काठमाडौं। ग्लोबल आइएमई बैंकले इन्फोडेभलपर्स प्रालिले विकास गरेको बजेट सूचना व्यवस्थापन प्रणाली ‘बजेट ३६०’ प्रयोगमा ल्याउने भएको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र इन्फोडेभलपर्सका स्ट्राटेजी एन्ड इनोभेसन निर्देशक उमेश रघुवंशीले सम्झौतामा हस्ताक्षर गरे। उक्त सफ्टवेयरले बैंकको बजेट तथा योजना तर्जुमामा क्षमता बढाएर स्रोत परिचालनमा सहयोग पुग्नेछ।
प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बैंकिङ इकोसिस्टममा बजेट ३६० को प्रयोगले बैंकको बजेट र योजना क्षमतामा वृद्धि हुनुको साथै स्रोतको उपयुक्त परिचालन सुनिश्चित गर्न, बैंकको वित्तीय उद्देश्य पूरा गर्न र वित्तीय व्यवस्थापनमा प्रभावकारी निर्णय लिन मद्दत गर्ने विश्वास व्यक्त गरे।
इन्फोडेभलपर्सका स्ट्राटेजी एन्ड इनोभेसन निर्देशक रघुवंशीले यो सफ्टवेयरले बैंकको वित्तीय योजनालाई सरल बनाउन र डेटा–आधारित निर्णय लिन सहयोग पुग्ने जानकारी दिए।‘बजेट ३६०’ स्वचालित रूपमा वित्तीय व्यवस्थापन गर्ने एक आधुनिक वित्तीय व्यवस्थापन प्रणाली हो।
इन्फोडेभलपर्सले विकास गरेको यो सफ्टवेयरमा स्वचालित लक्ष्य निर्धारण, रियल–टाइम रिपोर्टिङ, निरन्तर ट्रयाकिङलगायतको सुविधा जडित प्रणाली हो। यो प्रणाली कुनै पनि कोर बैंकिङ सिस्टम (सीबीएस) सँग सहज रुपमा इन्ट्रिगेट गरेर जान सकिने गरी डिजाइन गरिएको छ।
कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, सहायक प्रमुख कार्यकारी अधिकृत चन्द्रराज शर्मा र इन्फोडेभलपर्सका कर्पोरेट म्यानेजर सुवास पौडेल उपस्थित थिए।
हाल बैंकले ३५५ शाखा, ३७९ एटिएम, २३७ शाखारहित इकाइ, ६९ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयबाट बैंकिङ सेवा दिँदै आएको छ।