काठमाडौं। निर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्प प्रशासनले ९० दिनका लागि विश्वव्यापी विदेशी सहायता र विकास सहयोगमा रोक लगाएलगत्तै अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) को वेबसाइट बन्द गरिएको छ। यस्तै, संस्थाका सुरक्षा निर्देशक जोन वुरहिस, उनका डेपुटीसहित दर्जनौं युएसएआईडी अधिकारीलाई बिदामा राखिएको छ।
विश्वमा अमेरिकी पहुँचलाई टेवा दिँदै आएको संस्था युएसआइडी विघटन विघटन गर्न लागिएको अड्कलबाजी भइरहेका बेला एजेन्सीमा कार्यरत सिंगो संयन्त्रलाई बिदामा राखिएको हो।
शनिबारदेखि युएसआइडीको वेबसाइट बन्द गरिएपछि अमेरिकी कंग्रेसमा डेमोक्र्याटहरूले ट्रम्प प्रशासन स्वतन्त्र एजेन्सीका रूपमा युएसएआइडीलाई समाप्त पार्ने र यसलाई विदेश विभागमा समाहित गर्ने दिशातर्फ अघि बढ्न लागेको भन्दै चिन्ता व्यक्त गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
युएसआइडी अमेरिकी कंग्रेसअन्तर्गतको कोषबाट सञ्चालित स्वतन्त्र एजेन्सी हो। ट्रम्पसँग संस्था विघटन गर्ने कुनै अधिकार अधिकार नभएको र यसले अमेरिकाको सुरक्षामा सघाउँदै आएको डेमोक्र्या सांसदको दाबी छ।
ट्रम्प र रिपब्लिकन सदस्यहरूले भने अधिकांश विदेशी सहायता र विकास कार्यक्रम बन्द गरिनुपर्ने बताउँदै आएका बेला युएसआइडी विघटन गरिन लागेको हो कि भन्ने शंका उब्जिएको छ।
ट्रम्प प्रशासनले अमेरिकाले मानवीय विकास र सुरक्षा सहायताअन्तर्गत विश्वका कैयौं देशलाई उपलब्ध गराउँदै आएको अर्बौं डलर बन्द गरेको दुई सातापछि अमेरिका युएसएआइडीविरुद्ध थप कडा प्रशासनिक कारबाही गर्ने दिशामा जाने देखिएको छ। मानवीय सहायताका हसाबले अमेरिका अहिलेसम्म विश्वकै सबैभन्दा ठुलो दाता हो। तर, उसले आफ्नो बजेटको १ प्रतिशतभन्दा कम विदेशी सहायतामा खर्च गर्छ, जुन समग्रमा अन्य कैयौं देशको तुलनामा कम अनुपात हो।
राष्ट्रपति जोन एफ केनेडीले सोभियत प्रभावको प्रतिरोध गर्न शीतयुद्धको उत्कर्षमा युएसएआइडी स्थापना गरेका थिए। अमेरिकी कांग्रेसले सन् १९६१ मा विदेशी सहायता ऐन पारित गरेको थियो र केनेडीले त्यो कानुनमार्फत युएसएआइडीलाई स्वतन्त्र एजेन्सीका रूपमा स्थापित गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए।
युएसएआइडीका कर्मचारीले शुक्रबार र शनिबार च्याट समूहमा यो संस्थाको आगामी भविष्यको अनुमान गर्दै बिताएका थिए। उनीहरू यो संस्थाको झन्डा र प्रतीक चिह्न अझै पनि वासिङ्टनस्थित मुख्यालयमा छन् वा छैनन् भनेर अद्यावधिक गरिरहेका थिए। शनिबार अबेरसम्म ती जस्ताका तस्तै थिए।
सामाजिक सञ्जाल एक्सको एक पोस्टमा डेमोक्र्याट सिनेटर क्रिस मर्फीले कार्यकारी आदेशद्वारा कंग्रेसले संघीय एजेन्सीलाई राष्ट्रपतिले हटाउन नसक्ने र यो कदमले संवैधानिक संकटलाई दोब्बर बढाउने बताएका छन्।
अमेरिकी सरकारको उक्त कदमको प्रशंसा गर्दै इलन मस्कले युएसएआइडी लक्षित ‘कार्यकारी आदेशबाट बाँचेको र कार्यकारी आदेशबाटै अवसान भएको’ बताएका छन्।
ट्रम्पले आफ्नो कार्यकालको पहिलो दिनमै अर्थात् जनवरी २० मै विदेशी सहायतामाथि ९० दिनका लागि तत्काल रोक्का गरिने घोषणा गरेका थिए। यो घोषणसँगै विश्वभर हजारौं कार्यक्रम बन्द भएका थिए र हजारौं कर्मचारीले रोजगारी गुमाएका थिए।
विदेशमन्त्री मार्को रुबियोले बिहीबार अमेरिकाको राष्ट्रिय हितमा नभएका कार्यक्रमलाई बन्द गर्ने दिशामा समीक्षा भइरहेको तर एजेन्सीका रूपमा युएसएडलाई खारेज गर्नेबारे गृहकार्य भइरहेको विषयमा केही बताएका थिएनन्।
यो एजेन्सीमार्फत उपलब्ध गराइने मानवीय र विकास सहायताले साझेदार देशको अर्थतन्त्रलाई स्थिर पार्न मद्दत गरेर अमेरिकालाई सुरक्षित बनाएको वा पैसाको बर्बादी हो भन्ने विषयमा विवाद रहँदै आएको थियो।
एलोन मस्कको डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसियन्सी एक्सेस सिस्टमका अधिकारीको आदेश अस्वीकार प्रयास गरेपछि अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोगका दुई शीर्ष सुरक्षा अधिकारीलाई शनिबार राती प्रशासनिक बिदामा राखिएको थियो।
स्रोतका अनुसार मस्कले निर्माण गरेको कार्यालयका कर्मचारीले वासिङ्टन डिसीस्थित युएसएआईडीको मुख्यालयमा भौतिक रूपमा प्रवेश गर्ने प्रयास गरेका थिए।
टेक अर्बपति मस्क युएसआइडीप्रति सकारात्मक नरहेको हुँदा राष्ट्रपति ट्रम्पले एक स्वतन्त्र संघीय एजेन्सी यूएसएआईडीलाई खारेज गर्न र यसलाई अमेरिकी विदेश विभागमा गाभ्न चाहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्।
राष्ट्रपति ट्रम्पले सरकारको दक्षता विभाग (डग) नेतृत्वमा नियुक्त गरेका मस्कले आज मात्रै युएसआइडीलाई ‘अपराध संगठन’ को संज्ञा दिएका छन्। उनले भनेका छन्, ‘युएसआइडी एजेन्सी मर्नुपर्छ।’
ह्वाइट हाउसमा डेपुटी चिफ अफ स्टाफका रुपमा काम गर्ने स्टिफन मिलरजस्ता ट्रम्पका अन्य उच्च अधिकारीले पनि युएसएआईडीको कार्यबल अत्यधिक प्रजातान्त्रिक भएको आरोप लगाउँदै यसको आलोचना गरेका छन्।
शनिबार युएसएआईडीको वेबसाइट गरिएपछि नयाँ पेज स्टेट डिपार्टमेन्टको वेबसाइटमा राखिएको छ। यूएसएआईडीको एक्स अकाउन्ट पनि शनिबार अफलाइन भएको छ।
नेपालमा पनि युएसआईडीका विभिन्न कार्यक्रम सञ्चालनमा छन्। हालका लागि यी कार्यक्रम बन्द गरिएको केही दिनअघि अर्थ मन्त्रालयलाई पत्र पठाउँदै नेपालस्थित युएसआईडी कार्यालयले जनाएको थियो।–एजेन्सीको सहयोग