काठमाडौं। माउ पार्टी नेकपा माओवादी केन्द्रमा पुष्पकमल दाहाल निर्वाचनबिनै अध्यक्ष भइरहेका बेला भ्रातृ संगठन अखिल क्रान्तिकारीमा भने निर्वाचनमार्फत नयाँ नेतृत्व चुनिएको छ।
नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २३औं राष्ट्रिय सम्मेलन विजयप्रकाश सापकोटालाई अध्यक्षमा निर्वाचित गर्दै सम्पन्न भएको हो।
अखिल क्रान्तिकारीले अध्यक्षदेखि केन्द्रीय सदस्यसम्म निर्वाचनबाट चयन गरेको छ। मत गणनामा विवाद हुँदा पाँच दिन पछि नतिजा प्रकाशित गरिएको हो।
माउपार्टी मुख्यालय पेरिसडाँडामा बुधबार राती सम्पन्न मतगणनामा अध्यक्षमा सापकोटा निर्वाचित भए भने निकटतम प्रतिद्वन्द्वी हेमन्त राईलाई ७१ मतान्तरले पराजित गरे। सापकोटाले ६८६ मत ल्याएका छन्। उनका प्रतिद्वन्द्वी हेमन्त राईले ६१५ मत ल्याए।
त्यस्तै, अध्यक्षका अर्का प्रत्यासी उपदेश यादवले ३१० र सुदिन पौडेलले १९२ मत पाए। सापकोटा माओवादी उपमहासचिव शक्ति बस्नेत, राई जनार्दन शर्मा, पौडेल वर्षमान पुन, यादव वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ निकट मानिन्थे। उनीहरूले प्यानल नै बनाएर चुनाव लडेका थिए।
९ उपाध्यक्षमध्ये अटल आचार्य, मदन ढकाल, अभिमन्यू यादव, उमेश कँडेल, विराज थापा, दीपा जैशी, ममता अधिकारी, सन्दीप पुन, कृष्णबहादुर सुनार विजयी भए।
महासचिवमा रोशन थापामगर विजयी भएको अखिल क्रान्तिकारी निर्वाचन समितिले जनाएको छ।
९ उपमहासचिवमा रेशम अधिकारी, प्रकाश अधिकारी, रामचन्द्र भट्ट, निरोज श्रेष्ठ, विपिन पोखरेल, गजेन्द्र यादव, निर्मला गौतम, भगवान बास्तोला र जटिल कार्की निर्वाचित भए।
११ जना सचिवमा प्रेम जैशी, वीरेन्द्र जिसी, शिशिर बस्याल, सम्झना राई, तिर्सना आलेमगर, संकृति पुन, आर्टिस्ट मोक्तान, आशा उपरकोटी, अमर मण्डल, जितेन्द्र भण्डारी र युन्छो हाङ मावो निर्वाचित भए। कोषाध्यक्षमा फूलमाया रानामगर ’खुसी’ निर्वाचित भइन्।
क्रान्तिकारीमा ४८ सदस्यीय केन्द्रीय सचिवालय, तीन आयोगका अध्यक्ष, उपाध्यक्ष र सचिव, १६२ केन्द्रीय सचिव गरी ३१२ जनाको कमिटी रहेको छ।