काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय आर्टिफिसियल इन्टेलीजेन्स (एआई) नीतिको मस्यौदा सार्वजनिक गरेको छ। मस्यौदामाथि आवश्यक राय, सुझाव उपलब्ध गराउन मन्त्रालयले मस्यौदा सार्वजनिक गरेको हो।
मन्त्रालयले सार्वजनिक गरेको १९ पृष्ठको नीतिमा नीति, रणनीति कार्यनीति, संस्थागत संरचनालगायतका विषय समेटिएका छन्।
एआईलाई विभिन्न क्षेत्रमा प्रयोग गर्न, अनुसन्धान एवं विकासलाई व्यापकता दिन, सुशासन र सार्वजनिक सेवा सुधार गर्न, नयाँ व्यापारिक अवसर सिर्जना गर्न, नवप्रवर्तनलाई प्रवर्द्धन गर्न र उक्त प्रविधिवाट हुनसक्ने जोखिम न्यूनीकरण गर्न नीतिगत व्यवस्था गर्न सरकारले नीति ल्याउन लागेको जनाएको छ।
डाटाको सहज पहुँच, डाटा इकोसिस्टमको निर्माण, एआई.साक्षारता तथा दक्षता अभिवृद्धि गर्दै दीर्घकालीन रुपमा शिक्षा, स्वास्थ्य, यातायात, पर्यटन, कृषि, वित्त, प्राकृतिक प्रकोप व्यवस्थापन, कला, मनोरञ्जन लगायतका क्षेत्रमा एआईको प्रयोग मार्फत आर्थिक, सामाजिक रूपान्तरण गर्न सक्ने देखिएको बताइएको छ।
सुरक्षित एवं दिगो एआई इकोसिस्टमको निर्माणका लागि कानुनी र संस्थागत व्यवस्था गरिने, आवश्यक पुर्वाधार निर्माण एवं डाटा व्यवस्थापन गरिने, अध्ययन, अनुसन्धान, नवप्रवर्तन र उद्यमशीलतालाई प्रवद्र्धन गरिने, जनशक्ति उत्पादन, क्षमता अभिवृद्धि र निरन्तर उपयोगिताको वातावरण चक्र निर्माण गरिने नीति उद्देश्य छ।
मस्यौदामा एआईको नियमनका लागि एआई नियमन परिषद्को प्रस्ताव गरिएको छ, जसमा सञ्चार तथा सूचना प्रविधि मन्त्री अध्यक्ष हुने प्रस्ताव गरिएको छ।
परिषद् सचिवालयको रूपमा राष्ट्रिय एआई केन्द्रले काम गर्नेछ। साथै एआईको अध्ययन, अनुसन्धान र विकासका लागि संघ र प्रादेशिक स्तरका विश्वविद्यालय तथा एआईसँग सम्बन्धित अनुसन्धान संस्थाहरूमा एआई एक्सिलेन्स सेन्टर स्थापना गरिने समेत मस्यौदमा उल्लेख गरिएको छ।
राष्ट्रिय एआई केन्द्रको काम, कर्तव्य र अधिकारका विषयमा पनि नीति बोलेको छ। नीतिमा केन्द्रले राष्ट्रियस्तरमा एआईको विकास र प्रयोगलाई नियमन गर्ने, विकास र प्रयोगका लागि विभिन्न निकायमा सञ्चालन हुने कार्यक्रम तथा क्रियाकलापको प्रभावकारी कार्यान्वयनमा समन्वय, सहजीकरण, तथा मूल्यांकन गर्ने, राष्ट्रिय स्तरमा एआईको विकास र प्रयोगलाई प्रवर्द्धन गर्ने उल्लेख छ।
यस्तै, एआईको अनुसन्धान तथा विकासलाई प्रोत्साहन गर्ने तथा आवश्यकता अनुसार विश्वविद्यालय तथा संघ संस्था सहितका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासंग समन्वय तथा सहकार्य गर्ने, एआईको महत्व र आवश्यकताका सम्बन्धमा सचेतना अभिवृद्धि गर्ने, एआईको विषयमा तालिम, क्षमता अभिवृद्धि लगायतका कार्यक्रमहरु सञ्चालन गन, एआईसँग सम्बन्धित बस्तु तथा सेवा को गुणस्तर तथा मापदण्ड तर्जुमा गर्ने नीतिमा उल्लेख छ।
एआई प्रविधिमा नवीनतम अनुसन्धान र विकास गर्ने, विद्यार्थी र अनुसन्धानकर्ताको लागि एआई सम्बन्धी सीप विकास गर्न तालिम र कार्यशाला सञ्चालन गर्ने, डाटा गोपनीयता, नैतिकता र पारदर्शितालाई प्राथमिकता दिँदै एआईको अनुसन्धान र विकासमा प्रयोग हुने डाटाको व्यवस्थापन गर्ने, नीति निर्माणका लागि आवश्यक सुझाव र सिफारिस प्रदान गर्ने काम केन्द्रले गर्नेछ।