काठमाडौं। नबिल बैंकले कतारमा रहेका नेपाली आप्रवासी श्रमिकलाई लक्षित गरी सुरक्षित बैंकिङ कारोबारसम्बन्धी चेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ। कतारको र्याडिसन ब्लु होटलमा आयोजित ‘घर त नेपाल’ शीर्षकको कार्यक्रममा एक सयभन्दा बढी नेपाली आप्रवासी सहभागी थिए।
नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड र नबिल स्टक डिलर लिमिटेडको समन्वयमा आयोजित कार्यक्रममा नबिल बैंकका विभिन्न विभागका प्रतिनिधिले रेमिट्यान्स, निक्षेप, डिजिटल बैंकिङ, कर्जा तथा लगानीका साथै वित्तीय सचेतना, वित्तीय सेवाको उपयोग, बचत र लगानीका सम्बन्धमा अन्तरक्रियात्मक छलफल गरेका थिए। कार्यक्रममा विदेशबाट फर्किएका नेपाली कामदारको उद्यमशीलता प्रवद्र्धन गर्ने उद्देश्यले ल्याइएको ‘नबिल दक्ष प्रवासी उद्यमशील कर्जा’बारे जनकारी दिइएको थियो।
त्यस अवसरमा कतारका लागि नेपाली राजदूत रामेशचन्द्र पौडेलले औपचारिक माध्यमबाट रकम नेपाल पठाउँदा नेपालको सम्रग अर्थतन्त्रलाई फाइदा पुग्नेबारे जानकारी दिँदै पैसा पठाउँदा औपचारिक माध्यमको प्रयोग गर्न आग्रह गरे।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले नेपाल र कतार दुवै देशको अर्थतन्त्रको विकासमा नेपाली श्रमिकहरुको महत्वपूर्ण योगदान रहेकामा जोड दिए। उनले कतारको मोबाइल प्रयोग गरी अनलाइनमार्फत बैंकमा खाता खोल्न, कर्जाका लागि आवेदन दिन तथा बैंकअन्तर्गतका अन्य कम्पनीमार्फत एसआईपी, म्युचुअल फण्ड र शेयर बजारमा लगानी गर्न सकिने उनको भनाइ थियो।
गैरआवासीय नेपाली संघ (एनआरएनए), कतारका अध्यक्ष रमेश भट्टले प्रवासी समुदायमा वित्तीय सचेतनाको आवश्यकतामा जोड दिए।
कार्यक्रमको सफलताका लागि नेपाल व्यवसाय संघ कतारका अध्यक्ष महेन्द्रप्रसाद चम्लागाईको महत्वपूर्ण योगदान रहेको थियो। कार्यक्रमको अन्त्यमा स्ट्यान्डअप कमेडियन सुमन कार्कीले प्रस्तुति दिएका थिए।