अरनिको राजमार्गअन्तर्गत सूर्यविनायकबाट धुलिखेलसम्मको १६ किलोमिटर सडकको ६ लेन विस्तारको कामले गति लिन थालेको छ। भक्तपुर सूर्यविनायकबाट साँगासम्म र साँगाबाट धुलिखेलसम्म गरी सो सडक दुई खण्डमा विभाजन गरी विस्तार कार्य भइरहेको छ। तर, २०७९ पुस २४ बाट काम थालेर ३६ महिनाभित्र सम्पन्न गर्ने भनिए पनि अहिलेसम्म करिब ३० प्रतिशत मात्रै प्रगति भएको आयोजनाले जनाएको छ।
सडक विस्तारका लागि ७.५ किमि लामो सूर्यविनायक–साँगा सडक खण्ड ३ अर्ब ८८ करोड ९३ लाख र साँगा–धुलिखेल ८.४ किमि सडक खण्ड विस्तारका लागि ४ अर्ब पाँच करोड ६४ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो।
सूर्यविनायक–धुलिखेल, सिन्धुली–बर्दिबास सडक आयोजना कार्यालयका अनुसार धुलिखेलसम्मको मुख्य सडक र सर्भिस लेन गरी ६ लेनको सडक विस्तारका बजेट अभावका कारणले ढिलाइ भएको दाबी छ।
अहिले सो सडकको दायाँबायाँ टेवा पर्खाल लगाउने, नाली निर्माण गर्ने र ‘कलभर्ट’ निर्माण अन्तिम चरणमा पुगेको छ। त्यसैगरी सडक निर्माणका क्रममा साँगा क्षेत्रमा ठूलो घुम्ती, तल ठूलो भीर भएकाले काम गर्न केही अप्ठेरो परेको छ। आठ अर्ब बढी लागतमा ठेक्का सम्झौता भएको यो सडकमा यस वर्ष सरकारले ५४ करोड रुपैयाँ अर्थात् सात प्रतिशत मात्रै बजेट निकासा गरेको छ।
यो सडकमा पुल थप निर्माण गर्न आवश्यक पर्ने भएकाले पुलका लागि एक अर्ब रुपैयाँ लाग्ने आयोजनाले अनुमान गरेको छ। अध्ययन प्रतिवेदनअनुसार यस आयोजनामा २०–२० मिटरको तीन पुल, जगाती र महादेवखोला पेट्रोल पम्पनजिक निर्माण गरिने भएको छ। यसका लागि प्रतिमिटर १५ लाख लाग्ने अनुमान गरिएको छ।
साँगामा समस्या रहेको डेढदेखि दुई किलोमिटर सडकमा जाने–आउने लेन तल–माथि हुने भए पनि ‘सर्भिस लेन’ भने निर्माण गर्न नसकिने देखिएको डिपिआर अध्ययनले देखाएको छ।
उक्त दूरीमा सडक विस्तार गर्न भौगोलिक बनावट कमजोर भएकाले सुरुङ निर्माण योजनालाई रोकेर यो योजना अघि बढाइने जनाइएको हो। यस्तै प्रतिवेदनले यो सडक विस्तारका लागि आवश्यक पर्ने १७ रोपनी जग्गाका लागि करिब एक अर्ब मुआब्जा दिनुपर्नेछ।
२०१७ मा राजमार्ग बन्दा सडक दायाँबायाँ २५–२५ गज अर्थात् २२ दशमलव ८६ मिटर कायम गरिएको थियो। यस्तै २०२१ मा सरकारले कानुन बनाएर यो मार्गमा त्यही नियमलाई यथावत् कायम गरेको थियो र सोही आधारमा सडकका दायाँ–बायाँमा घर बनेका थिए।
सडक विस्तार भएपछि चीनसँगको छोटो दूरीको नाका सिन्धुपाल्चोकको तातोपानी खुला भए यो सडकखण्डमा अझै सवारी चाप बढ्नेछ। यो सडकमा हाल कोटेश्वरबाट लामा दूरीका सवारीमात्र दैनिक एक हजार बढी छुट्ने गरेका छन्।
संघीय राजधानी काठमाडौंबाट बागमती प्रदेशअन्तर्गत मध्यपहाडीका बिपी र पुष्पलाल रार्जमार्ग हुँदै पूर्वसम्मको दूरी यही सडकबाट पार गरिन्छ भने यो सडकबाट अरनिको राजमार्ग हुँदै कोसी र मधेस प्रदेशका नागरिकसमेत काठमाडौं आउजाउ गर्दै आएका छन्।
तस्बिरः नेपाल फोटो लाइब्रेरी