नेपालले भ्रमण वर्ष मनाइरहेको बेला चीनमा कोरना भाइरसको संक्रमण बढेको छ । चीन नेपालको दोस्रो ठूलो पर्यटन बजार हो । तर, अहिले कोरोना भाइरसका कारण चीन र त्यहाँका ट्राभल कम्पनीहरुले अन्तर्राष्ट्रिय टुर प्याकेज सञ्चालन गर्न सक्ने अवस्था छैन । सोहि कारण जनवरीमा चिनियाँ पर्यटक आउने क्रम केही घटेपनि आगामी दिनमा बढ्ने आशावादी छौं ।
चीन सहित विभिन्न मुलुकमा भाइरसको संक्रमण बढिरहेको बेला नेपाल पनि पूर्ण रुपमा सुरक्षीत छ भनेर पर्यटकहरुलाई भन्न सकिने अवस्था छैन । तर, नेपालको होटल व्यवसायी र सरकारले भाइरसबाट बच्न आवश्यक शतर्कता अपनाइरहेको छ । यसबाट हामी भन्न सक्छौं नेपाल अरु देशभन्दा केहि सुरक्षीत छ ।
नेपालको असल मित्र राष्ट्र चीनमा कोरोना भाइरसका कारण उत्पन्न समस्याप्रति नेपाली पर्यटन व्यवसायीहरुले दुख व्यक्त गरिरहेको छन् । चीनमा उत्पन्न भएको अप्ठ्यारो परिस्थितीसँग जुध्न चीन सरकारले गरिरहेको प्रयासप्रति नेपाल भ्रमण वर्ष २०२० र नेपाल होटेल एशोसिएनको साथ छ ।
भ्रमण वर्षको शुरुवातमै चीनको वुहानबाट सुरु भएको नोवल कोरोना भाइरसले संसारभरी अप्ठ्यारो बनाएको छ । तर, हामी बिचलित नभई शतर्कतापूर्व आफ्नो अभियानमा सहभागि भइरहेका छौं ।
बेला बेलामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा देखा पर्ने रोग तथा आपत विपद्को सामना गरी हामी अगाडि बढिरहेका थियौं र आज पनि छौ ।
अन्य मुलुकको तुलनामा नेपाल कोरोना भाइरसबाट अहिलेसम्म सुरक्षित रहेको सरकारले प्रष्ट पारिरहेको छ । कोरोना भाइरसबाट प्रभावित एक जना उपचारपछि स्वस्थ भएर घर फर्किसकेका छन् । अन्य चारजनामा भाइरसको संक्रमण नभएको सरकारले पुष्टी गरिसकेको छ ।
चीन सरकारले कोरोना भाइरसको संक्रमण अन्य मुलुकमा फैलन नदिन देखाएको सतर्कता सराहनीय नै छ । यसप्रति हामी नीजि क्षेत्र तथा सरकारको पनि साथ र समर्थन छ ।
हामी पर्यटन व्यवसायी र नेपाल भ्रमण वर्ष २०२० को सचिवालय यसबाट कतिपनि विचलित नभई छिमेकी मुलुकहरु भारत, बंगलादेश, मध्यपूर्व, दक्षिण पूर्वी एसियालगायत अन्य मुलुकबाट पनि लक्ष्य अनुसारको पर्यटक भित्र्याउन खटिरहेका छौ ।
तत्कालै अन्य पर्यटन स्रोत बजारका बिषयमा नेपाल सरकार, हवाई कम्पनीलगायत सबै सरोकारवालाहरुसँग छलफल गरी विशेष पर्यटन प्याकेजको तयारी गर्दैछौं ।
कोरोना भाइरसबाट नेपाल सुरक्षित रहेको सन्देश अन्तर्राष्ट्रिय जगतमा उपयुक्त ढंगबाट सम्प्रेषण हुन नसक्दा बुकिङ रद्द हुने सम्भावना घटाउन हामी सजग छौं ।