काठमाडौं। पर्याप्त सर्भिस सेन्टर विद्युतीय गाडी (ईभी) को बलियो आधार हो। सर्भिस सेन्टरमा कति लगानी गरेको छ भन्ने आधारले विद्युतीय गाडीको भविष्य निर्धारण गर्छ। अहिले नेपालमा दर्जनौ ब्रान्ड भित्रिइरहेका छन्। जथाभावी ब्रान्ड भित्र्याउँदै गर्दा उनीहरूले बिक्रीको सेवालाई कति ध्यान दिएका छन् भन्ने मुख्य प्रश्न हो।
लामो समयदेखि विद्युतीय गाडी व्यापार गर्दै आएका व्यवसायीले बलियो जग बसाल्न लगानी गरे पनि धेरैले त्यतातिर ध्यान दिएको देखिँदैन। गाडी बिक्री गर्ने र बनाउने ठाउँको बन्दोबस्त नगर्ने धेरै ब्रान्ड छन्। यदि, व्यवसायीले यसैलाई व्यावसायिक रुपमा अघि बढाउने हो भने सर्भिस सेन्टरमा लगानी गर्न आवश्यक छ।
‘आजका दिनमा पेट्रोल/डिजेल गाडीको जग बलियो हुनुको प्रमुख कारण सर्भिस सेन्टर हो। आयातकर्ता आफैंले पनि यो क्षेत्रमा लगानी गरेका छन्, भने व्यक्तिगत रुपमा लगानी गरेर पनि सेवा दिइरहेका छन्। पेट्रोल, डिजेल गाडीका देखिने सामान्य समस्यादेखि गम्भीर समस्या पनि हल हुन्छन्। सोही कारण टिकेको हो,’ पारामाउन्ट मोटर्स सञ्चालक शिरिष मुरारका भन्छन्, ‘विद्युतीय गाडीको पनि त्यस्तै हुन जरुरी छ। बिक्रीपछिको सेवा सर्भिस सेन्टरबाट हुन्छ। सहज सामान उपलब्धता हुनु अर्को महत्त्वपूर्ण पाटो हो। उपभोक्ताले चाहेअनुसारका सामान सस्तो मूल्यमा सहजै पाउने वातावरण बनाउनुपर्छ। विस्तारै बन्दै गएको छ।’
एमजीले लगातार सर्भिस सेन्टरमा लगानी बढाइरहेको छ। चार्जिङ स्टेसन बनाइरहेको छ। सहज सामान उपलब्ध गराइरहेको छ। उनका अनुसार कम्पनीले अन्धाधुन्ध गाडी बेच्नेभन्दा पनि बिक्री भइसकेका गाडीको सेवालाई प्राथमिकतामा राखेर काम गरिरहेको छ। अहिले विस्तारै जग बलियो हुँदै गएकाले नयाँ मोडल ल्याउनेतर्फ लागेको छ।
आयातकर्ताले बलियो जग बसाल्न ध्यान नदिएका कारण नेपाली बजारमा विद्युतीय सवारीसाधन (ईभी)को उपस्थिति उल्लेख्य भइसके पनि यसप्रति अझै मानिस ढुक्क देखिँदैनन्। ईभी प्रयोग हुन थालेको धेरै वर्ष नभएकाले एक साइकल पनि पूरा भइसकेको छैन। त्यसैले ईभी सर्भिस सेन्ट, ब्याट्री व्यवस्थापन, मूल्य, सेकेन्ड ह्यान्ड बजार, गाडीका अन्य पार्टपुर्जा आदि के हुने भन्नेमा अनिश्चितजस्तै छ। ईभी सवारीसाधनको बलियो जग निर्माणका विषयमा अझै पनि धेरै मानिस विश्वस्त भइसकेका छैनन्।
इन्धन सवारीको बलियो जगको रुपमा सर्भिस सेन्टर, पार्टपुर्जा उपलब्धता, सन्तोषजनक सेकेन्ड ह्यान्ड बजार, तुलनात्मक रुपमा कम खर्चिला पार्टपुर्जा आदिलाई लिइन्छ। इन्धन गाडीको सर्भिस सेन्टर र पेट्रोलपम्पका विषयमा कुनै किसिमको चिन्ता लिनुपर्ने स्थिति छैन। कुनै सामग्री ड्यामेज भयो भने पनि नपाइएला वा एकदमै ठूलो खर्च लाग्ला भन्ने स्थिति देखिँदैन।
तर, कुनै ईभी दुर्घटनामा परे त्यसलाई बनाउन कति खर्च र कति समय लाग्ने? ब्याट्रीले कहिलेसम्म काम गर्छ र परिवर्तन गरे कति महँगो पर्छजस्ता धेरै विषय छन्। सर्भिस सेन्टर, चार्जिङ स्टेसन, पार्टपुर्जा उपलब्धता कति सहजपूर्ण छन् भन्ने विषय पनि सँगै जोडिन्छन्। यदि, यी सबै विषयसँग विश्वस्त भएमात्रै ईभी बजारले थप व्यापकता लिनेमा दुई मत छैन।
नेपाली बजारमा ईभीको बलियो र विश्वसनीय जग तथा आधार के हो भनेर प्रश्न गर्ने पनि धेरै छन्। तर, अटो व्यवसायी ईभीको बलियो जग बन्दै गएको र यसको विकल्प इन्धन सवारीसाधन नहुने बताउँदै आएका छन्। विद्युतीय गाडीको बलियो जगको रुपमा यसका सर्भिस सेन्टरलगायतका पूर्वाधार रहेको जीओ फोर्डको प्रबन्ध निर्देशक आकाश गोल्छा बताउँछन्।
नेपाली बजारमा ईभीको बलियो र विश्वसनीय जग तथा आधार के हो भनेर प्रश्न गर्ने पनि धेरै छन्। तर, अटो व्यवसायी ईभीको बलियो जग बन्दै गएको र यसको विकल्प इन्धन सवारीसाधन नहुने बताउँदै आएका छन्। विद्युतीय गाडीको बलियो जगको रुपमा यसका सर्भिस सेन्टरलगायतका पूर्वाधार अति आवश्यक छ।
‘इन्धन र विद्युतीय दुवै गाडीको बलियो जग भनेको यसको सर्भिस सेन्टर नै हो,’ प्रबन्ध निर्देशक गोल्छा भन्छन्, ‘इन्धन गाडी होस या ईभी सर्भिसको पार्ट राम्रो हुनु नै पर्छ।’ नेपालमा पहिलेदेखि नै उपलब्ध ब्रान्ड र पछिल्लो समय आएको केही ब्रान्डहरूको सर्भिस सेन्टर र चार्जिङ नेटवर्क एकदमै राम्रो छ। ईभीको बलियो खम्बाको रुपमा चार्जिङ स्टेसनलाई लिइन्छ। यसमा ईभीको र इन्धन भन्दा पनि दुवैको बलियो पार्ट भनेको सर्भिस र चार्जिङ नेटवर्क भएको गोल्छाको भनाइ छ।
पछिल्लो समय नेपालमा दुई दर्जन बढी ब्रान्डले विद्युतीय (ईभी) गाडी बिक्री गर्दै आएका छन्। नेपालमा उपलब्ध थोरै ब्रान्डले मात्र सर्भिस र चार्जिङ नेटवर्क विस्तारमा ध्यान दिएका छन्। विभिन्न कम्पनीहरूले आफ्नो ब्रान्डको लागि सर्भिस सेन्टर र चार्जिङ स्टेसन बढाउँदै लगेका छन्। कम्पनीहरूले सर्भिस सेन्टर र चार्जिङ नेटवर्क विस्तारमा लगानी बढाउँदै लगेपनि ईभी नयाँ प्रडक्ट भएकाले यसको बलियो आधार र टिकाउको जग खोज्नु स्वभाविक हो।
ईभीमा इन्धन गाडीजस्तो इन्जिन हुँदैन। यसमा मोबिल फेर्नुपर्ने र सर्भिसिङमा धेरै कुरा परिवर्तन गर्नुपर्ने जटिलता पनि हुँदैन। तुलनात्मक रुपमा इन्धन गाडी जति सर्भिसिङ गर्नुपर्छ, विद्युतीय गाडी सोही मात्रामा सर्भिसिङ गर्नुपर्दैन। यसर्थ, विद्युतीय सवारीको जगको रुपमा रहेका सर्भिस सेन्टर, चार्जिङ स्टेसनलगायत पूर्वाधार सहज बन्दै गएको एलआरआर ग्रुपका निर्देशक जीवनजंग शाही बताउँछन्।
‘ईभी गाडीमा इन्जिन र गियर बक्सको पार्ट नै हुँदैन। यसमा ब्याट्री र मोटरको कम्बिएसन मात्रै हो। त्यसकारण सर्भिसको त्यति ठुलो पार्ट हुँदैन,’ निर्देशक शाहीले भने,’ ‘इन्धन गाडी धेरै सर्भिस गर्नुपर्ने भएकाले पहिले उनीहरूको सर्भिस स्टेसन हुन्थे। त्यो ईभीमा खासै हुँदैन। ईभीमा सर्भिसको पार्ट भनेको दुर्घटनाको केसमा हो। दुर्घटनाको केसमा मात्र ठूलो टिम चाहिने हो। नभए नर्मल चेकअप हो।’
ईभीमा मोबिलको पार्ट नै नहुँदा सर्भिस धाइराख्ने भन्ने हुँदैन। चार्जिङ भनेको ईभी किन्ने मानिसको घर नै फ्युल स्टेसन हो। कुनै पनि गाडी राती आफ्नै घरमा चार्जिङमा राखे बिहान फुल हुन्छ। नर्मल गाडीको पनि माइलेज ३०० किलोमिटर हुने भएकाले उपत्यकाभित्र एक साता सजिलै चल्ने शाहीको भनाइ छ।
‘ईभीमा फास्ट चार्ज अत्यावश्यक भनेर धेरै नै सुनिन्छ। फास्ट चार्ज अत्यावश्यक भनेको लामो दूरीको यात्रा गर्ने र कमर्सियल भेहिकलका लाग हो। छोटो दूरी यात्रा गर्ने तथा घरदेखि कार्यालयसम्मका लागि प्रयोग गर्नेका लागि फास्ट चार्जिङ नै चाहिँदैन,’ शाही भन्छन्, ‘ छोटो दूरीको यात्रा गर्नेहरुले घरमै रातभर चार्ज गरे गाडी फुलचार्ज हुन्छ।’ ईभीको आधार बलियो भइसकेकाले यसमा धेरै चिन्ता लिनु नपर्ने उनको तर्क छ।