काठमाडौं। नेपालमै पहिलो पटक बन्न लागेको सिग्नेचर ब्रिज शिलान्यासको १० महिना बित्दासम्म निर्माण सुरु भएको छैन।
पूर्व–पश्चिम राजमार्गमा पर्ने चितवनको नारायणी नदीमा पहिलोपटक नयाँ डिजाइनको पुल बनाउन २०८१ वैशाख ३० मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले शिलान्यास गरे पनि हालसम्म काम सुरु हुने टुंगो नलागेको हो।
सडक विभाग मातहतको पुल महाशाखाले तुँदी कन्स्ट्रक्सनसँग १ अर्ब ६८ करोड ७६ लाख रुपैयाँ लागतमा ४२० मिटर लामो सिक्नेचर ब्रिज निर्माणको सम्झौता गरेको छ। २०८० जेठ १९ गते ठेक्का सम्झौता भए पनि निर्माण कम्पनीले डिजाइन तयार गरेर पुल महाशाखाले स्वीकृत गर्दा करिब एक वर्ष लागेकाले २०८१ वैशाखमा मात्रै शिलान्यास भएको बताइएको थियो।
२०८१ वैशाख ३० मा सिग्नेचर ब्रिज शिलान्यास गर्दै तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल, फाइल तस्बिर
सम्झौताअनुसार एक वर्षमा डिजाइन तयार र तीन वर्ष निर्माण अवधि गरी ४ वर्ष (२०८४ जेठ) मा नारायणी नदीको सिग्नेचर ब्रिज तयार हुने भनिएको छ।
गत वैशाखमा डिजाइन तयार गरिएको भने पनि कन्सेप्ट मात्रै बनेको पुल महाशाखाका सिनियर डिभिजनल इन्जिनियर (सिडिई) अमितकुमार बर्मा बताउँछन्। ब्रिजको ‘डिजाइन’ फाइनल नहुँदै असोज बाढीले निर्माणमा बाधा परेको उनले दाबी गरे।
‘हामीले थाहा पाएदेखि अहिलेसम्म त्यस्तो ठूलो बाढी आएकै थिएन। निर्माण गर्न लागेको पुलमा त्यस्तो जोखिमलाई पनि ख्याल गरेर डिजाइन तयार गर्न भनेका थियौं,’ सिडिई बर्मा भन्छन्, ‘फागुनसम्म फाइनल डिजाइन तयार हुन्छ होला।’
अहिलेसम्म नेपालमा बनेका पुल सय वर्षसम्मको अवस्थालाई अध्ययन गरेर डिजाइन भएका छन्। तर, असोज बाढीपछि सिग्नेचर ब्रिजलाई दुई सय वर्षसम्मको भविष्यलाई हेरेर डिजाइन तयार भइरहेको छ। अर्थात्, दोहोर्याएर डिजाइनमा काम भइरहेको छ।
हाल ब्रिज निर्माण स्थलको भौगोलिक अवस्था र पानीको विषयमा अध्ययन सकिएको छ। अब पुलको डिजाइन मात्रै बनाउन बाँकी रहेको र असोजको बाढीले नारायणी नदी किनाराको वरपर पुर्याएको क्षति एवं बहावलाई हेरेर फागुनसम्म तयार हुने दाबी उनको छ।
सिग्नेचर ब्रिजले नदीमा चल्ने बोटरबोटलाई असर नगर्ने, दुई सय वर्षसम्म नदी क्षेत्रमा हुने प्राकृतिक विपत्तिले असर नपुग्नेजस्ता विषयलाई ख्याल गरिएको छ। सिग्नेचर ब्रिज नेपाल र नेपाली प्राविधिकका लागि पहिलो भएकाले डिजाइनको काम गर्न निर्माण कम्पनीले तेस्रो पक्षलाई जिम्मेवारी दिएको छ।
तुँदी कन्स्ट्रक्सनले भारतीय प्राविधिकलाई डिजाइन तयारी गर्न लगाएको छ। उक्त डिजाइन उपयुक्त भए/नभएको जाँच चिनियाँ प्राविधिकले गर्नेछन्। डिजाइन जाँच गर्ने काम सरकारी निकाय पुल महाशाखाको हो।
महाशाखाले स्वीकृत गरेपछि मात्रै नियमानुसार तुँदि कन्स्ट्रक्सनले ब्रिज निर्माण सुरु गर्न पाउँछ। यद्यपि नारायणी नदी किनारमा निर्माण कम्पनीले साइट क्लियरेन्स र क्याम्प बनाउने तयारी गरिरहेको थियो।
हाल सञ्चालनमा रहेको पुलसँगै जोडिएर माथिल्लो भागमा दिुई लेनको सिग्नेचर ब्रिज बन्नेछ। यद्यपि पूर्व–पश्चिम राजमार्ग ४ लेन र एसियन हाइवेका रुपमा विकास गरिँदै छ। चार लेनको सडकमा दुई लेनको ब्रिजले मात्रै सवारी चलाउन सहज नहुने भएपछि फेरि अको सिग्नेचर ब्रिज बनाउने तयारीमा पुल महाशाखा छ।
हाल बनेको पुलभन्दा १.२ किलोमिटर टाढा अर्को सिग्नेचर बनाउन आन्तरिक रुपमा डिजाइन बनाउँदै गरेको महाशाखाको भनाइ छ। नेपालका प्राविधिकले नयाँ डिजाइन एवं प्रविधि सिकाउन पनि डिजाइन नेपालमै तयार गर्न लागिएको हो। यद्यपि कहिलेसम्म डिजाइन तयार भएर निर्माण चरणमा जान्छ भन्ने प्रस्ट छैन।