काठमाडौं। ६ महिनामा कुल आन्तरिक कर्जा १ं.२ प्रतिशतले बढेको छ। चालू आर्थिक वर्ष २०८१÷८२ को ६ महिनामा कुल आन्तरिक कर्जा १ं.२ प्रतिशतले बढेको हो। अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा २.६ प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८१ पुस मसान्तमा यस्तो कर्जा ४.८ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार समीक्षा अवधिमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दाबी १८.७ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी ८.३ प्रतिशतले घटेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८१ पुस मसान्तमा यस्तो दाबी ७.१ प्रतिशतले घटेको छ।
समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ५.४ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी ४.५ प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८१ पुस मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ६.९ प्रतिशतले बढेको छ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप २३९ अर्ब ६ करोड (३.७ प्रतिशत) ले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ३७७ अर्ब ७ करोड (६.६ प्रतिशत) ले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८१ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ९.९ प्रतिशतले बढेको छ।
२०८१ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ५.६ प्रतिशत, ३४.१ प्रतिशत र ५२.५ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६.८ प्रतिशत, २६.७ प्रतिशत र ५९.९ प्रतिशत रहेको थियो।
२०८१ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३५.५ प्रतिशत रहेको छ। २०८० पुस मसान्तमा यस्तो निक्षेपको अंश ३६.६ प्रतिशत रहेको थियो।