काठमाडौं। मौद्रिक नीति समीक्षाको मिति नजिकिएसँगै सेयर लगानीकर्ताको सक्रियता बढेको छ। मौद्रिक नीतिमार्फत विभिन्न कुराहरु सुधारको माग गर्दै लगानीकर्ता संगठनले भेट कार्यक्रम बढाएका हुन्।
मंगलबार मात्रै पुँजी बजारसँग सम्बन्धित विभिन्न चार संगठनले उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पूर्वअर्थमन्त्री डा. युवराज खतिवडासँग भेटवार्ता गरेका छन्। जनरल इनभेष्टर एसोसिएसन, नेपाल सेयरधनी संघ, साधारण लगानीकर्ता संघ नेपाल र नेपाल धितोपत्र लगानीकर्ता संघले पुँजी बजार सुधारमा काम गर्न आग्रह गर्दै १० बुँदे सुझाव दिएका छन्।
उनीहरुले आईपीओ निष्कासनमा एकरुपता बनाउन माग गरेका छन्। ‘साना तथा मझौला कम्पनीमा हालै भएको व्यवस्था अनुसार न्यूनतम ५०० कित्ताको प्रावधानमा संशोधन हुन जरुरी छ,’ सुझावमा भएिको छ, ‘प्रिमियममा आईपिओ निष्कासनको विधिलाई रोकी उपयुक्त कम्पनीलाई मात्र बुकबिल्डिङ प्रक्रियामार्फत अनुमति दिन हुन जरुरी छ।’
उनीहरुले पुँजीबजारमा सूचीकृत कम्पनीको मूल कानुन कम्पनी ऐन हुने भएकोले अन्य सम्बन्धित निकायले आ–आफ्नो कानुन सोहीअनुसार बनाई लागू हुनुपर्नेमा प्रभाव वा दबाबमा धितोपत्र बोर्ड वा राष्ट्र बैंकजस्ता नियमन निकायद्वारा नियमावली बनाई मूल कानुनसँग नबाझिने गरी लागू गर्न जोड दिएका छन्।
‘लगानीकर्ताको सम्पत्तिसम्बन्धी मौलिक अधिकारलाई कुन्ठित गरी एउटा व्यक्ति तथा परिवारलाई एकल ग्राहक सीमाभित्र राखेर एकाघर परिवारमा बढीमा १५ करोड मात्र सेयर धितो राखी कर्जा लिन पाउने व्यवस्थालाई ब्रोकरमार्फत मार्जिनल्यान्डिङ कार्यान्वयनमा नआएसम्म राष्ट्र बैंकले कर्जामा लिएको क्याप हटाउन पहल गरिदिन आग्रह गर्दछौं,’ लगानीकर्ताले बुझाएको सुझावमा भनिएको छ।
उनीहरुले राष्ट्र बैंकद्वारा सेयर कर्जामा लगाइएको जोखिम भारलाई १२५ प्रतिशतबाट घटाई सबै सेयर धितो कर्जामा १०० प्रतिशत कायम गर्नुपर्ने उल्लेख गरेका छन्। व्यवसायीलाई पलायन गराउने गरी ल्याउन लागिएको बाफिया ऐन लागू गर्नबाट रोक्न पनि उनीहरुले माग गरेका छन्।
पुँजीबजारमा नकारात्मक प्रभाव पार्न सक्ने, जस्तो बैंकहरुमा लगानी बमोजिम लगानीकर्ताको मुख्य योग्यता भनेको कम्पनीको सेयरमा लगानी हुने भएकोले योग्य व्यक्तिलाई कम्पनीहरुको बोर्डमा प्रतिनिधित्व गर्न पाउने अधिकारबाट लगानीकर्तालाई वञ्चित गर्ने खाले ऐनमा भएका विरोधाभाष कानुनी व्यवस्था व्यावहारिक बनाएर लागू गर्न वा साबिककै व्यवस्थालाई निरन्तरता दिन उनीहरुले माग गरेका छन्।
केही दिनअघि पनि लगानीकर्ताले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटर बजार सुधारमा लाग्न आग्रह गरेका थिए।