काठमाडौं। सूचना प्रविधि क्षेत्रका जानकारहरू नेपालले सूचना प्रविधि (आईटी) जनशक्ति उत्पादन गर्ने हो भने वार्षिक १० खर्बभन्दा बढी आम्दानी गर्न सकिने बताएका छन्।
नेपाली कांग्रेसको उद्यमशील र साना तथा मझौला व्यवसायी विकास विभागले आयोजना गरेको सम्मेलनको आजको समूहगत छलफलमा उनीहरूले यस्तो धारणा राखेका हुन्।
कांग्रेस केन्द्रीय पार्टी कार्यालय सानेपामा जारी नेपाल ‘स्टार्टअप’ र ‘एसएमई’ सम्मेलनको दोस्रो दिनको ‘उद्यमशीलता र जनशक्ति विकासः आईटी क्षेत्रको लागि तयारी’ शीर्षकको सत्रमा भएको छलफलका वक्ताले आईटीमा थोरै लगानी गर्न सके राम्रो परिणाम हात पार्न सकिने बताए।
इनोभेटिभ नेपाल (आईएनजी) ग्रुपका प्रमुख सुलभ बुढाथोकीले नेपालको आइटी क्षेत्रमा धेरै अवसर भएकाले दक्ष जनशक्ति निर्माणमा लगानी आवश्यक भएको बताए। आवश्यकताअनुसार जनशक्ति उत्पादन गर्न सकेमा वार्षिक १० खर्बभन्दा बढीको आईटी सेवा निर्यात गर्न सकिने उनको भनाइ थियो।
उनले भने, ‘अहिले हामीले दक्ष जनशक्ति निर्माणको लागि प्रयत्न गरिरहेका छौँ। हरेक आईटी कलेजहरुमा कोटा नछुट्याइ सहजै आईटी पढन सकिने व्यवस्था गर्नुपर्ने नीति अवलम्बन गर्नुपर्छ भनेर लविङ गरिरहेका छौँ।’
अहिले विश्वभर सबैभन्दा बढी आर्थिक उपार्जनको स्रोत बनेको पर्यटन क्षेत्रलाई पनि आईटीले उछिनिसकेको छ। कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका डिन प्रा.डा. महाननन्द चालिसेले अहिलेको समयमा प्राविधिक शिक्षासहितको व्यवसायिक ज्ञानमा राज्यले ध्यान दिनुपर्ने बताए।
उनले पढाइमा सरकारले प्राविधिक पक्षमा ध्यान दिनुपर्ने उल्लेख गरे। यसका लागि त्रिभुवन विश्वविद्यालयले निरन्तर आफ्नो तर्फबाट काम गरिरहेको पनि उनले जानकारी गराएका थिए। उनले थपे, ‘सरकारले नीति त ल्याउँछ तर प्राविधिक क्षेत्रमा विद्यार्थीलाई कसरी जोडने भन्ने विषय समेटिएको छैन। हरेक संकायमा प्राविधिक र व्यवसायिक सिप सिकाउने गरी पाठ्यक्रम निमार्ण गर्ने र त्यसलाई व्यवहारिक रुपमा लागु गर्न आवश्यक छ।’
सीनासका कार्यकारी निर्देशक मिर्गेन्द्र कार्कीले परिवर्तनशील समयअनुसार सपना देख्ने, लगानी गर्ने र प्रयोग गर्ने क्षेत्रलाई छुट्याएर त्यसको ब्रान्डिङसहितको प्रचार गर्न आवश्यक भएको बताए। उनले देशको भूगोलअनुसारको उत्पादित सामग्रीको राज्यले प्रवर्द्धन गर्न सकेको अवस्थामा समग्र आर्थिक रुपान्तरण गर्न सहज हुने उल्लेख गरे।
योङ इनोभेसनका संस्थापक विभूषण बिष्टले राज्यले आईटी क्षेत्रलाई समेट्ने गरी नीति ल्याएको अवस्थामा अहिलेको तुलानामा पाँच गुणा बढी जनशक्ति उत्पादन गर्न सकिने र त्यहीअनुसार सेवा निर्यात गर्न सकिने बताए।
त्यस्तै, खिम्भु टेकका सीईओ कार्भिका थापाले स्टार्टअप सुरु गर्दा आफ्नो रुचीको विषय छानेर काम गर्न सकेको अवस्थामा मात्रै सफलता हात पार्न सकिने बताए।
कांग्रेस केन्द्रीय कार्यालयमा बुधबारदेखि सुरु भएको सम्मेलनले भर्खरै व्यवसाय प्रारम्भ गर्ने उद्यमी, व्यवसायीलाई प्रोत्साहन गर्नुका साथै व्यवसायको प्रवर्द्धनसमेत हुने विभागका संयोजक उर्मिला थपलियाको विश्वास छ।