काठमाडौं। पुस मसान्तसम्मको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.४१ प्रतिशत कायम भएको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार २०८१ पुस महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.४१ प्रतिशत रहेको छ।
अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.२६ प्रतिशत रहेको थियो। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.६७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.१९ प्रतिशत रहेको छ। अघिल्लो वर्ष सोही अवधिमा यी समूहहरुको मुद्रास्फीति क्रमशः ५.७५ प्रतिशत र ४.९३ प्रतिशत रहेको थियो।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क २८.५२ प्रतिशत, घ्यू तथा तेलको १०.६७ प्रतिशत, दाल तथा गेडागुडीको ९.४८ प्रतिशत र खाद्य तथा खाद्यजन्य पदार्थको ७.२३ प्रतिशतले बढेको छ भने मरमसला उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ३.१२ प्रतिशतले घटेको छ।
गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ९.३५ प्रतिशत, मदिराजन्य पेय पदार्थको ७.०१ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ६.७५ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणको ५.२९ प्रतिशतले बढेको छ।
समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ५.६८ प्रतिशतले बढेको छ भने सहरी क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ५.३१ प्रतिशतले बढेको छ।
प्रदेशगत रुपमा समीक्षा महिनामा कोशी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.७३ प्रतिशत, मधेश प्रदेशको ५.९६ प्रतिशत, बागमती प्रदेशको ५.१४ प्रतिशत, गण्डकी प्रदेशको४.३७ प्रतिशत, लुम्बिनी प्रदेशको ४.८३ प्रतिशत, कर्णाली प्रदेशको ४.६० प्रतिशत र सुदूरपश्चिम प्रदेशको ५.६७ प्रतिशत रहेको छ।
समीक्षा महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.०३ प्रतिशत, तराईको ५.६० प्रतिशत, पहाडको ५.४१ प्रतिशत र हिमालको ५.२७ प्रतिशत रहेको छ। २०८१ पुस महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ४.०१ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.३६ प्रतिशत रहेको थियो।
समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति क्रमशः ६.९२ प्रतिशत, २.५५ प्रतिशत र ३.१४ प्रतिशत रहेको छ। समीक्षा महिनामा निर्माण सामाग्रीको थोक मुद्रास्फीति ४.२८ प्रतिशतले घटेको छ।