काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले म्याग्दीको समग्र विकासमा प्राथमिकता दिने बताएका छन्। म्याग्दी पुगेको अध्यक्ष दाहालले बेनी नगरपालिका–४ सिंगा र तातोपानीमा आयोजित कार्यक्रममा भौतिक पूर्वाधार र पर्यटन विकासलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका हुन्।
उनले भने, ‘६ वर्षअघि पनि म तातोपानी कुण्डमा परिवारसहित आएको थिएँ। त्यसबेला जिल्लाबासीले उठाएको बेनी–दरवाङ–ढोरपाटन सडक, तातोपानी कुण्डको संरक्षण, प्रवर्द्धन र नदी नियन्त्रणसम्बन्धी केही योजनामा बजेट व्यवस्थापन गरेर थालेका कामलाई निरन्तरता दिएका छौं।’
पूर्वप्रधानमन्त्री दाहालले दोस्रो कार्यकालमा प्रधानमन्त्री हुँदा बेनी–दरवाङ, बेनी–जोमसोम–कोरला, बेनी बजार संरक्षण योजना सुरु गराएको स्मरण गर्दै पछिल्लो कार्यकालमा तातोपानीको बस्ती संरक्षणका लागि विनियोजन गरेको दुई करोड बजेटबाट १० करोडको बहुवर्षीय योजना कार्यान्वयन सुरु भएकामा खुसी व्यक्त गरे।
उनले बेनी–दरवाङ सडकको प्रमुख समस्या बनेको फापर खेतीको पहिरोको विकल्पमा म्याग्दी नदीमा बेलीब्रिज जडानका लागि पहल गर्ने प्रतिबद्धता जनाए। सो अवसरमा गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली, हरिबहादुर भण्डारी, बेनी नगरपालिका–४ का वडाध्यक्ष अणबहादुर खड्का (भगवान), सिंगा तातोपानी कुण्ड व्यवस्थापन समिति अध्यक्ष कृष्ण खड्काले सिंगा र तातोपानीको विकास निर्माणलगायत विषयमा जानकारी गराएका थिए।
दाहालले सिंगा सहिर परिवार भेट्नुका साथै स्थानीय किसानको गुनासो सुने। किसानले कृषिलाई प्रविधियुक्त, बजारमा सहज पहुँच र उत्पादनमा आधारित अनुदानको व्यवस्था मिलाउन माग गरेका थिए। दाहालले आफू प्रधानमन्त्री हुँदा कृषि अनुदानका लागि सात अर्ब बजेट विनियोजन गरेको जनाउँदै कार्यान्वयन अवस्थाबारे सरकारको ध्यानाकर्षण गराउने बताए।