काठमाडौं। फाइनान्स समूहमा ५.६७ प्रतिशतको वृद्धि हुँदा पनि सेयर बजार ४.४५ अंकले घटेको छ। साताको कारोबारको चौथो दिन बुधबार फाइनान्स इन्डेक्समा सर्वाधिक अर्थात् ५.६७ प्रतिशतको सुधार हुँदा पनि सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.४५ अंकले घटेर २७११.४५ बिन्दुमा रोकिएको हो।
अघिल्लो कारोबार दिन मंगलबार पनि नेप्से १४.०८ अंकले घटेर २७१५.९१ बिन्दुमा सीमित भएको थियो। यस्तै, सोमबार नेप्से २.४१ अंकले, आइतबार ६९.८० अंकले र गत साताको अन्तिम कारोबार दिन मंगलबार नेप्से २४.५० अंकले बढेको थियो।
आज नेप्सेमा कुल ८ अर्ब ९५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो कारोबार दिन मंगलबार भने ८ अर्ब ८२ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। यस्तै, सोमबारे कुल ११ अर्ब ७१ करोड र आइतबार १२ अर्ब ७७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
बुधबार कारोबारमा आएकामध्ये ११३ कम्पनीको सेयर मूल्य बढ्दा १२२ कम्पनीको घटेको छ। यस्तै, ७ कम्पनीको सेयर मूल्य भने स्थिर छ।
आज उपकार लघुवित्त वित्तीय संस्था र छ्याङ्दी हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा सेन्ट्रल फाइनान्सको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ।
पोखरा फाइनान्समा ९.८१ र समृद्धि फाइनान्समा ९.४६ प्रतिशतको सुधार आएको छ। सामुदायिक लघुवित्त र कर्पोरेट विकास बैंकमा भने नकारात्मक सर्किट लागेको छ।
फाइनान्स समूहमा ५.६७ प्रतिशत, जलविद्युत्मा ०.०४ प्रतिशत र निर्जीवन बिमा समूहमा ०.१९ प्रतिशतको सुधार आएको छ। बैंकिङ समूह ०.२६ प्रतिशत, विकास बैंक समूह ०.९१ प्रतिशत, होटल तथा पर्यटन समूह ०.४८ र लगानी समूह ०.२४ प्रतिशतले संकुचित बनेको छ।