काभ्रे। गत असो १०–१२ को वर्षापछि रोशी खोलामा आएको बाढीका कारण अदलबदल भएको काभे्रपलाञ्चोक र सिन्धुलीको सीमा छुट्याउन अध्ययन समिति गठन गरिएको छ। गत असोज दोस्रो साताको भीषण वर्षाका कारण रोशी खोलाको बाढीले जमिन कटान भई सीमा अदलबदल भएको थियो।
सोही समस्या समाधानका लागि दुवै जिल्लाबाट प्रतिनिधित्व हुने गरी समिति गठन गरिएको हो। समितिमा सिन्धुलीका तर्फबाट प्रतिनिधिसभा सदस्य राजन दाहाल तथा काभ्रेपलाञ्चोकका तर्फबाट जिल्ला समन्वय समिति प्रमुख दीपक गौतमले नेतृत्व गर्नेछन्।
समितिमा दुवै जिल्ला समन्वय समितिका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, नापी कार्यालय, दुई जिल्लामा तीन स्थानीय तहका र सम्बन्धित वडाका अध्यक्ष वा प्रतिनिधि रहनेछन्।
समितिले समस्या समाधानसहितको प्रतिवेदन तयार गर्ने र समितिको समयसीमा भने समिति आफैँले तोक्ने सांसद दाहालले बताए।
उनले असोज १०, ११ र १२ गते रोशी खोलामा आएको बाढीले काभ्रेपलाञ्चोक र सिन्धुलीका तीन स्थानीय तहको सिमाना अदलबदल भएको थियो।
काभ्रेपलाञ्चोकको तेमाल र रोशी गाउँपालिका तथा सिन्धुलीको सुनकोशी गाउँपालिकाबीच सिमानामा बाढीले समस्या भएको हो।दुई जिल्लाका तीन स्थानीय तहबीच विशेषगरी नेपालथोक क्षेत्रमा समस्या देखिएको जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख गौतमले जानकारी दिए। उनले समितिको प्रतिवेदनका आधारमा समाधानका उपाय खोजिने बताए।
यसैबीच गत असोज दोस्रो साताको भीषण बाढीपहिरोबाट प्रभावित काभ्रको पनौतीको खोला क्षेत्रको सीमाङ्कन कार्य सकिएको छ। करिब दुई हप्ताको अवधिमा जिल्लास्थित विभिन्न कार्यालयका प्राविधिकमार्फत नौ किलोमिटर खोलाको सीमाङ्कन सकिएको जनाइएको छ।
बाढीपहिरोले खोलाको सीमाङ्कनसँगै व्यक्तिको घर तथा जमिनमा क्षति पुगेपछि समस्या समाधानका लागि पनौती नगरपालिका तथा जिल्ला नापी कार्यालयले संयुक्त रूपमा उक्त कार्य गरेका हुन्।
नापी कार्यालयका प्रमुख नापी अधिकृत अशोककुमार भुसालले पनौती नगरको वडा नं १२ स्थित भूमेडाँडाबाट पनौतीको त्रिवेणीघाटसम्मको नौ किलोमिटर खोलाको सीमाङ्कन सकिएको जानकारी दिए। त्यस क्रममा व्यक्तिले भोगचलन गरिरहेका करिब ७० कित्ता जग्गाको पहिचान गरिएको उनले बताए।–रासस