काठमाडौं। आजदेखि प्रतिनिधिसभाको हिउँदे अधिवेशन सुरू हुने भएको छ। जसअनुसार संघीय संसद सचिवालयले प्रतिनिधिसभा तर्फको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ।
सभामुख देवराज घिमिरेले अधिवेशन आह्वानबारे राष्ट्रपतिबाट प्राप्त पत्र पढेर सुनाउने छन्। त्यसपछि राष्ट्रपति कार्यालयको र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट प्राप्त मन्त्रिपरिषद सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा जानकारी दिने छन्।
त्यसपछि आजको बैठकमा प्रतिनिधिसभा नियमावली २०७९ नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सांसदको नामावली सार्वजनिक गर्ने छन् भने बैठक आरम्भको अवसरमा दलीय मान्यताअनुसारको धारणा र मन्तव्य राख्ने क्रम सुरू हुनेछ।
साथै, सुशासन प्र न तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ प्रधानमन्त्री केपी शर्मा ओलीले पेश गर्ने संसद सचिवालयले जनाएको छ।
उता, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश–२०८१, नीजिकरण (पहिलो संशोधन) अध्यादेश–२०८१, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१ भने उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पेश गर्ने छन्।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले ‘सहकारीसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, र भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश पेश गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ।
साथै, बैठकमा पुर्वसभामुख दमननाथ ढुंगाना तथा संविधानसभा सदस्य रामजीप्रसाद शर्मा निधनमा शोक प्रस्ताव प्रस्तुत गरिने छ। आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्न सक्नेछन्।