काठमाडौं। आज नेपाल आइपुगेका बेलायती राजकुमार दम्पती एक सातासम्म काठमाडौंमा रहनेछन्। बेलायती रानी एलिजाबेथ द्वितीयाका कान्छा सन्तान अर्थात् वर्तमान राजा चाल्र्स तृतीयाका कान्छा भाइ राजकुमार एडवार्ड र राजकुमारी सोफियाले नेपाल भ्रमणका क्रममा विभिन्न ठाउँ घुम्नेछन्।
राजकुमार एडवार्ड बेलायती राजगद्दीको उत्तराधिकारीमध्ये १५औं नम्बरमा छन्। सन् २०२५ मा नेपाल भ्रमण गर्ने उनी पहिलो अति विशिष्ट विदेशी पाहुना बनेका छन्।
राजकुमार दम्पतीको नेपाल भ्रमणलाई विश्वले नजिकबाट नियाल्दै आएको छ। खासगरी बेलायती पर्यटकलाई राजुकमारको यो भ्रमणपछि अझ धेरै नेपाल आउन बाटो खुला हुनेछ।
अति विशिष्ट विदेशी पाहुनाको रुपमा रहेकाले राजकुमार दम्पतीको सुरक्षा जिम्मा नेपाली सेनाले लिएको छ। त्यहीअनुसार सुरक्षा दिइरहेको छ। बेलायतबाट पनि उनको सुरक्षाका लागि बेलायती सेना एक साताअघि नै नेपाल आएका छन्। उनको भ्रमण हुने स्थान काठमाडौं र पोखरामा सुरक्षाका लागि बेलायती सेनाले काम गरिरहेको छ।
राजकुमार दम्पती नेपालमा रहँदा धेरैको चासो कहाँ जान्छन्, कहाँ–कहाँ बस्छन् भन्ने पनि हुन्छ। उनीहरु जहाँ–जहाँ पुग्छन्, त्यहाँको चर्चा विश्वभरसमेत पुग्छ। त्यसैले पनि उनिहरुको बसाइँ र घुमाइको गन्तव्यबारे चर्चा–परिचर्चा हुने गरेको छ।
सामान्यतया विदेशी पाहुना आउँदा काठमाडौंकै लक्जरी पाँचतारे होटलमा बसोबास हुने गरेको छ। त्यहीअनुसारले बसाइ व्यवस्थापनसमेत गरिएको हुन्छ।
तर, यसपटकको भ्रमणको बसाइ भने पृथक हुनेछ। स्रोतका अनुसार बेलायती राजकुमार जोडीको बसाइ कुनै पाँचतारे होटलमा नभई गेस्टहाउसमा हुनेछ। लैनचौरमा अवस्थित बेलायती दूतावासभित्रै रहेको सुविधासम्पन्न गेस्टहाउसभित्र राजकुमार दम्पतीको बसाइ हुने छ।
हालसम्म प्राप्त जानकारी अनुसार उनीहरुको बसाइ काठमाडौंमा रहँदा दूतावासको गेष्टहाउसमा हुनेछ भने पोखरा भ्रमणको क्रममा पनि ब्रिटिस क्याम्पभित्रकै गेष्टहाउसमा हुनेछ।
बेलायती राजकुमार दम्पतीकै इच्छा र चाहनाअनुसार दूतावासले बसोबासका लागि पाँचतारे होटल व्यवस्थापन नगरी गेस्टहाउसमै तयारी गरेको स्रोतले बताएका छन्। यसअघि पनि बेलायतबाट आउने उच्च अधिकारीहरु तिनै गेस्टहाउस बस्ने गरेका थिए।
काठमाडौंका एक पाँचतारे होटल सञ्चालकका अनुसार बेलायतबाट आउने उच्चपदस्थ व्यक्तित्व प्रायः दूतावासले नै व्यवस्थापन गरेको गेस्टहाउसमा बस्दै आएका छन्र्। राजकुमार दम्पतीको भ्रमणले विश्वको पर्यटन बजार चहलपहल गराए पनि होटल क्षेत्रका लागि भने आम्दानी हुने देखिँदैन।
सामान्यतया विदेशी पाहुँना आउदा होटलका धेरै कोठा बुक हुने गरेका थिए। त्यो आधारमा हेर्ने हो भने होटलका लागि राजकुमार दम्पतीको भ्रमण प्रत्यक्ष रुपमा लाभदायी नहुने ती सञ्चालकको भनाइ छ। ‘उहाँहरु होटलमा नबसे पनि भ्रमणपछि बेलायती पर्यटक बढ्छन् भन्ने हाम्रो अपेक्षा हो,’ ती सञ्चालकले भने।
सोफिया आइपुगिन्, राजकुमार आउँदै
बेलायती राजकुमार एडवार्डकी श्रीमती सोफिया काठमाडौं आइपुगेकी छन्। कतार एयरमार्फत उनी बिहान त्रिभुवन विमानस्थलमा अवतरण गरेकी हुन्।
राजकुमार एडवार्ड भने केही समयपछि काठमाडौंमा अवतरण हुनेछन्। उनी दिल्लीबाट नेपाल आउनेछन्। नेपाल आएलगत्तै राजकुमार दम्पतीले दिउँसो पौने ४ बजे राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतलनिवासमा भेटेर पुनः लैनचौर फिर्ता हुनेछन्। भ्रमणका क्रममा उनीहरु नेपाली सेनाको हेलिकोप्टरबाट अन्नपूर्ण हिमशृंखला नियाल्न जानेछन्।
राजकुमार दम्पतीले पोखराको घान्द्रुक घुम्ने, ब्रिटिस गोर्खा क्याम्पमा जाने तालिका रहेको बेलायती सञ्चार माध्यमले उल्लेख गरेका छन्। उनीहरू पहिलो पटक नेपाल भ्रमणमा आएका हुन्। ६ दिनसम्म नेपाल भ्रमणमा रहने बेलायती राजकुमार दम्पती माघ २७ बेलुकी स्वदेश फर्किनेछन्।