देशभर १२ सयको हाराहारीमा कर छलीका सामान ओसारपसार गर्ने व्यक्तिहरु रहेको बताए।