काठमाडौं। उत्तरी क्षेत्रबाट भोजपुर र संखुवासभालाई जोड्ने अरुण नदीको लम्सुवाघाटमा निर्माण भइरहेको पक्की पुल अलपत्र बनेको छ। करिव ४ करोड खर्च भएपछि पुल निर्माण अलपत्र बनेको हो।
लम्सुवाघाटमा २०६७ सालबाट पुल निर्माण थालिएको थियो। छ पिलरको बेस राखेपछि पुल निर्माण १४ वर्षसम्म अलपत्र बनेको षडानन्द ६ का वडाध्यक्ष सुमन विसुन्केले बताए। 'पुल निर्माणको काम १४ वर्षबाट अलपत्र छ,' उनले भने, 'राज्यको करिब ४ करोड खर्चपछि काम अलपत्र पारिएको अवस्था छ। यो पुल बनिदिए स्थानीयबासीलाई राहत हुने थियो।'
कूल १७२ मिटर लामो पक्की पुल निर्माणका लागि काम थालिएको थियो। निर्माणको क्रममा अलपत्र बनेको पुल सम्पन्न गराउन राज्यले ध्यान दिनुपर्ने षडानन्द ६ का स्थानीयबासी सीताराम लम्सालले बताउँछन्।
सम्झौताअनुसार पुल ०७० सालमा सक्नुपर्ने थियो। तर, निर्माण कम्पनीले काममा ढिलाई गरेपछि राज्यको तर्फबाट ठेक्का रद्द गरिएको सडक डिभिजन कार्यालय तुम्लिङटार प्रमुख शुभाञ्जन दाहालले जानकारी दिए।
२०७८ सालमा ठेक्का रद्द प्रक्रियामा गएपछि निर्माण कम्पनीले हालेको मुद्दा कार्यालयको पक्षमा फैसला भएको उनको भनाइ छ। फैसलापछि पनि निर्माण कम्पनीले क्षति पूर्तीको माग गर्दै पुनः अदालतमा रिट दायर गरेको र अदालतले उक्त रिट सदर गरेकाले तीन सदस्य मध्यस्त कर्तामार्फत समस्या समाधन प्रक्रियामा रहेको उनको जानकारी दिए।
'काम नभएपछि राज्यको तर्फबाट ठेक्का रद्ध गरिएको अवस्था हो,' प्रमुख दाहालले भने, 'उक्त विषयमा निर्माण कम्पनीले मुद्दा हालेको अवस्था थियो। दुवै मुद्दा कार्यालयको पक्ष फैसला भएको छ। पुनः निर्माण कम्पनीले क्षति पूर्तीको माग गर्दै रिट हाल्यो। उक्त रिट अदालतले सदर गरेको छ। त्यसको नजिता आएपछि मात्र थप प्रक्रिया अघि बढ्छ।'
अहिले कम्पनीको धरौटी बापतको ७७ लाख रकम रोक्का रहेको उनको भनाइ थियो।