काठमाडौं। मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले ‘महिला टी ट्वान्टी आई त्रिकोणात्मक सिरिज’का लागि नेपाल क्रिकेट संघ (क्यान)सँग सहकार्य सम्झौता गरेको छ। क्यानसँगको सहकार्यअन्तर्गत यो खेलले नेपाली क्रिकेटप्रेमीलाई ऊर्जा दिँदै क्रिकेटमा महिला प्रतिभा विकासमा योगदान पुग्ने अपेक्षा एनसेलको छ।
सहकार्य ‘हामी तपाईंकै लागि’ थिम र नेपालमा क्रिकेट तथा खेलकुदको विकासलाई सहयोग गर्ने प्रतिबद्धतामा आधारित रहेको एनसेलले जनाएको छ। सिरिजअन्तर्गतका विभिन्न खेल बिहीबारदेखि त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा भइरहेका छन्।
नेपाली महिला क्रिकेट टोलीलाई सिरिजमा समर्थन गर्न आह्वान गर्दै क्यानले सम्पूर्ण खेलको प्रवेश निःशुल्क बनाएको छ। सिरिजमा सहभागी टिमले एकअर्कासँग तीन पटक प्रतिस्पर्धा गर्नेछन्।
नेपालले माघ १९ मा थाइल्यान्डविरुद्ध माघ २० मा नेदरल्यान्ड्सविरुद्ध, माघ २२ मा थाइल्यान्डविरुद्ध माघ २३ मा नेदरल्यान्ड्सविरुद्ध र माघ २५ मा फेरि थाइल्यान्डविरुद्ध खेल्नेछ।
नेपाली टिम इन्दु बर्माको कप्तानीमा खेलिरहेको छ। कप्तान इन्दुसँगै टिममा पूर्वकप्तान रुबिना क्षेत्री, सीता राना मगर, पूजा महतो, अलिशा कुमारी यादव, विन्दु रावल, सम्झना खड्का, कविता कुँवर, ममता चौधरी, कविता जोशी, रेवती धामी, रोमा थापा, राजमति ऐरी, मनिषा उपाध्याय र ईश्वरी विष्ट रहेका छन्।