काठमाडौं। पछिल्लो केही वर्षदेखि बंगलादेशले सूचना प्रविधि क्षेत्रबाट ठूलो आर्थिक उपार्जन गरिरहेको छ। खासगरी बंगलादेशले फ्रिलान्सिङ र रिमोट वर्किङका माध्यमबाट देशलाई आईटी क्षेत्रको उदाउँदो मुलुकको रुपमा स्थापित गराउँदै लगेको हो।
अक्सफोर्ड इन्टरनेट इन्स्टिच्युटले हालै गरेको एक अध्ययनअनुसार बंगलादेश अनलाइन कामदारको दोस्रो ठूलो आपूर्तिकर्ता हो, जसले १६ प्रतिशत श्रमिक हिस्सा ओगटेको छ। पहिलो. स्थानमा रहेको भारतले २४ प्रतिशत हिस्सा लिएर बसेको छ।
यकिन तथ्यांक नभए पनि विभिन्न अध्ययन प्रतिवेदन र विज्ञहरुको आकलनलाई हेर्ने हो भने बंगलादेशमा १० लाख बढी अनलाइबाट काम गर्नेछन्, जसमध्ये ६ लाख ५० हजार आईटी क्षेत्रमा छन्। यो समूहले वार्षिक १ अर्ब डलर आम्दानी गरेको बताइन्छ। बंगलादेशी सफ्टवेयर र आईटी–सक्षम सेवा फर्मले चार महादेशका ५० बढी देशमा ग्राहकलाई सेवा दिइरहेका छन्।
आईसीटी–आधारित नागरिक सेवाहरूको द्रुत विस्तार र निजी क्षेत्रको आईसीटी नेतृत्वको उत्पादकता र दक्षता वृद्धिको बढ्दो जागरूकताका कारण बंगलादेशले घरेलु बजार विस्तारमा लगातार काम गरिरहेको छ।
बंगलादेशको आईटी बजारको झन्डै आधा अर्थात् ४७ प्रतिशत हिस्सा विभिन्न सफ्टवेयर विकास फर्म, ३४ प्रतिशत मल्टिफंक्सनल र आईटीईएस कम्पनीले र बाँकी १९ प्रतिशत व्यापार प्रक्रिया आउटसोर्सिङ र ई–कमर्स फर्मद्वारा साझेदारी गरिएको छ। स्थानीय सञ्चार माध्यमका अनुसार ५ हजार बढी आईटी विशेषज्ञ आईटी उद्योगमा काम गरिरहेका छन्, जो मुख्य रूपमा अनुकूलित सफ्टवेयर विकास र मर्मतसम्भारको काममा लागि परेका छन्।
बंगलादेशको आईटी क्षेत्रले विकसित परिदृश्यमा भौगोलिक सीमा पार गर्दै फ्रिलाइन्सिङमा मात्रै ठुलो उपलब्धि हासिल गरेको छ। विश्व व्यापार संगठनको ‘विश्व व्यापार प्रतिवेदन २०२३’ को प्रतिवेदनमा हेर्ने हो भने पनि बंगलादेशले विश्वव्यापी फ्रिलान्सिङ समुदायको १४ प्रतिशत हिस्सा ओगटेको छ। यसबाट पनि आईटी क्षेत्रले बंगलादेशलाई डिजिटल सेवा क्षेत्रमा महत्त्वपूर्ण खेलाडीको रूपमा स्थापित गराएको सन्देश दिन्छ।
बंगलादेशमा फ्रिलान्सिङ र रिमोट वर्किङको विस्तार हरेक वर्ष तीव्र गतिमा भइरहेको छ, जसको पर्याप्त र ठोस जानकारी उसले प्राप्त गर्न नसकेको बताइन्छ। बंगलादेशी आईटी उद्योगले सन् १९९० दशकमा व्यापार प्रक्रिया आउटसोर्सिङ ट्रेनमैै काम गर्दै सफ्टवेयर निर्यात सुरु गर्न थालेका थिए। तीमध्ये धेरैले हालसम्म कम्प्युटर प्रोग्राम निर्यात समावेश गर्दै आफ्नो व्यवसाय विस्तारमा फड्को मारिसकेका छन्।
सरकारले सन् २०२४ सम्म आईटी क्षेत्रमा लाग्ने सबै कर माफ गरिसकेको छ। उदाहरणका लागि, यदि कुनै व्यक्तिले सफ्टवेयर निर्यात गर्दछ भने उसले कर माफी प्राप्त गर्नबाहेक १० प्रतिशत प्रोत्साहन प्राप्त गर्दछ।
अन्तर्राष्ट्रिय अनलाइन श्रम बजारमा बंगलादेशको महत्वपूर्ण स्थान छ। विश्व बैंक र अक्सफोर्ड इन्टरनेट इन्स्टिच्युटले गरेको अध्ययन प्रतिवेदनअनुसार बंगलादेशबाट अमेरिका, बेलायत जस्ता देशका ग्राहकलाई सेवा दिइरहेका छन्। बंगलादेशमा खोलिएका ११ उच्च प्रविधि (आईटी) पार्कमा १५ अर्ब बीडीटी लगानी गरिएको छ। सन् १९९८ मा डिजिटल अर्थतन्त्रको मूल्य जम्मा २६ मिलियन डलर मात्र थियो जसले हाल वार्षिक १.४ बिलियन डलर नाघेको छ।
राज्यले दक्ष जनशक्ति विकास गरी सन् २०२५ सम्ममा आईसीटी निर्यात ५ अर्ब डलर र आईसीटी उद्योगमा रोजगारी ३० लाख पुर्याउने अपेक्षाअनुसार काम गरिरहेको छ। बंगलादेश एसोसिएसन अफ सफ्टवेयर एन्ड इन्फर्मेशन सर्भिसेस (बेसिस) का अध्यक्ष रसेल टी अहमदका अनुसार आरएमजी र रेमिट्यान्सपछि आईटी क्षेत्र देशको तेस्रो आर्थिक मोटर बन्ने सम्भावना छ। देशको आईटी उद्योग २०३१ सम्म लगभग ३० बिलियन डलरको हुन सक्ने अनुमान बंगलादेशमा भइरहेको छ।
ग्लोबल लोकेशन सर्भिस इन्डेक्सका अनुसार बंगलादेश आईटी आउटसोर्सिङका लागि २१ औं स्थानमा छ र विश्वभर आईटी फ्रीलान्सरहरूको दोस्रो ठूलो उत्पादक हो। आईसीटीले देशको जीडीपीमा १.२८ प्रतिशत योगदान दिएको छ र ३ लाखभन्दा बढी प्रत्येक्ष रोजगारी सिर्जना गरेको छ।
बंगलादेशमा हाल सफ्टवेयर क्षेत्रबाट वेबसाइट विकास र डिजाइन, मोबाइल एप्स, गेम, एप्लिकेसन प्लेटफर्म, वीओआईपी एप्स, डाटा एन्ट्री, ग्राफिक डिजाइन, प्रि–प्रेस, डिजिटल डिजाइन, सपोर्ट सर्भिस, कस्टमाइज एप्लिकेसन डेभलपमेन्ट, मर्मतसम्भार सेवा प्रवाह भइरहेको छ।
राज्यको सहयोग कस्तो छ?
बंगलादेशले धेरै पहिले डिजिटल राष्ट्रको रूपमा विश्वव्यापी रूपमा प्रवेश गरेको थियो। यद्यपि, डिजिटल बंगलादेश निर्माण राष्ट्रको समग्र विकास र पहुँचमा समयसापेक्ष र आवश्यक प्रयास भएको छ।
सूचना प्रविधि क्षेत्रलाई उत्प्रेरित गर्न र यसको विकासलाई अगाडि बढाउन राज्य र जनताले विभिन्न पहल अवलम्बन गरिरहनु सराहनीय छ। सरकारले सन् २०२४ सम्म आईटी क्षेत्रमा लाग्ने सबै कर माफ गरिसकेको छ।
उदाहरणका लागि, यदि कुनै व्यक्तिले सफ्टवेयर निर्यात गर्दछ भने उसले कर माफी प्राप्त गर्नबाहेक १० प्रतिशत प्रोत्साहन प्राप्त गर्दछ। स्वदेशी सफ्टवेयर प्रयोगमा कर्पोरेट कर घटाउने र विदेशी सफ्टवेयरको प्रयोगमा कर बढाउने नीति तर्जुमा गर्ने प्रयास उच्च तहमा भइरहेको छ। यस्ता नीतिगत निर्णयले आईटी उद्योगको विस्तारलाई बंगलादेशी सरकारले झनै प्रोत्साहित गरिरहेको छ।
आईटी जनशक्तिको स्थिति
बंगलादेशी शिक्षण संस्थाबाट हरेक वर्ष सूचना प्रविधि (आईटी) अध्ययन गरेका २५ हजार स्नातकहरू उत्पादन हुने गरेका छन्। ढाकास्थित नेपाली राजदूतावासले सूचना प्रविधिको क्षेत्रमा नेपाल तथा बंगलादेशबीच सहयोग अभिवृद्धि गर्ने उद्देश्यले गत साता आयोजित एक अन्तरक्रियालाई सम्बोधन गर्दै एक उद्यमीले उक्त जानकारी गराएका थिए।
बंगलादेश एसोसिएसन अफ सफ्टवेयर एण्ड इन्फरमेसन सर्भिसेज (बेसीस) का अध्यक्ष रसेल टी अहमदले बंगलादेश सरकारले सन् २००९ मा ‘डिजिटल बंगलादेश’ अभियान घोषणा गर्दा बंगलादेशले सूचना तथा सञ्चार प्रविधिमा आधारित सेवा निर्यात गरी झन्डै तीन करोड डलर आम्दानी गरेको बताए। अहिले त्यस्तो आम्दानी वार्षिक १ अर्ब ५० करोड डलर पुगेको जानकारी उनले दिएका थिए।
बेसिस विश्लेषणअनुसार अमेरिकामा आधारित ग्लोबल टेक दिग्गज र केही आईटी नेतृत्वमा रहेका देशले अब एसियाली क्षेत्रमा आईटीसम्बन्धी सेवाका लागि भारतको विकल्प खोजिरहेका छन्। यसले बंगलादेशलाई थप अवसर दिएको बताइन्छ। त्यहाँको आईसीटी क्षेत्रले खेलेको महत्त्वपूर्ण भूमिका बुझ्न बेरोजगारीको बृहत् तस्विर पनि हेर्न आवश्यक छ।
बंगलादेशमा वार्षिक २० लाखभन्दा बढी मानिस श्रम बजारमा प्रवेश गर्ने अनुमान गरिएको छ। देशको जनशक्तिको ५ प्रतिशत मात्रै सार्वजनिक क्षेत्र (सरकार, स्वायत्त वा स्थानीय सरकार) मा कार्यरत छन् र बाँकी ९५ प्रतिशत निजी क्षेत्रमा छन्। फलस्वरूप, उच्च शिक्षा पूरा गरेपछि धेरैजसो सरकारी जागिरको लागि वर्षौं कुर्ने पनि छन्। अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) का अनुसार बंगलादेशमा युवा बेरोजगारी दर हाल १०.६ प्रतिशत छ जुन राष्ट्रिय बेरोजगारी दर ४.२ प्रतिशतभन्दा दोब्बर हो।
अध्ययनअनुसार विश्व बैंकले विश्वविद्यालयका विद्यार्थीको मूल्यांकन गर्दा तीन वर्षदेखि काम खोज्ने ४६ प्रतिशत स्नातक बेरोजगार रहेको पत्ता लगाएको थियो। एक्सनएडद्वारा गरिएको सर्वेक्षणअनुसार भर्खरै विश्वविद्यालय स्नातकमध्ये ४६% भन्दा बढी बेरोजगार छन्।
बेलायती पत्रिका इकोनोमिस्टको इकोनोमिस्ट इन्टेलिजेन्स युनिटले गरेको अर्को अध्ययनमा भारतमा ३३ प्रतिशत, पाकिस्तानमा २८ प्रतिशत, नेपालमा २० प्रतिशत र श्रीलंकामा ७.८ प्रतिशतको तुलनामा बंगलादेशमा ४७ प्रतिशत स्नातक बेरोजगार छन्।
कोरोना महामारीका कारण उच्च शिक्षित बेरोजगार संख्या बढेको थियो। सोही कारणले गर्दा रोजगारीको बजार संकुचित हुँदै जाँदा नयाँ कार्यस्थल सिर्जना हुन सकेको थिएन। तर, अब यो जनशक्तिलाई आईसीटी उद्योगसँग जोडेर सम्बोधन गर्ने योजनामा बंगलादेश सरकार छ। जनशक्ति आधारमा अन्य देशसँग प्रतिस्पर्धा गर्ने विशाल क्षमता पनि बंगलादेशसँग देखिन्छ।
बंगलादेशले केही वर्षदेखि चलाएको युनियन डिजिटल सेन्टर जस्ता कार्यक्रमको कार्यान्वयनमार्फत डिजिटल बंगलादेशमा समावेशी वृद्धि गराएको छ। महिला र पुरुषको समान सहभागितामा यस्ता कार्यक्रमले ठूलो योगदान गरिरहेको छ।
यसले टाढाका समुदायमा इन्टरनेट पहुँच सम्भव बनाएको छ। यसले गर्दा महिला उद्यमीलाई पनि रोजगारी दिएको छ। समावेशी विकास र प्रविधिका कारण बंगलादेशका ग्रामीण घरबाट पनि फ्रिलान्सिङको काम गर्ने सक्ने स्थिति बन्दै गएको छ।
बंगलादेशकै नीति अवलम्बन गरे फड्को मार्न सक्छ नेपाल
पछिल्लो केही वर्षयता नेपालको प्राथमिकतामा पनि आईटी क्षेत्र पर्दै आएको छ। आईटी उद्योगको विकास सँगसँगै रिमोट वर्किङ र फ्रिलान्सिङसम्बन्धी नीति बनाएर अगाडि बढ्नुपर्ने आवाज पनि उठिरहेका छन्। आईटी उद्योगलाई बेरोजगारी न्यूनीकरण र आर्थिक विकासको प्रवर्द्धनका लागि राष्ट्रिय लाभका रूपमा लिइने भएकाले यसमा काम गर्नुपर्ने विषय उठिरहेको छ।
राष्ट्रिय उत्पादन कम भएको, ठूलो व्यापार घाटा बेहोरिरहेको स्थितिबाट माथि उठ्न र विदेशी मुद्रा आर्जन गरी राष्ट्रिय अर्थतन्त्र तथा विदेशी सञ्चिति यसले बलियो बनाउँछ। ‘इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज’ (आईआईडिएस)को एक अध्ययनले नेपालको आईटी क्षेत्रले सन् २०२३ मा ५१ करोड ५० लाख अमेरिकी डलर (साढे ६७ अर्ब रुपैयाँ) बराबरको सूचना प्रविधि सेवा निर्यात गरेको विषय बाहिरिएदेखि नै नेपालमा आईटी क्षेत्रको चर्चाले प्राथमिकता पाए पनि यससँग सम्बन्धित नीतिमा धेरै काम गर्न आवश्यक छ।
यकिन तथ्यांक नभए पनि विभिन्न अध्ययन प्रतिवेदन र विज्ञहरुको आकलनलाई हेर्ने हो भने बंगलादेशमा १० लाख बढी अनलाइबाट काम गर्नेछन्, जसमध्ये ६ लाख ५० हजार आईटी क्षेत्रमा छन्। यो समूहले वार्षिक १ अर्ब डलर आम्दानी गरेको बताइन्छ।
नेपालबाट आईटी वस्तु तथा सेवा निर्यातमा केन्द्रित कम्पनीको संगठन एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनिज् (नास–आईटी)का अध्यक्ष सन्तोष कोइराला नेपालमा बंगलादेशकै नीति अवलम्बन गर्न सके मात्रै फ्रिलान्सिङ, रिमोट वर्किङ र समग्र आईटी क्षेत्रमा फड्को मार्न सकिने बताउँछन्। बंगलादेशले रिमोट वर्किङ र फ्रिलान्सिङलाई प्रोत्साहन गरेकै कारण उसले आईटी क्षेत्रबाट ठुलो आम्दानी गरेको उनको भनाइ छ।
‘बंगलादेशले फ्रिलान्सिङ र रिमोट वर्कलाई धेरै प्रोत्साहन गरेको छ। त्यहाँको सरकारी संयन्त्रमा गएर फ्रिलान्सर भएको विषय दर्ता गर्नुपर्छ। यसपछि उसले परिचयपत्र दिन्छ,’ अध्यक्ष कोइराला भन्छन्, ‘पैसा भित्र्याउने विषयमा पनि आईडी कार्ड भएपछि उसले सहजै ल्याउन पाउँछ। यसरी विदेशी मुद्रा भित्र्याएबापत सरकारले निश्चित प्रतिशत रकमसमेत थप गरिदिन्छ।’
नेपालमा पनि रिमोट वर्किङ र फ्रिलान्सिङ क्षेत्रमा धेरै काम भइरहेकाले सरकारले अन्तर्राष्ट्रिय अभ्यास हेरेर काम गर्नुपर्ने उनको तर्क छ। ‘बंगलादेशले यस क्षेत्रमा धेरै राम्रो काम गरेको छ, जुन किसिमको नीति हाम्रोमा अनपनाइएको छैन,’ कोइराला भन्छन्, ‘नेपालमा बंगलादेशकै नीति अवलम्बन गर्न सके मात्रै हाम्रो ८० प्रतिशत समस्या समाधान हुने देखिन्छ।’