काठमाडौं। लामो समयदेखि शिथिल रहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) एकाएक चम्किएको छ। सामान्य घटबढमा सीमित हुने बजार आइतबार ६९.८० अंक बढेर बन्द भएको छ। सूचक मात्रै बढेको छैन, कारोबार रकमले पनि साथ दिएको छ।
आइतबार फराकिलो अंकले बढेर २७२७.५८ अंकमा आइपुगेको छ। सबै समूहका सूचक बढेका छन्। लघुवित्त समूहको दबदबा देखियो।
९ कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन्। फराकिलो अंकले बढेसँगै नेप्से सूचक सजिलै २७ सयको मनोवैज्ञानिक विन्दुभन्दा माथि जान सकेको हो। नेप्से सूचकसहित कारोबार रकममा पनि उच्च वृद्धि भएको छ ।
बजारले करेक्सन र साइडवेज हुँदै करिब ६ महिना समय व्यतीत गरेको थियो। यसबीचमा ३ हजारको तहमा पुगेको नेप्से घटेर २४ सयकै लेबलमा आयो । पछिल्लो समय नेप्से २७८० को तहसम्म आए पनि त्यसभन्दा माथि जान सकेन ।
अब आइतबारबाट पुनः उच्च कारोबार रकमसहित नेप्से पनि फराकिलो अंकले बढेको छ । अब नेप्सेले पुनः २७८० को लेबललाई पार गर्छ कि गर्दैन, त्यो महत्वपूर्ण हुने देखिन्छ । त्यसो त समग्रमा हेर्दा सेयर बजारले करिब साढे ३ वर्षको वियरिस चक्र पूरा गरिसकेको छ। ३२ सय पुगेको नेप्से यसबीचमा घटेर १८ सयको तहसम्म पनि आयो। निकै लामो समय बजार वियरिस ट्रेन्डमा रहेकाले अब यसले क्रमशः बुलिस बाटो समाउने विश्लेषणहरु भइरहेका छन्।
यतिबेला अधिकांश कम्पनीको दोस्रो त्रैमासको रिपोर्ट पनि आइसकेको छ। धेरैजसो सूचीकृत कम्पनीहरुले लाभांश घोषणा गरी साधारण सभासमेत सम्पन्न गरिसकेका छन्। सेयरधनीको खातामा धमाधम लाभांश पठाउनेक्रम चलिरहेको छ ।
यी कुराहरुलाई लगानीकर्ताले अध्ययन गरिसकेको अवस्था छ । लामो समय बजार घट्दा मूल्य पनि सस्तो भएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता र निकै सस्तो ब्याजदर रहेको अवस्था छ । यी सबै कुराहरुले सेयर बजारमा अब सकारात्मक माहोल आउन सक्ने विश्लेषणहरु भइरहेका छन्।
नेप्से सूचकसँगै कारोबार रकमसमेत बढ्दा बजार बलियो हुँदै गएको अर्थमा बुझ्न सकिन्छ । कारोबार रकम क्रमशः बढ्दा सेयर खरिदकर्ता सक्रिय भएको अनुमान लगाउन सकिन्छ । बजारले बुल रन समायो भने होल्ड गर्नेहरुले नै बढी लाभ लिन सक्नेछन्।
सस्तो ब्याजदरका कारण यतिबेला आम लगानीकर्ताले कर्जा लिएर सेयर बजारमा प्रवेश गर्नेक्रम समेत बढेको तथ्यांकले देखाएको छ। ठूला लगानीकर्ताहरु कर्जा लिएर सेयर बजार प्रवेश गर्नेक्रम अझै बढी रहेको देखिन्छ। ठूला तथा संस्थागत लगानीकर्ताको सक्रियता बढ्दा बजारले गति लिन सक्ने अनुमान लगाउन सकिन्छ ।
गत साता नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको थियो। अघिल्लो साता २६५४.३५ विन्दुमा बन्द भएको नेप्से, यस साता ०.१३ प्रतिशत अर्थात ३.४२ अंक बढेर २६५७.७७ विन्दुमा पुगेको छ। गत साता ३ कारोबार दिनमध्ये १ कारोबार दिन नेप्से बढेको थियो भने २ कारोबार दिन नेप्से घटेको थियो। सो साताको अन्तिम कारोबार दिन अर्थात मंगलबार नेप्से सामान्य बढेर बन्द भएको थियो।