काठमाडौं। सरकारी स्वामित्वको नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) ले एक वर्षमा ६ अर्ब २३ करोड खुद नाफा आर्जन गरेको छ। टेलिकमले आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको कुल आय ४२ अर्ब ११ करोड र खुद मुनाफा ६ अर्ब २३ करोड छ, जुन अघिल्लो वर्षको तुलामा केही कमी रहेको छ।
२१औं वार्षिकोत्सव अवसरमा टेलिकमले उक्त विवरण सार्वजनिक गरेको हो।
समग्र अर्थतन्त्रका सूचकाइ नकारात्मक रहेको अवस्थामा पनि कम्पनीले मुनाफा आर्जन गरेको छ भने चालू आर्थिक वर्षको पौष मसान्तसम्म कम्पनीले करिब २० अर्ब १२ करोड आय आर्जन गरिसकेको छ, जसले वित्तीय लक्ष्य हासिल गर्न सकिने संकेत गरको छ।
आव ०७९/८० मा कम्पनीले कर तथा शुल्क, दस्तुर, लाभांश, ग्रामीण दूरसञ्चार विकास कोष र रोयल्टी एवं घोतमा कट्टीकरबापत आफ्नो कुल आयको ६४.०३ प्रतिशत अर्थात् २८ अर्ब ४६ करोड सरकारी कोषमा योगदान पुर्याएकोमा समीक्षा अवधि आव ८०/८१ मा कुल ४१ अर्ब ५९ करोडको योगदान पुर्याएको थियो भने चालू आर्थिक वर्षको पुससम्म कम्पनीले १० अर्ब ८१ करोडभन्दा बढी योगदान गरिसकेको छ।
कम्पनीले समाजको विकासमा र राष्ट्रिय अर्थतन्त्रमा पुर्याएको योगदानस्वरुप विगत आव २०७२/७३ देखि राष्ट्रिय स्तरमा सम्मानित हुँदै आएको जनाएको छ।
फोरजीको पहुँच देशभर विस्तार गर्दै सहर केन्द्रित फाइभजीमा लाग्छौंः अध्यक्ष भण्डारी
कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीले फोरजिको पहुँच देशभर पुर्याउन आवश्यक भएको बताएका छन्।
‘फोरजी पहुँच विस्तार जतिसक्दो छिटो बढाएर जान आवश्यक छ। देशभर नै फोरजिको पहुँच बढाउन मन्त्रालयले नै निर्देशन दिएकाले त्यसमा हामीले काम गर्नेतर्फ केन्द्रित हुनुपर्छ’, अध्यक्ष भण्डारीले भने, ‘आम्दानी बढ्ने हिसाबमा मुख्य सहर केन्द्रित हुँदै फाइभजीमा काम गर्न आवश्यक छ।’
उनले सेवा विस्तारको कार्यमा टेलिकमलाई सहयोग गर्नुपर्ने ठाउमा सहयोग गर्न तयार रहेको र सहकार्यका लागि निरन्तर काम गरिरहेको उनको भनाइ छ। उनले अब टेलिकम अपरेटर मात्र नभएर डिजिटल अपरेटर बन्न आवश्यक भएको बताए।
‘अहिले व्यवसायिक इन्टेलिजेन्स निकै कठिन अवस्थामा रहेको देखिन्छ। यस्तो अवस्थामा व्यावसायिक इन्टेलिजेन्सका टुल्समा लगानी गरेर जान आवश्यक छ’, अध्यक्ष भण्डारीले भने, ‘टेलिकमको व्यवसाय इन्टरनेट सेवाप्रदायकतर्फ सिफ्ट भएकोले अब बिजनेस कसरी बढाउने भन्ने विषय सोच्न आवश्यक छ।’ उनले जनसंख्याको ठूलो हिस्सा बाहिर जाँदा त्यसको असर टेलिकमको व्यापारमा परेको उनको तर्क छ।