काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले निजी क्षेत्रबाट उत्पादित २ हजार मेगावाट विद्युतको अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा प्रमाणपत्र (आईरिक्स) लिनेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको छ।
इप्पानका अध्यक्ष गणेश कार्की र प्रोक्लाइमका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कविनकुमार कँडासामीले काठमाडौंमा आयोजित कार्यक्रममा समझदारीपत्र आदानप्रदान गरेका हुन्।
इप्पानले प्रोक्लाइमसँग गरेको सम्झौताले नेपालमा निजी क्षेत्रले उत्पादन गरेको २७ सय मेगावाट विद्युतमध्ये पहिलो चरणमा २ हजार मेगावाट विद्युत कार्बन ट्रेडका लागि योग्य हुनेछ। सम्झौतासँगै नेपालको निजी क्षेत्रले वर्सेनि करिब १ अर्ब रुपैयाँ बराबरको कार्बन व्यापार गर्न सक्ने इपपान अध्यक्ष कार्कीले बताए।
प्रोक्लाइमका सीईओ कँडासामीले भारत, भुटान र श्रीलंकाले कार्बन व्यापारबाट फाइदा लिइरहेकाले नेपालले पनि अब यो अवसर सदुपयोग गर्न गइरहेको जानकारी दिए।
अन्तर्राष्ट्रिय हाइड्रोपावर एसोसिएसन (आईएचए)का उपाध्यक्ष सुशील पोखरेलले नेपालमा निर्माण भइरहेका जलविद्युत् आयोजना सस्टेनेबल डेभलपमेन्टका मापदण्ड पूरा गरेर बनिरहेकाले अब छिट्टै कार्बन व्यापार पैसा पाउने सुनाए।
नेपालका लागि आइरिक्स क्याल्कुलेटर शुभारम्भ
कार्यक्रममा विद्युत् नियमन आयोग अध्यक्ष डा. रामप्रसाद धितालले नेपालका लागि डिजाइन गरिएको आइरिक्स क्याल्कुलेटरको शुभारम्भ गरे। यो क्याल्कुलेटरले कति मेगावाट विद्युत् उत्पादन हुँदा त्यसले वार्षिक कति रुपैयाँ बराबरको कार्बन व्यापारका लागि योग्य छ भन्ने देखाउँछ।
नेपाली निजी क्षेत्रले उत्पादन गरेको २६०० मेगावाट विद्युतलाई कार्बन ट्रेडसँग जोड्दा यसले वार्षिक करिब १ अर्ब रुपैयाँ बराबरको लाभ पाउने बताइएको छ।
विश्व बजारमा कार्बन ट्रेड भइरहे पनि नेपालले लाभ लिन नसकेको भन्दै अध्यक्ष डा. धितालले जलविद्युतको प्रचुर सम्भावना रहेको र ३ हजार मेगावाट भन्दा बढी जलविद्युत् मात्रै उत्पादन भइरहेको नेपालले अब कार्बन ट्रेडबाट पनि लाभ लिन सक्नुपर्नेमा जोड दिए।
वन तथा वातावरण मन्त्रालयका सह–सचिव डा. महेश्वर ढकालले नेपालले वनजंगलबाट सानो स्केलमा कार्बन बिसर्जन वापतको रकम लिएपनि जलविद्युत आयोजनाले त्यो अहिलेसम्म लाभ लिन नसकेको बताए।
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रबल अधिकारीले क्षेत्रीय बजारमा विद्युत् निर्यात गरिरहेको नेपालले अब छिट्टै कार्बन ट्रेडबाट पनि राम्रो आम्दानी गर्न सक्ने विश्वास व्यक्त गरे।
ग्लोबल कार्बन काउन्सिलका प्रबन्धक अशोक के चन्देल र ग्लोबल रिन्वेल अलाइन्सका इरिक सोल्हिमले चीन र भारतजस्ता शक्तिराष्ट्रको बीचमा रहेको नेपालले कार्बन ट्रेडबाट लाभ लिनुपर्ने बताए।