काठमाडौं। नेपाली बजारमा भारतीय रुपैयाँ (भारु)अभाव भएको छ। पछिल्लो एक महिनाको बीचमा भारु माग उच्च भएसँगै नेपाली बजारमा सटहीका लागि हाहाकार भएको हो।
खासगरी भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा हिन्दु धर्मावलम्बीको महाकुम्भ मेला सुरु भएसँगै नेपालीहरु ठूलो संख्यामा त्यसतर्फ गइरहेका छन्। पुस २९ गतेदेखि सुरु भएको महाकुम्भ मेला फागुन १४ सम्म चल्नेछ।
प्रत्येक १२ वर्षमा लाग्ने मेलामा नेपालबाट ठूलो संख्यामा भक्तजन महाकुम्भ मेला स्थल प्रयागराज गइरहेका छन्। सोही कारण नेपाली भक्तजनले भारु रकम सटही गरेर लैजाँदा बजारमा अभाव देखिएको हाे। एकैसाथ ठूलो संख्यामा नेपालबाट भारतमा महाकुम्भ मेलाका लागि जाँदा रकम साट्नेहरु बढेकाले बजारमा भारु अभाव भएको हो।
भारतमा नेपाली रकम नचल्ने र सटही गरेर जानुपर्ने भएकाले पनि बजारमा भएका सबै भारु नेपाली रुपैयाँसँग साटिँदा अभाव सिर्जना भएको बताइन्छ। महाकुम्भ मेला जाने श्रद्धालुले फर्किंदासमेत केही सामान किनेर ल्याउन भारु धेरै लग्ने गरेका छन्। सोही कारण बजारमा भारु अभाव भएको हो।
भारु अभाव हुँदा सटही समस्या भएको महाकुम्भ मेला जान लागेका भक्तजनको भनाइ छ। भारतका केही ठाउँमा नेपाली रकम चले पनि महाकुम्भ मेला सञ्चालन भइरहेको स्थलमा भारु मात्रै चल्ने गरेको छ। सोही कारण नेपालीले अनिवार्य भारु बोकेर जानुपर्ने बाध्यता रहेको ती भक्तालु बताउँछन्।
१०० को १६५ दिँदासमेत पाइँदैन भारु
नेपाल राष्ट्र बैंकको स्थिर विनिमय दरअनुसार नेपाली बजारमा भारु १०० को नेपाली १६० रुपैयाँ हुन्छ। बैंक तथा वित्तीय संस्थामा कारोबार हुँदा १०० रुपैयाँ भारुको १६० रुपैयाँ हुन्छ। तर, १०० को १६५ रुपैयाँसम्म दिँदा पनि साट्ने रकम नभएको गुनासो बढ्न थालेको छ।
बैंक तथा वित्तीय संस्थामा भारतीय रकम अभाव हुदा खुद्रा सटहीसमेत महंगो हुन थालेको छ। बैंकमा भारु अभाव भएपछि बाहिर साट्दा थप ५ रुपैयाँ बढी दिँदासमेत पाउन मुस्किल हुन थालेको कुम्भ मेला जाने तयारी गरेका यात्रुको गुनासो छ।
४० करोड भक्तजन पुग्लान्?
प्रत्येक १२ वर्षमा आयोजना हुने यो मेला यसपटक विशेष महत्त्वको रहेको छ। महाकुम्भ मेला संसारकै सबैभन्दा ठूलो धार्मिक, सांस्कृतिक आध्यात्मिक जमघट पनि हो। महाकुम्भ मेला धार्मिक उत्सव मात्र नभएर आस्थाको महासागर हो।
१२ वर्षे कुम्भ मेला १२ पटक आयोजना भएपछि महाकुम्भको चक्र पूरा हुन्छ। अतः यसपटक यस्तो संयोग परेको हो। महाकुम्भलाई भारतको आत्मा पनि भनिन्छ।
समुद्र मन्थनको पौराणिक कथाअनुसार अमृत भरिएको कलशका लागि देवता र असुरबीच द्वन्द्व भयो। यो द्वन्द्वका क्रममा हरिद्वार, प्रयागराज, उज्जैन र नासिकमा अमृत खस्यो। यी अमृत खसेका ठाउँमै पालैपालो महाकुम्भ मेला लाग्छ। अमृतले सिञ्चित भएका यी क्षेत्रका गंगा, यमुना, सरस्वती नदीमा महाकुम्भको समय स्नान गर्दा पाप नासिने र मोक्ष प्राप्त हुने विश्वास छ।
यस वर्ष महाकुम्भमा दुर्लभ ज्योतिषीय संयोग परेको छ, जुन १४४ वर्षमा मात्र देखा पर्छ। यो अद्वितीय संयोगले मेलामा डुबुल्की लगाउन भक्तजनको आकर्षण बढाएको छ। महाकुम्भमा विश्वभरबाट ४० करोड बढी श्रद्धालु सहभागी हुने अपेक्षा गरिएको छ।