काठमाडौं। जापानिज अटोमोबाइल कम्पनी टोयोटा सन् २०२४ मा विश्वको सबैभन्दा धेरै गाडी बिक्री गर्ने कम्पनी बनेको छ। टोयोटा सन् २०२४ मा १ करोड ८ लाख सवारी साधन बिक्री गरी सबैभन्दा धेरै गाडी बिक्री गर्ने कम्पनी बनेको हो। टोयोटा मोटर्स लगातार पाँचौँ वर्ष विश्वको सबैभन्दा धेरै गाडी बिक्री गर्ने कम्पनी बनेको छ।
टोयोटा मोटर्स विश्वको सबैभन्दा बढी गाडी बिक्री गर्ने कम्पनी बने पनि यसको बिक्रीमा भने ३.७ प्रतिशतको गिरावट आएको छ। सन् २०२३ मा टोयोटाको बिक्री ७.२ प्रतिशतले बढेको थियो। तुलनात्मक रुपमा यस वर्ष यसको बिक्रीमा गिरावट आएको छ। यसमा टोयोटाको सहायक कम्पनीहरू डाइहात्सु र हिनो मोटर्सको बिक्री पनि समावेश रहेको कम्पनीले जनाएको छ।
टोयोटाले जापानको बजारमा ठूलो गिरावटको सामना गरेको छ। विशेष गरी डाइहात्सुमा प्रमाणीकरण परीक्षण प्रक्रियासँग सम्बन्धित प्रशासनिक समस्याका कारण बिक्रीमा असर परेको हो।
गिरावटको बावजुद टोयोटाले आफ्नो मुख्य प्रतिस्पर्धी जर्मनी ब्राण्ड फक्सवागनलाई भने उछिनेको छ। फक्सवागनको यस महिनाको सुरुमा बिक्रीमा २.३ प्रतिशत गिरावट आएको कम्पनीले जनाएको छ।
फक्सवागले सन् २०२४ मा ९० लाख गाडी बिक्री गरेको छ। कम्पनीले हाल आफ्नो घरेलु बजारमा लागत कटौती गर्ने प्रयास गरिरहेको छ। चीनमा सवारी साधनको मूल्य प्रतिस्पर्धाका कारण बिक्रीमा दबाब परेको छ।
टोयोटाको मुख्य कम्पनीअन्तर्गतका गाडी बिक्री १.४ प्रतिशत घटेर १ करोड २ लाख पुगेको छ। टोयोटाको जापानी बजारमा दोहोरो अंकको गिरावट देखिएको भए पनि अमेरिकी बजारमा हाइब्रिड गाडीहरूको उच्च मागका कारण कम्पनीले समग्र बिक्रीमा नयाँ कीर्तिमान राख्न सफल भएको हो। तर, चीनमा टोयोटाको ६.९ प्रतिशतको गिरावटको आएको छ।
टोयोटाले बिक्रीमा उच्च वृद्धि गर्न हाइब्रिड गाडीमा केन्द्रित भएको देखिन्छ। कम्पनीको कुल बिक्रीमध्ये ४०.८ प्रतिशत हिस्सा हाइब्रिड गाडी रहेको छ। जुन हालसम्मकै उच्च प्रतिशत हो। टोयोटाको इलेक्ट्रिक गाडीको हिस्सा भने १.४ प्रतिशतमा सीमित छ।
जापानले टोयोटाको सबैभन्दा ठूलो राजस्वको हिस्सा ओगटेको छ भने अन्य एसियाली देश राजस्वको हिसाबले अटोमेकरको तेस्रो ठूलो बजारको रूपमा उभिएका छन्।