काठमाडौं। चन्द्रागिरि नगरपालिकाले सार्वजानिक स्थलमा सुर्तिजन्य पदार्थ बिक्री वितरण निषेध गरेको छ। नगरपालिकाले शुक्रबार सूचना जारी गरी सार्वजनिक स्थलमा प्लास्टिकमा प्याकेजिङ गरिएका, खैनी, गुट्खा, पान, पराग, यस्तै प्रकृतिका मुखमा राख्ने रस लिने, सेवन गर्ने सुर्तिजन्य पदार्थ बिक्री वितरण निषेध गरेको हो।
नगरपालिकाका शाखा अधिकृत दामोदर रिजालद्वारा जारी विज्ञप्तिमा सूर्ति सेवनका निम्ति बनाइएको, उत्पादन गरिएको चुरोट, बिंडी, सिगार, तमाखु, सुल्फा, प्लाष्टिकमा प्याक गरिएका कच्चा सुर्ति, खैनी, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राख्ने रस लिने सूर्तिजन्य पदार्थको सेवन मानव स्वास्थ्यका लागि अत्यन्त हानिकारक भएको उल्लेख छ।
विज्ञप्तिमा भनिएको छ, ‘चन्द्रागिरि नगरपालिकामा रहेका शिक्षण संस्था, बालकल्याण गृह, क्लब, सार्वजनिक शौचालय, होटेल, रेष्टुरेण्ट, छात्रावास, व्यायामशाला, डिपार्टमेन्ट स्टोर, धर्मशाला, सार्वजनिक प्रतीक्षालयलगायतका सार्वजनिक स्थलमा धूमपान, चुरोट, बिडी, सिंगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सूर्ति, खैनी गुट्खा, सूर्ति वा यस्तै प्रकारका सुर्तिजन्य पदार्थलाई निषेध गर्न सूर्तिजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन, २०६८ को दफा ४ ले प्रष्ट ब्यवस्था गरेको छ। उपरोक्त कानुनी व्यवस्था हुँदा हुँदै हालसम्म चन्द्रागिरि नगरपालिका क्षेत्रभित्र मदिरा, सूर्तिजन्य पदार्थ बिक्री वितरण र उपयोग नियमन र नियन्त्रण प्रभाबकारी नभएकोले जनस्वास्थ्यमा प्रतिकुल प्रभाव पर्नुका साथै प्लाष्टिक वा बट्टामा प्याकेजिङ गरिएका सुर्तिजन्य पदार्थको सेवनका कारण भूमि प्रदूषित हुने, ढल जाम हुने, फोहरमैला बढ्न गई सहरको सुन्दरतामा समेत प्रतिकुल प्रभाव परेको छ।’
विज्ञप्तिमा सूर्तिजन्य पदार्थको सेवनले राज्यको करोडौं रकम खर्च भईरहेको अवस्था समेतलाई दृष्टिगत गरी पहिलो चरणमा प्लाष्टिक बट्टामा प्याकेजिङ गरिएका जस्तै खैनीन, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका सूर्तिजन्य पदार्थ र सार्वजनिक स्थानमा धूमपानलाई सूचना प्रकाशित भएको मितिदेखि लागू हुने गरी चन्द्रागिरिभित्र बिक्री वितरण पूर्ण रुपमा प्रतिबन्ध लगाइएको उल्लेख छ।
विज्ञप्तिमा भनिएको छ, ‘कसैले यो सूचनालाई अवज्ञा गरी बिक्री वितरण गरेको पाइए नगर प्रहरीमार्फत जफत गरी बिक्रि बितरण गर्ने ब्यबसायीलाई कानुनअनुसार अधिकतम सजाय गरिनेछ।’