काठमाडौं। पछिल्लो केही कारोबार दिन यता दैनिक सेयर कारोबार वृद्धि हुँदै गएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार पछिल्लो पाँच कारोबार दिनको तथ्यांक मात्रै हेर्ने हो भने पनि दैनिक औषत साढे ८ अर्बमाथिको कारोबार भइरहेको छ।
यसलाई लगानीकर्ताले सकारात्मक ढंगल लिइरहेका छन्। गत साता सार्वजनिक बिदाका कारण तीन दिन मात्रै बजार खुल्दा पनि कुल २७ अर्ब १४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
माघ १३ गते ९ अर्ब ५ करोड, माघ १४ गते ८ अर्ब ८२ करोड र माघ १५ गते ९ अर्ब २७ करोड रुपैयाँ बराबरको कारोबार भयो। माघ ९ गते ८ अर्ब ७९ करोड र माघ १० गते ७ अर्ब ७३ करोडको कारोबार भएकोमा त्यसअघि पनि ६ अर्ब हाराहारीको कारोबार भएको थियो। पुस २८ मा ३ अर्ब ९४ करोड रुपैयाँ बराबरको मात्रै कारोबार भएकामा त्यसपछि कारोबार रकम बढ्दै गएको छ।
यसरी, कारोबार रकममा सुधार आउँदै जानुले सूचक पनि माथिल्लो बिन्दुमा जाने संकेत गरेको छ। ‘पछिल्लो समय बजारमा दैनिक सूचकमा तलमाथि भइरहेको देखिए पनि खासगरी बजार सूचक बिन्दु वरिपरि घुमिरहेको छ। बजार साइडवेजमा बसेको लामो समय भइसकेको छ,’ एक लगानीकर्ताले भने, ‘पछिल्लो दुई सातादेखि कारोबार रकम बढ्दै गएकोले अब बजार साइडवेजबाट माथि उठ्ने हो कि भन्ने जस्तो देखिएको छ।’
गत साताको तीन कारोबार दिनमा नेप्से ३ अंकले मात्रै बढ्यो। अघिल्लो साताको अन्तिम कारोबार दिन बिहीबार (माघ १० गते) २६५४.३५ बिन्दुमा रहेको नेप्से गत साताको तीन कारोबार दिनमा दुई दिन घटेर एक दिन बढ्दा ३ अंकले बढेर २६५७.७७ बिन्दुमा रोकियो।
अघिल्लो साताको पाँच कारोबार दिनमा भने नेप्से ६५ अंकले बढेर २६५४.३५ बिन्दुमा रोकिएको थियो। त्यसअघिको साता नेप्से ४७ अंकले घटेको थियो। एक साता घट्ने र अर्को साता बढ्ने गरेर नेप्से एउटै बिन्दु वरीपरी रुमल्लिरहेको छ।
खासगरी पुस अन्तिम सातादेखि माघको सुरुआती सातालाई पुसको क्लोजिङ प्रेसर समयको रुपमा लिइन्छ। यही कारण पनि बजार संकुचित रहेको तर्क भइरहेका थिए। तर, अब पुसको क्लोजिङ चाप सकिएकाले पनि बजार विस्तारै सुधार हुने यात्रामा रहेको उनको तर्क छ।
पछिल्लो समय जलविद्युत् र विकास बैंकमा लगानीकर्ताको राम्रै आकर्षण देखिएकाले पनि त्यसले सेयर कारोबारलाई मजबुत बनाएको देखिन्छ।
गत साता मात्रै विकास बैंक समूह इन्डेक्स ५.४६ प्रतिशतले बढ्यो, जसमा अघिल्लो साता पनि ३.३८ प्रतिशतको वृद्धि भएको थियो। विकास बैंकमा लोक्याप कम्पनीको मूल्य उच्च माात्रामा भइरहेकाले त्यसकाले समग्र विकास बैंक इन्डेक्सलाई नै उचालिरहेको छ। यस्तै, गत साता जलविद्युत् समूहमा २.४० प्रतिशतको वृद्धि हुँदा लघुवित्त समूह १.२६ प्रतिशतले बढ्यो।
पछिल्लो समय जलविद्युत् समूहमा पनि लगानीकर्ताको राम्रै आकर्षण देखिरहेको छ। अब माघ मसान्तसम्म जलविद्युत् कम्पनीहरुले दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्ने भएकाले त्यसले थप हाइड्रो सूचक कता जाने भन्ने बाटो देखाउनेछ।
गत साताको तीन कारोबार दिनमा बैंकिङ सूचक १.१८ प्रतिशत, जीवन बिमा समूह १.६४ प्रतिशत, निर्जीवन बिमा समूह १.०६ प्रतिशत र व्यापार समूहमा २.३३ प्रतिशतको गिरावट आएको छ।
पछिल्ला दिनमा सेयर बजारसँग जोडेर नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी पदावधि सकिएर बाहिरिने र नयाँ गभर्नर आउने विषय चर्चामा छ। योसँगै गभर्नर अधिकारीको यस कार्यकालको अन्तिम मौद्रिक नीति समीक्षा कस्तो आउँछ भन्ने आकलन पनि भइरहेका छन्।
हुन त, सेयर बजारलाई हरेक साता कुनै न कुनै घटना वा विषयसँग जोडेर विभिन्न आकलन र चर्चा भइरहन्छन्। तथापि, पछिल्लो केही दिन यता यी दुई विषयले बढी नै प्राथमिकता पाइरहेका छन्।
सेयर बजारलाई गभर्नर अधिकारीले विभिन्न समयमा कडा नीति ल्याएर समस्यामा पारेको आरोप लाग्दै आएको छ। यसर्थ, उनको बहिर्गमन पनि बजारले कुरिरहेको तर्क कतिपयले गरिरहेका छन्।
कार्यकालभरि बजारको घाँटी निमोठ्ने काम भएको भन्दै त्यो ट्याग मेटाउन कार्यकालको अन्तिम मौद्रिक नीति लचक ल्याउने हुन् कि भन्ने चर्चा पनि बजारमा भइरहेको छ। तथापि, यसको प्रतिक्रिया भने आगामी दिनको बजारले नै स्पष्ट ढंगमा देखाउनेछ।
अहिले बैंक तथा वित्तीय संस्थामा अधिक तरलता छ। लामो समय कर्जा प्रवाह हुन नसकेकाले यसलाई बढाउने जोडबलमा बैंक तथा वित्तीय संस्था र नियामक छन्। सरकारले अध्यादेशमार्फत विभिन्न कानुन संशोधन गरेका कारण निजी क्षेत्र उत्साहित बनेको छ।
यसले पनि बजारलाई थप बल पुर्याउन सक्ने सम्भावना छ। केही साता अघिसम्म कांग्रेस र एमालेको सत्तासमीकरण फेरबदल हुने भन्दै गरिएको व्यापक चर्चा पनि हाल रोकिएको छ। एकातर्फ बैंकको ब्याजदर न्यून रहँदा अर्कोतर्फ सस्तो सेयर मूल्य भएका राम्रा कम्पनीको संख्या धेरै छ।
नीतिगत व्यवस्थामा पनि लगानीकर्ताले सेयर धितो कर्जामा लगाइएको व्यक्तिगततर्फको १५ करोड सीमा खारेज गर्नुपर्ने र कर्जामा लगाइएको जोखिम भारलाई १२५ प्रतिशतबाट घटाई सबै सेयर धितो कर्जामा १०० प्रतिशत जोखिम भार कायम गरिदिनुपर्ने विषय मात्रै बढी उठाइरहेका छन्। यी समग्र विषयलाई हेरेर लगानीकर्ताले आगामी दिनको सेयर कारोबार र लगानी योजना बनाउँदा उचित हुने देखिन्छ।