काठमाडौं। नेपालमा लेखासम्बन्धी पेशा तथा शिक्षाको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) २८औँ वर्षमा प्रवेश गरेको छ। आइक्यानले आफ्नो वार्षिकोत्सवका अवसरमा विहीबार देशभर विविध कार्यक्रम आयोजना गर्यो।
आइक्यानको वार्षिकोत्सव मुख्य समारोहलाई सम्बोधन गर्दै उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र सही दिशामा चलायमान गराउन र वित्तीय अनुशासन कायम गर्न चार्टर्ड एकाउन्टेन्टको भूमिका महत्वपूर्ण रहेको बताए।
चार्टर्ड एकाउन्टेन्टको काँधमा वित्तीय लेखाजोखा मूल्यांकन गर्ने जिम्मेवारी रहेको भन्दै उनले त्यो ठीक भएको खण्डमा वित्तीय सुशासन आफै सही ठाउँमा आउने बताएका थिए। उनले सार्वजनिक वित्त व्यवस्थापन सुधारमा महत्वपूर्ण भूमिका खेल्नेसमेत सुझाव दिए।
मुलुकको कर प्रणाली सुधार र राजस्व वृद्धिमा चार्टर्ड एकाउन्टेन्टको महत्वपूर्ण सहकार्यको अपेक्षा सरकारले गरेको उनको भनाइ थियो। कर र राजस्वको क्षेत्रमा आवश्यकताअनुसार काम हुन नसकेको भन्दै उनले कर प्रणालीमा धेरै सुधार चाहिएको बताए।
कर सुधार र राजस्व वृद्धिका कुरा गरिरहे पनि पछिल्ला कतिपय तथ्यांकले यस्तो नदेखाएको भन्दै अर्थमन्त्री पौडेलले भने, ‘कर प्रणालीमा सुधारको कुरा गर्छौं। तर त्यसमा चाहेअनुसार सुधार गर्न सकिरहेका छैनौँ। कुनै पनि व्यवसायीले कर छल्न नसक्ने र औचित्यमा आधारित कर प्रणाली स्थापित गर्ने सन्दर्भमा हामीले अझै धेरै काम गर्न बाँकी छ।’
पुँजीबजार दीगो, भरपर्दो र विश्वसनीय तरिकाले अगाडि बढाउन र कुनै पनि प्रकारका चिटिङ प्रवेश हुन नदिन आइक्यानले आफ्नो ठाँउबाट भूमिका खेल्न सक्ने उनको अपेक्षा छ।
सरकारले अर्थतन्त्र सामु आएका समस्या समाधान गर्न एकसाथ २९ कानुन संशोधन गर्न अध्यादेश ल्याएको बताए। उनले अर्थतन्त्रलाई चलायमान बनाउन, लगानी बढाउन, उत्पादन बढाउन, रोजगारी बढाउन र विदेशी लगानी आकर्षण गर्न सरकारले प्रयास गरिरहेको दाबी गरे।
यस अवसरमा महालेखा नियन्त्रक डा. गणेशप्रसाद पाण्डेले अर्थतन्त्र विकासमा वित्तीय प्रणाली सुधार आवश्यक हुने र यसमा चार्टर्ड एकाउन्टेन्टको भूमिका महत्वपूर्ण रहेको बताए। विश्वमै चार्टर्ड एकाउन्टेन्ट एक प्रतिष्ठित व्यवसाय भएको भन्दै उनले सरकारको प्रतिनिधि र कर अधिकृतका रुपमा रहेको उनको भनाइ छ।