केहि दिन पहिलासम्म प्याजको मुल्य बृद्धिले ग्राहकको आँखामा आशु आँउने गर्थ्यो । तर, अहिले प्याजको मुल्यमा भएको अत्याधिक गिरावटले किसानहरुलाई निक्कै चिन्तित बनाएको छ ।
भारतको सबैभन्दा ठूलो प्याजको होलसेल मार्केट लासलगांवमा नयाँ प्याज आउन शुरु भएपछि प्याजको मुल्य घट्न शुरु भएको हो । सोमबार मात्रै मार्केटमा एकै पटक १८ हजार क्विन्टल प्याज आउनासाथ यसको मुल्य प्रति क्विन्टल २२ सय ५० भारु भयो । जसले गर्दा प्याज उत्पादन गर्ने किसानलाई चिन्तित बनाएको छ ।
उनिहरुले प्याजको गिर्दो मुल्यलाई रोक्न भारत सरकारसँग उचित कदम उठाउन माग गरेका छन् । प्याज उत्पादकहरुले सरकारसँग स्टक लिमिट सकाउन तथा भारतले लगाउदै आएको प्याजको निर्यात प्रतिबन्धलाई हटाउन माग गरेका छन् ।
भारतले २०१९ को सेप्टेम्बर देखि डिसेम्बरसम्म प्याजको मुल्यमा भएको अत्याधिक बृद्धि रोक्न स्टक लिमिट तय गर्नुका साथै निर्यातमा प्रतिबन्ध लगाएको थियो ।
महाराष्ट्रको लासलगांवको प्याज गोदाममा डिसेम्बरमा प्रति क्विन्टल ८६ सय २५ रुपैयाँसम्म खरिद बिक्री भएको थियो । तर, अहिले नयाँ उत्पादन बजारमा आएपछि प्याजको मुल्यमा अत्याधिक कमी आएर प्रति क्विन्टल २२ सय २५ रुपैयाँमा आइपुगेको छ ।
लोससभा सांसद भारती पवारले पनि कृषि मन्त्री नरेन्द्र तोमरलाई पत्र लेखेर भारतबाट प्याज निर्यातमा लगाएको प्रतिबन्ध हटाउन माग गरेका छन् । उनी भारतको प्याज उत्पादनको खानी मानिने डिंडोरा लोकसभाका सांसद हुन् ।
हरेक दिन २५ हजार क्विन्टल प्याज
वरिपरिको इलाकाबाट प्याजको आयात बृद्धिभएसँगै लासलगांवमा अहिले जँहातहि प्याज नै प्याज देखिन थालेको छ । यसैबिच आयातित प्याजको धेरै परिमाण कुहिन थालेको छ । खाद्य मन्त्री रामविलास पासवानले केहि दिन अघि मात्र अब सरकारले आयातित प्याज किन्न नसक्ने बताएका थिए ।
स्रोतका अनुसार भारतमा भएको कुल ३० हजार टन आयातित प्याज मध्य चार राज्यले मात्रै २ हजार टन प्याज खरिद भएको थियो । यो बाहेक अन्य प्याज भने कुहिन थालेको छ । पछिल्लो समय भारतमा स्थानिय प्याज नै पाइन थालेपछि उपभोक्ताले विदेशी प्याज किन्न छाडेका छन् ।
आयातित प्याजको स्वाद घरेलुको तुलनामा भिन्न हुने कारण पनि उपभोक्ताको रोजाईमा कम परेको हो । यहि कारण धेरै राज्यहरुमा आयात गर्न शुरु गरेको ठेक्का नै रद्द गरिएको छ । प्याजको थोक मुल्य केहि दिन पहिला १ सय भारु प्रतिकिलो सम्म पाइएको थियो ।
एजेन्सी