काठमाडौं। नेपाल चेम्बर अफ कमर्सले अस्ट्रेलियामा व्यापार सहजीकरणका लागि प्रतिनिधि चयन गरेको छ।
चेम्बरका सल्लाहकार परिषद् अध्यक्ष राजेशकाजी श्रेष्ठले एनआरएन आईसीसी अनररी काउन्सिल सदस्य एवं व्यवसायी सञ्जीव शर्मालाई चेम्बर अनररी रिप्रेजेन्टेटिभ्सको प्रमाणपत्र हस्तान्तरण गरे।
अस्ट्रेलियामा आयोजित कार्यक्रममा सल्लाहकार परिषद् अध्यक्ष श्रेष्ठले अनररी रिप्रेजेन्टेटिभ्सको प्रमाणपत्रसहित आगामी कार्यकालका लागि बधाइ एवं शुभकामना दिएको चेम्बरले जनाएको छ।
नेपाल र अस्ट्रेलियाबीच व्यापार प्रवर्द्धन, पर्यटन एवं लगानीबारे सहकार्य गर्न शर्मालाई अनररी रिप्रेजेन्टेटिभ्सका रुपमा चयन गरिएको चेम्बरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
अस्ट्रेलिया नेपालीको बसोबास उल्लेख्य रहेको र व्यापारिक दृष्टिकोणले पनि महत्व राख्ने भएकाले व्यापार सहजीकरणका लागि प्रतिनिधि चयन गरिएको सल्लाहकार परिषद् अध्यक्ष श्रेष्ठले बताए।
‘नेपालबाट अस्ट्रेलियामा निर्यातको राम्रो सम्भावना देखिएको छ। चालू आर्थिक वर्षमा मात्रै ८४ करोड रुपैयाँ बराबरको निर्यात भएको छ। घरेलु तथा हस्तकलाका सामग्री, कार्पेट, पास्तालगायत सामग्री निर्यातका लागि अस्ट्रेलिया राम्रो बजार छ,’ उनले भने।
यस्तै अस्ट्रेलियामा रहेका गैरआवासीय नेपालीलाई स्वदेशमा लगानी भित्र्याउन पनि सल्लाहकार परिषदका अध्यक्ष श्रेष्ठले आग्रह गरे। चेम्बरका अनररी रिप्रेजेन्टेटिभ्स शर्माले नेपालमा लगानी भित्र्याउन एवं व्यापार सहजीकरणका लागि पहल गर्ने प्रतिबद्धता जनाए।
चेम्बरले विभिन्न मुलुकमा व्यापार सहजीकरण, एवं निर्यात प्रवर्द्धनका लागि प्रतिनिधि चयन गर्दै आएको छ।