काठमाडौँ। सिद्धार्थ हस्पिटालिटीले ‘क्यान्सरविरुद्धको खाना’ अभियान सुरु गरेको छ। सिद्धार्थ ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्ण न्यौपानेले विश्व क्यान्सर दिवसका अवसरमा माघ २२ गतेदेखि अभियान सुरु गरिएको घोषणा गरेका हुन्।
'क्यान्सरविरुद्धको खाना अभियान सफल पार्न विभिन्न प्रवर्द्धनात्मक कार्यक्रम तय गरिएको छ। जसमा पोषणयुक्त खाना, क्यान्सरबारे जानकारसँग वर्कसप र पोडकास्ट, समुदायको संलग्नता, स्वास्थ्य विज्ञसँगको साझेदारी र सहकार्य, कर्मचारीका लागि तालिम र सामाजिक सञ्जालमार्फत सचेतना अभियान शीर्षकमा कार्यक्रम सञ्चालन गरिने छ,' सिइओ न्यौपानेले भने।
सिद्धार्थ हस्पिटालिटीका अनुसार खानामार्फत क्यान्सर रोगविरुद्ध लड्न जागरुकता जगाउनका लागि ‘विशेष स्वस्थकर मेनु’को तयार गरिने छ। ताजा फलफूल, हरियो सागपात, अन्न, ओमेगा ३ युक्त खाना, एन्टी इन्फ्लेमेटरी मसलाभएको खानालाई क्यान्सर रोगविरुद्धका खानाका रुपमा प्रचारप्रसार गरिने छ।
अभियानमा सेफहरुले स्वस्थकर खाना कसरी पकाउने भनेर प्रत्यक्ष रुपमा जानकारी दिने छन्। अभियानअन्तर्गत सिद्धार्थ हस्पिाटलिटीअन्तर्गतका होटल तथा रेष्टुरेन्टका डाइनिङ टेबलमा पोषण खानासम्बन्धी जानकारी दिने कार्ड राखिने छन्।
साथै, क्यान्सर रोग विशेषज्ञसँग कार्यशाला र पोडकास्ट अन्तर्वार्ता पनि सञ्चालन गरिने छ। जसमा पोषण तथा क्यान्सरविद्सँग योजनाबद्ध खानपान, अस्वस्थकर खाद्यपदार्थ पहिचान तथा सही परिणाममा कसरी भोजन गर्ने विषयबारे जानकारी दिइनुका साथै छलफल गरिने छ। त्यसअवसरमा सहभागीले विज्ञसँग अन्तरक्रियात्मक छलफल गर्न पाउने कम्पनीको भनाइ छ।
क्यान्सरविरुद्ध जनचेतना जगाउने उद्देश्यले समुदायको संलग्नतालाई पनि प्राथमिकता दिइने छ। यस अभियानमा सहभागीले ‘कुक टु कम्ब्याट क्यान्सर’ शीर्षकमा आफूलाई मनपर्ने रेसिपीबारे अरुलाई बताउन सक्ने छन्। उत्कृष्ट रेसिपीलाई सिद्धार्थ हस्पिटालीको मेनुमा समावेश गर्नुका साथै सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गरिने छ।
अभियानअन्तर्गत स्वस्थकर खाना महोत्सव पनि आयोजना गरिने छ। महोत्सवमा क्यान्सर रोगसँग लड्न सहयोग गर्ने खानाको स्टल, स्मुदी बार र सलाद काउन्टरको व्यवस्था गरिने छ।
अभियानका हिस्सामा स्वास्थ्य विशेषज्ञसँगको सहकार्यमा स्वस्थकर मेनुबारे चर्चा गर्दै प्रचारप्रसार गरिने छ भने स्थानीय अर्ग्यानिक किसानसँगको साझोदारीलाई दिगोपना र स्वास्थ्य प्रवर्द्धन गरिने कम्पनीले जनाएको छ।
सिद्धार्थका अनुसार अभियानकै क्रममा हस्पिटालिटीमा कार्यरत सेफ तथा कर्मचारीलाई यसबारे जानकारी प्रदान गरी होटल तथा रेष्टुरेन्टमा आउने ग्राहकलाई क्यान्सरसँग लड्न मद्दत गर्ने खाना सेवनका लागि प्रोत्साहन गरिने छ।
अभियानलाई सफल पार्न सामाजिक सञ्जालमार्फत क्यान्सर रोगीका लागि लाभदायक खानाका परिकार र रेसिपीको प्रचारप्रचार तथा प्रवर्द्धन गरिने छ। उपभोक्तालाई भिडियो, इन्फ्रोग्राफ र रेसिपीमार्फत जानकारी दिइने छ।
अभियानका मुख्य आकर्षक तथा महत्वपूर्ण विषयवस्तु र विज्ञको प्रचारप्रसार गरिने छ। यस अभियानलाई प्रवर्द्धन गर्नका लागि सिद्धार्थ हस्पिटालिटीले विभिन्न मेनुमा विशेष छुटको अफरसमेत सुरु गर्ने कम्पनीको भनाइ छ।