काठमाडौं। विवादित निर्माण कम्पनी पप्पु कन्ट्रक्सनले सडक विभागमा ७ अर्ब ३६ करोड ९ लाख रुपैयाँ बढी लागतका ठेक्का लिएर काम अधुरो पारेको छ।
२०६८ जेठदेखि लिएका ठेक्कामा काम नगर्दा ७ अर्ब बढीको काम अलपत्र परको हो। सडक विभागले उपलब्ध गराएको तथ्यांकअनुसार सडक तथा पुल निर्माणका लागि पप्पुले लिएका २४ ठेक्का हालसम्म पूरा हुन सकेका छैनन्।
२४ वटा ठेक्का पप्पु कन्ट्रक्सन एक्लैले मात्र लिएको नभई अन्य निर्माण कम्पनीसँग जोइण्ट भेञ्चर कम्पनी (जेभी)मा लिएको हो। पप्पुलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले पटक-पटक कालोसूचीमा राख्दै आएको छ।
पछिल्लो पटक सन् २०२३ जुन २३ मा कालोसूचीमा परेको पप्पु २०२५ फेब्रुअरी ७ सम्म निरन्तर कालोसूचीमै हुनेछ। कालोसूचीमा परेको कम्पनीले नयाँ ठेक्का लिन पाउँदैन। तर, निर्माणाधीन कामलाई निरन्तरता दिन पाउँछ। सोहीअनुसार पप्पुले काम गर्दै आएको सडक विभागका सूचना अधिकारी अमितकुमार शर्मा बताउँछन्। तर, पप्पुको काम सन्तोसजनक नदेखिएको उनको भनाइ छ।
‘दशक पहिलादेखि लिएको ठेक्का सकिएको छैन। यसलाई निर्माण कम्पनीले काम गरेको छ भनेर विभाग सन्तुष्ट हुन सक्दैन,’ सूचना अधिकारी शर्माले भने। साथै आयोजना स्थलमा समस्या एवं बजेटको अभाव नभई पप्पुले लिएका ठेक्कामा निर्माण कम्पनीकै लापरबाहीले काम सुस्त भएको विभागले जनाएको छ।
पप्पु कन्स्ट्रक्सन पूर्वसांसद एवं संघीय समाजवादी फोरमका नेता हरिनारायण रौनियारको हो। कालोसूचीमा परिरहँदा पनि राजनीतिक आड र भरोसाका कारण पप्पु कन्स्ट्रक्सनले सम्झौताअनुसार काम नगर्ने तथा गरेका काममा कमसल सामान प्रयोग गर्ने इन्जिनियर तथा मन्त्रालय सम्बद्ध कर्मचारीहरु बताउँछन्।
पप्पुसँगको ठेक्का तोड्न पटकपटक खोजे पनि सडक विभाग र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सकेको छैन। राष्ट्रिय स्तरको राजनीतिक आडमा हुर्किएको पप्पु आफु बद्नामी मात्रै भएको छैन, स्थानीयको जनजीविकासँग प्रत्यक्ष जोडिएका आयोजनामा झेल गर्दै सास्ती दिँदै आएको गुनासो बढिरहेको छ।
हाल पप्पुको सडक विभागसँग ठेक्का चलिरहेका २४ वटा छन्। जसमध्ये १८ स्थानमा पुल बनाउने र ६ वटा सडक निर्माणका ठेक्का हुन्। ७ अर्ब ३६ करोड रुपैयाँका ठेक्कामा ३ अर्ब ८६ करोड ११ लाख ८७ हजार रुपैयाँ ६ वटा सडक निर्माणको ठेक्काको हो।
बाँकी ३ अर्ब ४९ करोड ९७ लाख ८४ हजार रुपैयाँ १८ वटा पुल बनाउने रकम हो। ७ अर्ब ३६ करोडमध्ये ५ अर्ब ५२ करोड १३ लाख २३ हजार रुपैयाँ भुक्तानी भइसकेको सडक विभागले जनाएको छ।
सडक विभागसँग पप्पु कन्ट्रक्सनको चालु रहेको सबैभन्दा पुरानो ठेक्का २०६८ जेठ ३० गते हुलाकी राजमार्गमा पर्ने कन्काइ खोला पुल निर्माणको हो। १४ वर्ष बित्दासम्म उक्त पुलको काम ५८ प्रतिशत मात्रै भएको छ। पटकपटक थप भएपछिको म्याद पनि २०८० असारमा सकिएर हाल म्यादविहीन अवस्था छ। २४ मध्ये १४ ठेक्काको म्याद सकिएको छ। एउटा ठेक्का अगामी चैतमा सकिन्छ भने बाँकी ९ वटा ठेक्काको म्याद २०८२ असारसम्म छ। म्याद सकिएका वा बाँकी रहेका सबै ठेक्कामा निर्माणको गति सुस्त छ।
सडक विभागले आयोजना स्थलमा काम गरेको नदेखिएपछि बेलाबेला ठेक्का किन नतोड्ने भनेर सूचना जारी गर्छ। त्यसको केही समय काम गरेर फेरि सुस्त बनाउने प्रवृत्ति पप्पुले निरन्तर दोहोर्याउँदै आएको छ। जसले गर्दा पप्पुसँग जेभीमा काम गरेको अर्को निर्माण कम्पनीलाई समेत समस्या सिर्जना हुन थालेको छ।