काठमाडौं। मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माणका लागि वित्ती व्यवस्थापनको टुंगो लागेको छ।
गोरखाको पालुङटार नगरपालिका, लमजुङको राईनास नगरपालिका र तनहुँको भानु नगरपालिका भएर बग्ने मर्स्याङ्दी नदीमा निर्माण हुने ९० मेगावाटको मर्स्याङ्दी नदी अर्धजलाशययुक्त जलविद्युत आयोजनामा ४ बैंक तथा वित्तीय संस्थाले १० अर्ब ५० करोड रुपैयाँ लगानी गर्ने गरी वित्तीय व्यवस्थापनको टुंगो लागेको हो। कुमारी बैंकको अगुवाइमा लगानीसम्बन्धी सम्झौतामा शुक्रबार हस्ताक्षर भएको हो।
एमए पावर प्रालिका अध्यक्ष अनुप आचार्य र कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालको उपस्थितिमा कुमारी बैंक, प्रभु बैंक, कृषि विकास बैंक र सिद्धार्थ बैंकको संयुक्त लगानीमा हुने गरी आयोजनामा ऋण सम्झौता भएको हो।
हाल ४ वित्तीय संस्थाबीच सम्झौता भए पनि केही समयभित्र अन्य बैक तथा वित्तीय संस्थाले लगानी गर्ने बताइएको छ। निर्माण अवधिको ब्याजसहित कुल २० अर्ब २५ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी लगानी हुने जनाइएको छ।
प्रवर्द्धक कम्पनीका अनुसार ऋण लगानीतर्फ कुमारीले ४ अर्ब, प्रभुले ३ अर्ब, सिद्धार्थले २ अर्ब र कृषि विकासले १ अर्ब ५ करोड लगानी गर्नेछन्। स्वपुँजी लगानी अनुप आचार्य, हरिबाबु न्यौपाने र दीपक बरालको हुनेछ।
डोल्मा इम्पाक्ट फन्डले पनि स्वपुँजी लगानी गर्न पूर्वआवश्यक ड्यु डेलिजेन्स स्टडी अगाडि बढाएको उल्लेख छ। यही समूहबाट हाल २२ मेगावाटको सेतीखोला जलविद्युत् आयोजना निर्माण अन्तिम चरणमा रहेको छ।
आयोजनाको विद्युत् प्राधिकरण सँग २०८० साल कात्तिक १ गते विद्युत खरिद बिक्री सम्झौता भई व्यापारिक उत्पादन सुरु गर्नुपर्ने मिति २०८६ साल वैशाख २२ रहेको छ।
आयोजना प्राविधिक परामर्शदाता क्लिन इन्ज कन्सलटेन्स प्रालि रहेको छ। आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर), विस्तृत इन्जिनियरिङ डिजाइन तथा ठेक्कासम्बन्धी कागजात तयारीको काम अन्तिम चरणमा रहेको छ।
आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन स्वीकृतिका लागि सम्बन्धित निकायमा पेस भएको कम्पनीका अध्यक्ष आचार्यले जानकारी दिए।
आयोजनाबाट उत्पादित विद्युत् विद्युतगृहदेखि २२० केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत ११.६ किलोमिटर दूरीमा प्राधिकरणको मार्कीचोक सबस्टेसनमा २२०/ १३२ केभीमा जोडिनेछ।