काठमाडौं। ग्वार्कोफ्लाई ओभर निर्माण विवादमा सरकारी निकायका प्रमुखको सरुवा भएको छ। निर्माणमा असहयोगको गुनासो कम्पनीले गरेपछि सडक विभाग मातहतको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख प्रभातकुमार झाको सरुवा भएको हो।
सडक विभाग स्रोतले भन्यो, ‘झा सरको सरुवा ग्वार्कोफ्लाई ओभर निर्माणमा उत्पन्न विवादले भन्ने बुझिएको छ।’ तर, विभागका उपमहानिर्देशक एवं प्रवक्ता अर्जुनप्रसाद अर्याल भने कर्मचारीको सरुवा नियमित प्रक्रिया भएको दाबी गर्छन्।
‘तपाईंसँग बोल्दाबोल्दै मेरो सरुवा भएको हुन सक्छ। त्यसैले झा सरको सरुवा फ्लाईओभरकै कारण भयो भन्न मिल्दैन,’ क्यापिटल नेपालसँग प्रवक्ता अर्याल भन्छन्, ‘१५/२० दिनदेखि फिल्डमा काम सुस्त भएको थियो। विभाग प्रत्यक्ष नजोडिने भएकाले धेरै वास्ता भएन। अहिले त्यही विषयमा छलफल गर्न लागेका छौं।’
निर्माण स्थलमा एकपटक गरिसकेको काममा शंका गर्ने, पटक–पटक परीक्षण गर्न लगाउनेजस्ता व्यवहार अनुसन्धान केन्द्रका निर्देशक झाले गरेको आरोप निर्माण कम्पनीको छ। निर्देशक झा भने आइतबारबाट आफ्नो सरुवा भएकाले फ्लाईओभरको विषयमा केही नबोल्ने बताउँछन्।
गुणस्तर अनुसन्धान विकास केन्द्रले फ्लाईओभर निर्माणका लागि आशीष/समानान्तर÷रेलिगेरको जोइन्ट भेन्चर कम्पनी (जेभी) सँग २०७८ माघमा ठेक्का सम्झौता गरेको थियो। १७ करोड ६ लाख रुपैयाँमा भएको सम्झौताअनुसार २ वर्षमा काम सम्पन्न गर्नुपर्ने भए पनि हालसम्म ८० प्रतिशत मात्रै काम भएको छ।
२०८० फागुन ११ गते सकिएको म्यादमा १० महिना थप गरी २०८१ पुस ८ गतेसम्म पुर्याइएको थियो। तोकिएको समयमा पनि काम नभएपछि इन्जिनियरिङ प्रोक्युमेन्ट एन्ड कन्स्ट्रक्सन (इपीसी) मोडलको सम्झौताअनुसार प्रतिदिन ठेक्का रकमको ०.०५ प्रतिशत हर्जना सरकारलाई बुझाएर व्यवसायीले काम गर्ने तयारी थियो। तर, हर्जना तिर्नु परेपछि व्यवसायीले काम सुस्त बनाउँदै गएको छ।