काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन) को विवरणअनुसार गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश वितरण गरेका १७ कम्पनीको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ।
बोनस सेयर सूचीकरण हुन बाँकी कम्पनीको संख्या ४६ वटा छन्। यी कम्पनीले साधारणसभाबाट बोनस सेयर वितरण प्रस्ताव पारित गरिसकेकाले सूचीकरण गर्ने तयारीमा छन्।
गत वर्षको नाफाबाट सेयरधनीलाई बोनस सेयर वितरण गरेका ४ वटा लघुवित्त, एउटा विकास बैंक, एउटा होटल्स तथा पर्यटन, २ वटा लगानी, २ वटा बैंकिङ समूह, ७ वटा हाइड्रोपावर कम्पनीको बोनस सेयर नेप्सेमा सेयर सूचीकृत भएको हो।
नेप्सेमा तोकिएका कम्पनीको ३ करोड बढी कित्ता बोनस सेयर सूचीकृत भएको छ। यसमध्ये सबैभन्दा धेरै एभरेष्ट बैंकको १ करोड १७ लाख ६७ हजार कित्ता सेयर सूचीकृत भएको छ।
दोस्रोमा, सिटिजन्स बैंकको ५६ लाख ८० हजार, अपि पावरको २८ लाख ९३ हजार कित्ता बोनस सेयर सूचीकृत भएको सेबोनको विवरणमा उल्लेख छ। सबैभन्दा कम गुराँस लघुवित्तको १ लाख ४४ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ।
सेबोनले नेप्सेमा सूचीकरण भइसकेका कम्पनीको विवरण सार्वजनिक गरे पनि सोल्टी होटल्सले सेयरधनीलाई वितरण गरेको १० प्रतिशत बोनस सेयर सूचीकरणबारे जानकारी दिइएको छैन।
बोनस सेयर सूचीकरण प्रक्रिया ३ देखि ६ महिनासम्म लाग्ने गरेको छ। कम्पनीहरुले बोनस सेयर साधारणसभाबाट प्रस्ताव पारित गरेपछि सेबोन, सीडीएस, कम्पनी रजिष्ट्रर्ड, सेयर रजिष्टर्डलगायत निकायबाट पनि अनुमति लिनुपर्दा ढिलाइ हुने गरेको हो। सबै प्रक्रिया पूरा भएपछि मात्रै नेप्सेमा सेयर सूचीकरण हुने गर्छ।