काठमाडौं। अटो व्यवसायीले विभिन्न एक्सचेञ्ज तथा छुट ल्याएर व्यापार टिकाउन निकै प्रयत्न गरिरहेका छन्। उपभोक्तालाई आकर्षित गर्न व्यवसायलाई थप समस्यामा पार्न नदिन व्यवसायीले विभिन्न योजना सार्वजनिक गरिरहेका छन्।
बजारमा तीब्र प्रतिस्पर्धा रहेकाले विभिन्न किसिमका अफर तथा एक्सचेञ्ज सुविधा ल्याएर ग्राहक आकर्षण गर्न अटो व्यवसायीहरु सँधैजसो लागि परिरहेका छन्। हालको समयलाई अटो व्यापारको दृष्टिकोणले सुख्खा मौसमको रुपमा लिइन्छ।
यहि समयमा पनि व्यापारमा सुस्तता आउन नदिन व्यवसायी निरन्तर लागिरहेका छन्। हाल चार पांग्रे सवारीसाधन बिक्री गर्दै आएका आधा दर्जन कम्पनीहरुले आफ्नो ब्रान्डको व्यापार बढाउन विभिन्न खालको स्किम तथा एक्सचेञ्ज अफरहरु चलाइरहेका छन्।
हुन त अटो ब्रान्डहरुले वर्षमा थुप्रै किसिमका ग्राहकलक्षित अफरहरु ल्याउँदै आएका छन्। चाडपर्व लक्षित, नयाँ वर्ष लक्षित, अटो मेला लक्षित जस्ता धेरै अफर हरेक वर्ष आउने गरेका छन्। अहिले पनि विभिन्न कम्पनीहरुले विन्टर अफर र एक्सचेञ्ज क्याम्प आयोजना गरि ग्राहकलाई आकर्षण गरिरहेका छन्। चाडपर्व सकिएपछिको यो सिजन सवारीसाधन कम खरिदबिक्री हुने समयमा पर्दछ।
यसर्थ, आफ्नो व्यवसायलाई गतिशिल राख्न विन्टर सिजनमा अटो ब्रान्डहरुले अफरहरु सञ्चालन गरिरहेका हुन्। कम व्यापार हुने मौसममा पनि ग्राहकलाई आकर्षण गर्नका लागि विभिन्न खालको स्किम तथा एक्सचेञ्ज अफरहरु दिएको सेरेस ब्रान्डको बिजनेस हेड प्रशन्न पन्तले बताए। ‘यो विन्टर सिजनमा खासै सवारीसाधन खरिद गर्ने ग्राहकहरु हुँदैनन् त्यही भएर पनि हामीले विभिन्न खालको स्किम तथा एक्सचेञ्ज अफर दिएको हो।’
पुस र माघ भनेको अटोमोबाइलमा अलि कम व्यापार हुने महिना हो। त्यसैले एक्सचेञ्ज क्याम्पहरु आयोजना गरी ग्राहकलाई जागरुकता गराउनको लागि र अर्काे भनेको बिक्री बढाउनको लागि यस्ता खालको स्किम तथा एक्सचेञ्न अफरहरु दिने पन्तको भनाइ छ।
‘अहिले हामीले नेपालभरी एक्सचेञ्ज क्याम्प चलाइरहेका छौं। यसको नतिजा राम्रो छ। नर्मल महिना जस्तो धेरै हुँदैन। तर, जुन महिना अलि कम बिक्री हुन्थ्यो त्यो भन्दा अलि राम्रो नै हुन्छ। ग्राहकहरुको प्रतिक्रिया एकदम राम्रो आइरहेको छ।’
कम्पनीहरुले दिने विभिन्न खालको स्किम तथा एक्सचेञ्ज अफरले ग्राहकहरु आकर्षण भएको जीओ मोटर्सको प्रबन्ध निर्देशक आकाश गोल्छा बताउँछन्। ‘हामीले केई ब्रान्डको गाडीका लागि शून्य ब्यादरको स्किम सार्वजनिक गरेका थियौं। स्किम दिएको समय सकेपछि पनि धेरै सोधबुझ आएको कारण फेरि बढाएका छौं।’
एमएडब्लु वृद्धिले बिक्री गर्दै आएको सेरेस ब्रान्डले लिमिटलेस एक्सपिरियन्स क्याम्प आयोजना गरिरहेको छ। सेरेसले नगद छुट, निःशुल्क ७ किलोवाट चार्जर, प्रत्येक टेस्ट ड्राइभमा गिफ्ट ह्याम्पर र उत्कृष्ट एक्सचेन्ज मूल्य र बोनसहरू सहित विभिन्न अफरहरूका साथ इलेक्ट्रीक ड्राइभिङमा स्विच गर्नेलाई अवसर हुने कम्पनीले जनाएको छ।
सांग्रिला मोटर्स अन्तर्गतको श्रीजा अटोमोबाइल्सले विराटनगरमा आफ्नो विशेष एक्सचेञ्ज र टेस्ट ड्राइभ क्याम्प आयोजना गरिरहेको छ। कम्पनीले बिक्री गर्दै आएको लिपमोटर सी १० र सिट्रोनका विद्युतीय गाडीमा उत्कृष्ट एक्सचेञ्ज अफर र वित्तीय सम्झौता पाउने जनाएको छ।
केई ब्रान्डको नेपालको लागि आधिकारिक वितरक जीओ अटोमोबाइलले शून्य प्रतिशत ब्याजदरको स्किम सार्वजनिक गरेको छ। उक्त स्किम अनुसार केई एक्स प्रो–३ किन्ने ग्राहकले २० प्रतिशत डाउन पेमेन्ट बुझाएर बाँकि रकम बिना ब्याज ५ वर्षे कर्जा सुविधा पाउने कम्पनीले जनाएको छ।
एमएडब्लु वृद्धिले बिक्री गर्दै आएको डिपल ४.९९ प्रतिशत ब्याजदरमा खरिद गर्न सकिने स्किम कम्पनीले ल्याएको थियो। यो योजनाले प्रिमियम विद्युतीय कार खरिद गर्ने ग्राहकको चाहनालाई सहज बनाउने अपेक्षा कम्पनीको छ।
यो योजनामा ग्राहकले ४.९९ प्रतिशत निश्चित ब्याजदर मात्र होइन निःशुल्क एसेसोरिज, निःशुल्क रोड ट्याक्स, निःशुल्क अटो प्लस इन्स्योरेन्सका साथै टप रिकन्डिसन हाउसमार्फत पुरानो गाडीको सर्वोत्कृष्ट एक्सचेन्ज भ्यालु पनि पाउने कम्पनीले जनाएको छ।
नेपालका लागि एमजीको आधिकारिक विक्रेता पारामाउन्ट मोटर्सले ‘एमजी विन्टर कार्निभल २०२४’ चलाएको थियो।
पारमाउन्टले एमजी, माज्दा, माक्सुस र वुलिङलगायत प्रमुख लक्जरी अटोमोबाइल ब्रान्डमा विशेष सुविधा दिएको थियो। सहभागीलाई प्रिमियम सवारी साधनको दायरा अन्वेषण गर्ने, अनुभव गर्ने र प्रत्यक्ष मनोरञ्जनको आनन्द लिने असाधारण अवसर प्रदान गरेको हो।
एमजी शीतकालीन कार्निभल २०२४ का मुख्य आकर्षणमा विशेष एक्सचेन्ज अफरअन्तर्गत प्रदर्शनमा रहेका कुनै पनि लक्जरी गाडीमा अपग्रेड गर्दा १० लाखसम्म एक्सचेन्ज बोनस प्राप्त गर्न सक्ने अफर ल्याएको थियो। अन–द–स्पट फाइनान्सिङ, एमजी, माज्दा, माक्सुस र वुलिङको टेस्ट ड्राइभ सुविधा पनि थियो।
त्यस्तै, यसअघि बिवाईडीको लागि नेपालको आधिकारिक वितरक साइमेक्स इंकले एक्सचेञ्ज फेस्ट आयोजना गरेको थियो। कम्पनीले एक्सचेञ्ज कार्यक्रममा ग्राहकले आफूसँग भएको जुनसुकै ब्रान्डको पुरानो गाडीसँग बीवाइडीको ब्रान्ड न्यू ईभी साट्न सक्नेछन्। यसरी एक्सचेन्ज गर्दा ग्राहकले उत्कृष्ट मूल्यांकनको साथै एक्सचेन्ज बोनस, लोयल्टी बोनस, निःशुल्क प्रिमियम एसेसोरिज र निःशुल्क चार्जर जडानको सुविधा पाउनेछन्।
शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनले ‘पोखरा एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ कार्निभल’ आयोजना गरेको थियो। कार्यक्रममा सहभागीले सवारी साधनको टेस्ट ड्राइभ गर्ने, आफ्नो पुरानो तथा हालको गाडी एक्सचेन्ज गर्दा आकर्षक एक्सचेन्ज बोनसको फाइदा उठाउने र प्रतिस्पर्धात्मक बैंक ब्याजदरमा ८० प्रतिशतसम्मको फाइनान्सिङसहितको वित्तीय सहजीकरण सुविधा प्राप्त गर्न सक्ने व्यवस्था गरिएको थियो।
कार्निभलले सहभागीलाई प्रख्यात गाडीका ब्रान्डको नवीनतम मोडलको उत्साहजनक टेस्ट ड्राइभका साथै र बजारको उत्कृष्ट प्रतिस्पर्धात्मक एक्सचेन्ज अफरको लाभ लिन महत्वपूर्ण अवसर प्रदान गरेको थियो।
हरेक गाडी खरिदमा निःशुल्क एसोसेरिज सुविधा र कम्प्लिमेन्ट्री ‘अटो प्लस इन्सुरेन्स’ पनि समावेश रहेको छ। विद्युतीय सवारी साधन खरिद गर्नेलाई घरमा नै सहज चार्जिङका लागि निशुल्क ७ किलोवाटको वाल चार्जर प्रदान गरिने जनाइएको छ।