काठमाडौं। भारतीय वित्तमन्त्री निर्मला सीतारमणले शनिबार लोकसभामा २०२५/२६ को बजेट पेस गरेकी छन्। बजेटमा मध्यम वर्ग लक्षित आम्दानीको कर सीमालाई थप बढाइएको छ। १२ लाखसम्मको आम्दानीमा कर नलाग्ने नयाँ कर प्रणाली व्यवस्था गरिएको छ।
लगातार तेस्रो पटक भारतीय सरकारको नेतृत्व गरेका प्रधानमन्त्री नरेन्द्र मोदीले मध्यम आर्थिक अवस्था भएकालाई विशेष प्राथमिकता दिँदै नयाँ बजेट ल्याएका हुन्।
भारतीय सञ्चार माध्यमका अनुसार मोदी नेतृत्वको सरकारले यसअघि सन् २०१४ मा ल्याएको बजेटमा त्यस्तो सीमा साढे २ लाख भारु, सन् २०१९ मा ५ लाख, सन् २०२३ मा ७ लाखसम्मको आम्दानी करमुक्त गरिएको थियो।
यसलाई पछिल्लो एक दशकमा गरिएको सबैभन्दा ठूलो सुधारको रूपमा लिनुपर्ने प्रधानमन्त्री मोदीले बताएका छन्। उनले अहिलेको बजेटले सबै भारतीयको ‘जेब’ गोजी भरिने दाबी गरेका छन्। वित्तमन्त्रीका रूपमा निर्मला सीतारमणले लगातार आठौंपटक बजेट ल्याएकी हुन्।
वार्षिक १२ लाखसम्मको आम्दानीमा कुनै पनि आयकर नलाग्ने भएपछि मध्यम वर्गलाई विशेष फाइदा पुग्ने अपेक्षा छ।
पारिश्रमिक वर्गको लागि स्ट्यान्डर्ड डिडक्सन ७५ हजार भारु कायम राखिएको छ। यो भनेको १२ लाख ७५ हजार भारुसम्मको आम्दानीमा कुनै आयकर लाग्ने छैन। वित्तमन्त्रीले नयाँ आयकर दरको घोषणा गरेकी छन्। पुराना आयकर स्ल्याबको उल्लेख गरेकी छन्।
बजेटमा ज्येष्ठ नागरिकका लागि ब्याजमा कर छुटको सीमा ५० हजारबाट १ लाख भारु पुर्याइएको छ। सरकारले आगामी साता आयकर विधेयक ल्याउने वित्तमन्त्री सीतारमणले जानकारी दिइन्।
अर्थमन्त्री सीतारमणले आर्थिक वृद्धिलाई गति दिन, समावेशी वृद्धि सुनिश्चित गर्न, उद्योगलाई समर्थन गर्ने र घरेलु भावनालाई बढावा दिने उद्देश्यसहित बजेट सन् २०२५–२६ प्रस्तुत गरेको बताएकी छन्। बजेटले भारतको बढ्दो मध्यम वर्गको खर्च गर्ने क्षमता बढाउन जोड दिएको छ।
उनले भनेकी छन्, ‘विगत एक दशकमा सरकारको विकास नीति र संरचनात्मक सुधारले भारतलाई विश्वको सबैभन्दा द्रुत वृद्धि हुने प्रमुख अर्थतन्त्रको रूपमा स्थापित गरेको छ।’ भारतको अर्थतन्त्र वृद्धि ट्रयाक रेकर्ड र विगत १० वर्षको संरचनात्मक सुधारले विश्वव्यापी ध्यानाकर्षित गरेको दाबी उनको छ।
बजेटपछि यी वस्तुमा मूल्य घटबढ हुने
वित्तमन्त्री सीतारमणले आज भारतीय तल्लो सदन लोकसभामा पेस गरेको बजेटमा केही वस्तुको मूल्य बढ्ने र केहीको घट्ने देखिएको छ। एलसीडी/एलईडी टिबीमा लिइँदै आएको शुल्क २.५ प्रतिशतले घटाइएकाले सस्तो हुनेछ।
तयारी कपडाका विभिन्न श्रेणीगत आधारमा आयात शुल्क बढाएर २० प्रतिशत पुर्याइएको छ। बजेटमा इलेक्ट्रोनिक्स, ३६ जीवनरक्षक औषधी, क्यान्सर औषधी, ईभी, मोबाइल फोन, ब्याट्री, माछा दाना, छाला, टेलिभिजनमा लिइँदै शुल्क घटेको छ। यस्तै, फ्लेट प्यानल डिस्प्ले, टिबी डिस्प्ले, फेब्रिकलगायत वस्तुमा कर बढाइएको छ।-एजेन्सीकाे सहयाेग