काठमाडौं। काठमाडौं विश्वविद्यालय उपकुलपति सिफारिस समितिले गैरकानुनी ढंगमा डा. भोला थापालाई नै उपकुलपतिको कार्यभार सम्हाल्ने व्यवस्था गराउन भन्दै पत्र लेखेको पाइएको छ। डा. सुरेशराज आचार्य संयोजक रहेको सिफारिस समितिले प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपतिलाई पत्र लेख्दै थापालाई नै कार्यभार सम्हाल्ने व्यवस्था गर्न पत्र लेखेको पाइएको हो। जुन कानुनी व्यवस्था विपरीत देखिन्छ।
विश्वविद्यालय ऐनमा विश्वविद्यालय सभाले उपकुलपति सिफारिस समिति गठन गर्ने र सिफारिस गरेबमोजिम कुलपतिले ४ वर्षे कार्यकालका लागि उपकुलपति नियुक्त गर्ने व्यवस्था छ। तर, ऐनमा भएको यस व्यवस्थाविपरीत र कानुनी आधारबिना सिफारिस समितिले कार्यभार सम्हाल्ने व्यवस्था भोला थापालाई दिन भन्दै पत्र लेखेको देखिएको हो। सामान्य ढंगमा हेर्दा सिफारिस समितिले उपकुलपति नियुक्तिका लागि सिफारिस मात्रै गर्न सक्ने आधार हुन्छ।
सो समितिलाई कार्यभार यसलाई प्रदान गर्नु भन्दै आग्रह गर्ने वा पत्र लेख्ने कानुनी आधार हुँदैन। तर, माघ ४ गते शुक्रबार सिफारिस समितिले प्रधानमन्त्रीलाई लेखेको पत्रमा भनिएको छ, ‘वर्तमान उपकुलपति डा. भोला थापाको पदावधि २०८१ माघ ०७ गतेवाट समाप्त हुने भएको र सिफारिस समितिको काम नसकिएकाले अर्को व्यवस्था नभएसम्म काठमाडौं विश्वविद्यालयका वर्तमान उपकुलपति डा. भोला थापालाई नै उपकुलपतिको कार्यभार सम्हाल्ने व्यवस्था हुन सिफारिस गर्दछु।’
समितिले पत्र लेख्दै कार्यभार सम्हाल्ने जिम्मेवारी दिन आग्रह गरिएका भोला थापा स्वय्म उपकुलपति पदनमा नियुक्ति हुनका लागि दरखास्त दिएका व्यक्ति हुन्। समितिको यस्तो किसिमको गैरकानुनी कदमले आगामी दिनमा गर्ने सिफारिस नै स्वच्छ नहुने संकेत गरेको छ। यद्यपि, मंसिर ४ मा समितिले उपकुलपतिको कार्यभार सम्हाल्ने जिम्मा थापालाई दिन माग गरे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले भने त्यसलाई स्वीकार गरेनन्।
उक्त गैरकानुनी पत्रलाई अस्वीकार गर्दै ओलीले माघ ७ गते प्रा.डा. अच्युतप्रसाद वाग्ले काठमाडौं विश्वविद्यालयको कायममुकायम उपकुलपतिको जिम्मेवारी दिए। काठमाडौं विश्वविद्यालयका रजिष्ट्रार रहेका वाग्लेलाई ओलीले अर्को व्यवस्था नभएसम्मका लागि कायममुकायम उपकुलपतिको जिम्मेवारी प्रदान गरेका हुन्।
सुरुदेखि विभिन्न विवादमा पर्दै आएको उपकुलपति छनोट कार्यमा समितिले देखाएको गैरकानुनी कदमका कारण थप समस्या खडा हुने देखिएको छ। केयूका पूर्वउपकुलपति सुरेशराज शर्मा संयोजक रहेको समितिमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा.अर्जुन कार्की र पूर्वसचिव जर्नादन नेपाल सदस्य छन्।
काठमाडौं विश्वविद्यालयको उपकुलपतिका लागि १६ जनाको आवेदन स्वीकृत भएको थियो। आवेदन दिएकामध्ये १ जनाको अस्वीकृत भएको थियो। सिफारिस समितिले गत १८ पुसमा दरखास्त आह्वान गरेको थियो।