काठमाडौं। अनलाइन सट्टेबाजी गराएको आरोपमा प्रहरीले २४ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा १० भारतीय र १४ नेपाली रहेको नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
पक्राउमा परेकाले ललितपुरको सानेपामा दुई घर भाडामा लिएर अनलाइन सट्टेबाजी कारोबार गर्दै आएको कार्यालयका एसपी काजीकुमार आचार्यले जानकारी दिए। उनीहरुले विभिन्न एपमार्फत अनलाइन जुवा खेलाउने उनीहरुले पछिल्लो ६ महिनामा ३ अर्ब ४ करोड ७३ लाख रुपैयाँको कारोबार गरेको भेटिएको छ।
भारतीयले सञ्चालन गरेको ८ वटा बेटिङ एपमार्फत उनीहरुले सट्टेबाजीमा गराएको आरोप छ। प्रहरीले पक्राउ परेकाबाट ३ वटा मोबाइल र एक एकवटा ल्यापटप बरामद गरेको छ।
प्रहरीले उनीहरुविरुद्ध सट्टेबाजी, क्रिप्टो र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान सुरु गरेको छ। पक्राउ पर्नेमा भारतीय नागरिक अजित कुमार, मुकेश मण्डल, मनोजकुमार बजाज, सुमित खत्री, प्रभातकुमार शाह, ओमप्रकाश खत्री, रविप्रकाश विश्वकर्मा, रवि अभिषेक ओझा, शिवम पाण्डे र मनोज कुमार छन्।
त्यस्तै, पक्राउ पर्ने नेपाली नागरिकमा टंकबहादुर पछाई, तेज बोगटी, लक्ष्मण विष्ट, अविनाश जिसी, हरिबहादुर जिसी, समिर खड्का, विक्रम पछाई, अशोक जिसी, भीष्म ओली, हेमन्त लोहनी गौतम, गोपाल विष्ट, सुजन जिसी, हेमन्त धामी र रवि विष्ट रहेको प्रहरीले जनाएको छ।